मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ माघ ३ शनिबार १०:१४:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

सीपमूलक तालिम दिने भन्दै सर्वसाधारण ठग्ने पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ माघ ३ शनिबार १०:१४:००

सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका– ८ का ४७ वर्षीय रामबलीकुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि सुनसरी इनरुवा नगरपालिका– १ मा शाखा खोलेर ३७ जना कर्मचारी नियुक्त गरी एक हजार एक सय ९७ जनालाई ठगी गरेको सुनसरी प्रहरीको आरोप छ । आफूले पिएचडी गरेको बताउने दनुवारले प्रहरीको अनुसन्धानअनुसार १० कक्षासम्म मात्र पढेका छन् । प्रहरीका अनुसार दनुवारले आफूलाई डा. बताउँदै क्यानडाको तिलिजा रोबर्ट नामको संस्थासँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको दाबी गर्ने गरेका थिए ।

यस्तै, प्रदेश १, २ तथा लुम्बिनी प्रदेशका जिल्लामा समेत उनले शाखा खोलेर सर्वसाधारणलाई सदस्य बनाई ठगी गर्ने गरेका थिए । उनले संस्थाको सदस्य बनेबापत सयदेखि हजार रुपैयाँसम्म शुल्क लिने गरेको प्रहरीले जनाएको छ ।

तालिमका नाममा अवैध असुली
उनले विभिन्न जिल्लामा सिलाइ प्रशिक्षण केन्द्र रहेको, सप्तरीको माहुली र सुनसरीको इनरुवामा शाखा खोलेर प्रशिक्षण दिलाउन लागेको भन्दै सर्वसाधारणबाट भर्नाबापत जनही एक हजार शुल्क उठाएका थिए । उनले रुपन्देहीको भैरहवामा तालिम केन्द्रको प्रधान कार्यालय रहेको, महोत्तरीको गौशाला, सिराहा र धनुषामा पनि शाखा रहेको भन्दै सिलाइ–बुनाइ, साबुन, मैनबत्ती बनाउने तालिम दिने गरेको बताएका थिए ।

यस्तै, विदेशबाट सहायतामा आएको रकम वितरण गर्ने भन्दै सदस्य बनाउने गरेका थिए । उनले आफूलाई तालिम केन्द्रको महानिर्देशक बताउँदै केन्द्रमा कर्मचारी, स्वास्थ्य निरीक्षक, उपमहानिर्देशक, कार्यालय प्रमुख, सहकार्यालय प्रमुख, लेखापाल, स्वकीय सचिव, निरीक्षक, कार्यालय सहयोगी र सुरक्षा गार्डजस्ता पद सिर्जना गरेर कर्मचारी भर्ना गरेका थिए । दर्जाअनुसार ११ हजारदेखि ५४ हजार रुपैयाँसम्म पारिश्रमिक तोकेर ३७ जना कर्मचारी नियुक्त गरेका थिए । तर, पारिश्रमिक भने कसैलाई दिएका थिएनन् ।