मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ ४ आइतबार १०:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्थानीयलाई सिंगटी खोलाको आइपिओ आइतबारदेखि खुला

Read Time : < 1 मिनेट
२०७७ माघ ४ आइतबार १०:००:००

दोलखाको सिंगटी खोलामा निर्माण भएको २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनाले प्रभावित स्थानीयहरूका लागि साधारण सेयर खुला गरेको छ । निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आयोजना प्रभावित र सर्वसाधारणलाई ४३ लाख ५० हजार कित्ता साधारण सेयर खुला गर्ने तयारी गरेको हो । 

पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयहरूलाई १४ लाख ५० हजार कित्ता साधारण सेयर ४ माघदेखि खुला गरिएको कम्पनी सचिव रमेश अधिकारीले बताए । प्रभावितहरूले आइतबारदेखि १९ माघसम्म सेयर भर्न सक्नेछन् । सेयर संकलन गर्न नेपाल बैंक लिमिटेड, सेन्चुरी कमर्सिएल बैंक, सिंगटीस्थित आयोजनाको कार्यालय र कालिञ्चोक गाउँपालिका–२, बाबरेमा संकलन केन्द्र राखिएको छ । 

प्रभावित क्षेत्रका लागि आह्वान गर्न लागिएको साधारण सेयर दोलखाको कालिञ्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूले मात्र आवेदन गर्न पाउनेछन् । कम्पनी सचिव  अधिकारीका अनुसार सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् २९ लाख कित्ता सेयर पहिलो चरणमा बाँडफाँड गरेपछि खुला गरिनेछ । 

आयोजना निर्माणको काम पूरा, प्रसारण लाइन नहुँदा उत्पादनमा ढिलाइ 
सिंगटी खोला जलविद्युत्को काम शतप्रतिशत पूरा भएको कम्पनीले जनाएको छ । तर, विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिंगटी लामोसाँघु प्रसारण लाइनको काम पूरा नभएकाले विद्युत् उत्पादन मिति धकेल्नुपरेको कम्पनीले जनाएको छ । 

अबको डेढ महिनामा प्रसारण लाइनको कुनै एक सर्किट पूरा हुने र त्यसलगत्तै विद्युत् उत्पादन गर्ने आयोजनाको तयारी छ । आयोजना निर्माणको काम पूरा हुँदासम्म प्रतिमेगावाट २२ करोडका दरले ५ अर्ब ५० करोड खर्च हुने आयोजनाले जनाएको छ ।