मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ४ आइतबार २२:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइतबार दिनभरका मुख्य खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ४ आइतबार २२:००:००

बैंकिङ कसुर मुद्दामा दुई करोड जरिवाना भएका अधिकारी पक्राउ 

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका तीनजना पक्राउ परेका छन् । फरक–फरक मुद्दाका तीन फरार अपराधीलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये रामबहादुर अधिकारीलाई अदालतले दुई करोड ३२ लाख २४ हजार एक सय रुपैयाँ जरिवाना र ५५ दिन कैद सजाय सुनाएको थियो । चितवन घर भई सामाखुसीमा अटोमोबाइल चलाउने अधिकारीले घरजग्गा तथा गाडी खरिद–बिक्रीका क्रममा खातामा पैसा नहुँदा नहुँदै चेक दिएर ठगी गरेका थिए । उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थियो । 

चीनले हेबेई सहरमा पछिल्लो पाँच दिनमा पन्ध्र सय आइसोलेसन कोठा थप्यो 

चीनको उत्तरी सहर हेबेईको एक सहरमा पाँच दिनयता एक हजार पाँच सयवटा आइसोलेसन सेन्टरका कोठाहरू निर्माण भएका छन् । चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरू देखिन थालेपछि जोखिमयुक्त स्थानमा आइसोलेसन सेन्टर निर्माण गर्न थालिएको हो । हेबेई प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार यहाँ निर्माणाधीन कारखानाको जमिन प्रयोग गरेर आइसोलेसन सेन्टरहरू निर्माण गरिएकाे छ । चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीहरूले ६ हजार पाँच सयवटा कोठा बनाउने योजना रहेको बताएका छन् ।

अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या भएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्तिवार्ता भइरहे पनि व्यक्तिहत्याको क्रम भने रोकिएको छैन । पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्तिलक्षित आक्रमण भइरहेका छन् । यी हत्याहरूले राजधानी काबुलसहित देशका प्रमुख सहर बजारमा त्रास फैलाएको छ । 

युगान्डामा मुसेभेनी छैटौँपटक राष्ट्रपति निर्वाचित

युगान्डामा योवेरी मुसेभेनी छैटौँपटक राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई आइतबार त्यहाँको निर्वाचन आयोगले राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो । मुसेभेनीले ५९ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूमध्ये ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकाले उनलाई विजयी घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ । उनीसँगै युगान्डाको राष्ट्रपतिका लागि ११ जनाले प्रतिस्पर्धा गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी बोबी वाइनले ३५ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।

विदेशमा कोरोनाबाट हालसम्म तीन सय १९ जना नेपालीको निधन

कोभिड– १९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोनाबाट २० देशमा तीन सय १९ जनाको निधन भएको छ ।   संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा संक्रमण देखिएको छ । यसमध्ये ५२ हजार नौ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।  यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका केही नेपालीमा संक्रमण देखिएको छ ।   

बरघरले यसरी चलाउँछन् गाउँमा स्वशासन

माघे संक्रान्तिको भोलिपल्ट दाङको दंगीशरण गाउँपालिका–४, बैबाङका स्थानीयले बरघर चयन गरेका छन् । दुईवटा गल्लीमा विभाजित बैबाङ गाउँमा दुईजना बरघर चयन भएका हुन् । दुवै गल्लीको २ माघ (माघीदेवानी)मा भएको गाउँ भेलाले पुरानै बरघरलाई मान्यता दिएको स्थानीय राजेश चौधरीले बताए । ‘गाउँ भेलाले पश्चिम गल्लीका लागि कल्चु चौधरी र पूर्व गल्लीका होताराम चौधरीलाई बरघर चुनेको छ,’ राजेशले भने । बैबाङको पश्चिम गल्लीका बासिन्दाले गाउँमा पालिएका सुँगुर, बंगुरको मासुको मूल्य पनि निर्धारण गरेको छ । मासुको मूल्य प्रतिधार्नी ६ सय रुपैयाँ निर्धारण गरिएको बरघर कल्चु चौधरीले बताए । उनका अनुसार गाउँसभामा राखिएको प्रस्तावमाथि व्यापक छलफल भई मासुको मूल्य निर्धारण गरिएको हो । ‘कसैले धेरै र कसैले थोरै मूल्य राख्नुपर्ने विचार राखे, अल्पमतको कदर गरी बहुमतले गरेको निर्णय सदर गरियो,’ बरघर कल्चुले भने । 

प्रधानमन्त्री ओलीको दाबी– लोकतन्त्र, गणतन्त्र तथा सार्वभौमसत्ताको पक्षमा काम गरेको छु

प्रधानमन्त्री केपी ओलीले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफदेहिता लिन तयार रहेको बताएका छन् । अखिल नेपाल महिला संघको काठमाडौंमा आइतबार आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफ लिन तयार रहेको बताएका हुन् । आफूले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाइ छ । आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उनको दाबी छ । 

देशलाई निरंकुशताको ठाउँमा पुऱ्याउने डरलाग्दो षड्यन्त्रविरुद्ध आक्रामक आन्दोलन गर्नुपर्छ : प्रचण्ड 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुऱ्याउने डरलाग्दो षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–माधवपक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले डरलाग्दो षड्यन्त्र भएको दाबी गरेका हुन् । षड्यन्त्रको विरुद्ध आक्रामक आन्दोलन गर्नुपर्ने उनको भनाइ छ । सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफूहरूले आशंका नगरेको भए पनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए । कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्धमा उभिएको बताए । ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै खनालले सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागू गरी प्रतिक्रान्ति गरेको जिकिर गरे । 

प्रधानमन्त्री ओलीको सपना चकनाचुर पार्छौँ : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा अहंकार मात्र रहेको भन्दै उनको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । बर्दियाको गुलरियामा आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरू जिउँदै भएको हुनाले ओलीको सपनालाई पूरा हुन नदिने बताएका हुन् । उनले ओलीमा कम्युनिस्ट आन्दोलनसँग माया नभएको जिकिरसमेत गरे । उनले भने, ‘केपी ओलीलाई न आन्दोलनसँग माया छ, न गणतन्त्रसँग प्रेम छ न लोकतन्त्रप्रति माया छ, उनमा मात्र दम्भ सवार भएको छ ।’ 

बाइडेनको शपथग्रहण : अधिकांश कार्यक्रम भर्चुअल, १२ सयजना मात्रै उपस्थित हुने

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा ४६औँ राष्ट्रपतिका रूपमा शपथग्रहण गर्दै छन् । ह्वाइटहाउसले हालै मात्र उनको शपथग्रहण कार्यक्रम कस्तो हुने भन्नेबारे सूचना सार्वजनिक गरेको छ । सूचनाअनुसार यसअघिका राष्ट्रपतिहरूको जस्तो यसपटक शपथग्रहण भड्किलो तथा भव्य हुने छैन । कार्यक्रममा बढीमा १२ सयजना मात्रै उपस्थित रहने डेमोक्रेटिक पार्टीले जनाएको छ । 

७०–८० प्रतिशत कार्यक्रम भर्चुअलमा

ह्वाइटहाउस र डेमोक्रेटिक पार्टीको भनाइअनुसार बाइडेनको शपथग्रहण कार्यक्रम ७०–८० प्रतिशत भर्चुअल नै हुनेछ । यसको तयारी सुरु भइसकेको डेमोक्रेटिक पार्टीका सांसद जेम्स क्लिबर्गले बताएका छन् । ‘हामी यसपटक लगभग ८० प्रतिशत शपथग्रहणका कार्यक्रम भर्चुअल माध्यमबाटै गर्छौँ,’ जेम्सले भने । यसअघि बाइडेनले पनि शपथ कार्यक्रम भिन्न हुने बताएका थिए । प्रत्येक राज्यको राजधानीमा फरक–फरक सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रममा कोरोना भाइरस महामारीका वेला फ्रन्टलाइनमा रहेर काम गरेका र निधन भएका व्यक्तिहरूको स्मरण गरिनेछ ।