मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ५ सोमबार ०६:४६:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभासिल्ड र भारत बायोटेक खोप लगाउनेमा देखियो स्वास्थ्य समस्या

दिल्लीमा ५२ स्वास्थ्यकर्मीमा ‘साइड इफेक्ट’, एकजना गम्भीर बिरामी

Read Time : > 2 मिनेट
२०७७ माघ ५ सोमबार ०६:४६:००

भारतमा शनिबारदेखि कोरोनाभाइरसविरुद्ध ‘भ्याक्सिनेसन’ सुरु भएको छ । सेरम इन्स्टिच्युट एस्ट्राजेनेकाबाट निर्मित कोभासिल्ड र भारत बायोटेकले उत्पादन गरेको कोभाक्सिन खोप आपत्कालीन अवस्थामा प्रयोगमा ल्याएको छ । पहिलो चरणमा फ्रन्टलाइनरमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारीलाई कोभिडविरुद्धको खोप दिइनेछ । देशको कुल जनसंख्याको २० प्रतिशतलाई खोप दिने भारत सरकारको लक्ष्य छ । 

खोप लगाएका मानिसमा यसको ‘साइड इफेक्ट’ देखिन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लोपटक प्रकाशित एक रिपोर्टअनुसार, दिल्लीमा भ्याक्सिन प्रयोग गरेका स्वास्थ्यकर्मीमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । शनिबार राजधानी नयाँदिल्लीमा ८१ वटा स्थानमा भ्याक्सिनेसन सुरु गरिएको थियो ।

दिल्लीमा पहिलो दिन चार हजार ३१९ जनाले खोप लगाएका थिए । जसमध्ये सुरुकै दिन ५२ जनामा सामान्य साइड इफेक्ट र एकजना गम्भीर बिरामी परेको तथ्यांक बाहिरिएको छ । गम्भीर स्वास्थ्य समस्या देखिएका व्यक्तिको अहिले इन्डिया इन्स्टिच्युट अफ हेल्थमा उपचार भइरहेको छ ।

एनआईले आइतबार प्रकाशित गरेको रिपोर्टअनुसार खोप लगाइसकेपछि स्वास्थ्य समस्या देखिएका स्वास्थ्यकर्मीहरूले छाती कस्सिएको अनुभव गरेका थिए । ती स्वास्थ्यकर्मीलाई तत्काल उपचारका लागि लगिएको थियो । खोप लगाएलगत्तै समस्या देखिएका दुईजना स्वास्थ्यकर्मी दिल्लीको एमडिएमसी अस्पतालका पारामेडिक थिए । पहिलो दिन भारतमा करिब दुई लाखले खोप लिएका थिए । 

खोपको असरबारे कोभाक्सिनको टिप्पणी
भ्याक्सिन प्रयोगपछि असर देखिएको भन्दै रिपोर्ट बाहिर आउन थालेपछि भारत बायोटेकले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भारतमा ५५ लाख डोज प्रयोगका लागि अनुमति पाइसकेको बायोटेकले खोप प्रयोगपछि कुनै पनि साइड इफेक्ट देखिएमा कम्पनीले क्षतिपूर्ति तिर्ने बताएको छ ।

खोप लिइसकेकालाई भर्न लगाइएको फर्ममा कम्पनीले यदि खोप प्रयोगपछि कुनै पनि स्वास्थ्य समस्या देखिएमा सरकारी मान्यताप्राप्त वा आधिकारिक अस्पतालमा उपचार गराइने बताइएको छ । स्वास्थ्य समस्या खोपका कारणले भएको पुष्टि भएमा गम्भीर समस्या भएकालाई बिबिआइएलद्वारा भुक्तानी गरिनेछ । 

क्लिनिकल ट्रायल गर्दा भ्याक्सिनले पहिलो चरणमा भाइरसविरुद्ध र दोस्रो चरणमा क्लिनिकल ट्रायल गरेको भ्याक्सिनले भाइरसविरुद्ध शरीरमा एन्टिजेन उत्पादन गरेको देखाएको थियो । यद्यपि खोप आधिकारिक रूपमा प्रमाणित गरिएको छैन । पहिलो चरणमा जनसंख्याको २० प्रतिशतमा दिइन लागिएको खोप तेस्रो चरणको पनि प्रभावकारिता मापन नगरी प्रयोगमा ल्याइएको भनी विरोध भएको छ । तर, उत्पादक कम्पनीले भने भ्याक्सिनको ग्यारेन्टी भएको दाबी गरिरहेको छ । 

नेपालमा प्रयोगका लागि अनुमति
भारतमा उत्पादित कोभासिल्ड खोपलाई नेपालमा पनि आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले शुक्रबार अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाको सहकार्यमा भारतको सेरम इन्स्टिच्युटले निर्माण गरेको कोभासिल्ड खोपलाई नेपाल सरकारले प्रयोगका लागि अनुमति दिएको हो ।

नेपालले खरिद गर्दा मागेको मात्रामा खोप उत्पादन गराउन सक्ने, सुपथ मूल्यमा उपलब्ध हुने, २ देखि ८ डिग्री सेन्टिग्रेड तथा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रमको चिस्यानमा राख्न सकिने तथा उत्पादित देशमा प्रयोग गरिएको हुनुपर्ने जस्ता आधार तय गरिएको छ । एस्ट्राजेनेकाले निर्माण गरेको खोप २ देखि ८ डिग्री सेन्टिग्रेडमा राख्न सकिने भएकाले प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ । 

एस्ट्राजेनेका खोपको प्रभावकारिताबारे बेलायतले रिपोर्टहरू सार्वजनिक गरे पनि भारतमा निर्माण गरेको खोपबारे भने सेरम इन्स्टिच्युटले भने खोपको सुरक्षाबारे अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन । नेपालमा आपत्कालीन रूपमा प्रयोगका लागि अनुमति दिइएको खोपले साइड इफेक्ट देखिएको खबर आइरहेकाले भ्याक्सिनको प्रभावकारिताबारे शंका गर्ने ठाउँ रहेको विज्ञहरूले बताउँछन् ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘इमन्र्जेन्सी रूपमा प्रयोगमा ल्याइएका हरेक भ्याक्सिनका साइड इफेक्ट देखिएका छन् । एस्ट्राजेनेका खोप पनि भर्खरै प्रयोगमा आएकाले यसको प्रभावकारिताबारे अहिले नै केही भन्न सकिँदैन, तर प्रयोगमा ल्याउन लागेका खोपको प्रभावकारिताबारे यकिन तथ्यांक सार्वजनिक गर्दा आममानिसमा साइड इफेक्टप्रतिको डर हट्थ्यो ।’

नेपालमा कहिलेसम्म आइपुग्छ ? 
कोभासिल्ड खोप कोभिड–१९ विरुद्ध नेपालमा प्रयोग गरिन लागिएको पहिलो खोप हो । यसअघि विश्व स्वास्थ्य संगठन, सेपी र गाभीको संयुक्त प्रयासमा स्थापना गरिएको कोभ्याक्स सुविधाअन्तर्गत २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप ल्याउने अपेक्षा गरिए पनि नेपालसम्म आइपुग्ने समय भने यकिन गरिएको छैन । यद्यपि दुई वर्षभित्र ७२ प्रतिशत जनसंख्यामा निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएको सरकारले खोपका लागि ४५ देखि ४८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

गत मंगलबार कोभिडविरुद्धको खोप खरिदका लागि कोरोना कोषमा सहयोग गर्न नेपाल सरकारले दाताहरूसँग आह्वान गरेको थियो । तर, नेपालमा कहिलेदेखि प्रयोगमा ल्याइने भन्ने निश्चित छैन । पहिलो चरणमा ३० प्रतिशतलाई खोप दिने योजना बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।