इन्डोनेसियामा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ ।
इन्डोनेसियाको सुलाबेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी सुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो ।
भूकम्पमा परी मामुजु सहरका आठ सय २६ व्यक्ति घाइते भएका छन् भने तीमध्ये एक सय ८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिस विस्थापित भएको अधिकारीहरूले शनिबार जानकारी दिएका थिए । भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनामा क्षति पुगेको अधिकारीहरूले जनाएका छन ।
भूकम्पले सबैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला प्रभावित भएको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता जाटीले बताएका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलाबेसी र पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी चार हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।