१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ ३ शनिबार ०८:४७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घरेलु खेलकुदले गति लिँदै 

Read Time : > 2 मिनेट
२०७७ माघ ३ शनिबार ०८:४७:००

विश्वमा कोरोना भाइरसको तेस्रो तथा नयाँ भाइरसको लहर चलिरहेको छ । कोभिड–१९ को माहामारीबाट बाहिर निस्कन नपाएको विश्वले पुनः एकपटक नयाँ भाइरसविरुद्ध लडाइँ लडिरहेको छ । यसले विभिन्न क्षेत्रमा प्रभाव पार्ने सम्भावना छ । भाइरसको आक्रान्तबीच पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित रूपमै सञ्चालित भइरहेका छन् । अन्तर्राष्ट्रिय खेलकुद मैदानमा थोरै दर्शकबीच खेल भइरहँदा नेपालको घरेलु खेलकुदले गति लिन थालेको छ ।

पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा स्थानीयस्तरका खेलकुद प्रतियोगिता सञ्चालित हुँदा त्यहाँका खेलाडीले आफ्नो प्रतिभा देखाउन अवसर पाएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका संघमध्ये ठूलो बजेटको अखिल नेपाल फुटबल संघ (एन्फा) पनि आसन्न विश्वकप फुटबल छनोट, पुरुष तथा महिला लिग खाका तयार पारेको छ । एन्फाले विश्वकप छनोट निमित्त प्रारम्भिक खेलाडी छनोट गरेको छ । अहिले एन्फाले आफ्नो वार्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रयासमा छ । दुई साताअघि एन्फाले रोकिएको बी डिभिजन तथा महिला राष्ट्रिय लिग फुटबलको घोषणा गर्‍यो । 

लगभग एक वर्षपछि नै महिला फुटबल खेलाडीले मैदानमा पसिना बगाउन मौका पाउनेछन् । २०२२ को विश्वकप तथा २०२३ को एसिया कप छनोटमा उत्कृष्ट नतिजा निकाल्न एन्फाले दोस्रो चरणका लागि ४४ खेलाडी छनोट गरेको छ । नेपालले सन् २०२१ को मार्चदेखि घरेलु मैदानमा ३ खेल खेल्नेछ । घरेलु मैदानमा नेपालले चाइनिज ताइपेई र अस्ट्रेलियासँग मार्चमा खेल्नेछ भने जोर्डनसँग जुनमा खेल्नेछ ।

क्रिकेटको घरेलु प्रतियोगिता कोरोनाका कारण २०२१ मा सबै स्थगित नै भए । एक महिनादेखि क्रिकेटका गतिविधि पनि बिस्तारै सुरु भएको छ । गत मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)ले रोकिएका सबैजसो प्रतियोगिता सुचारु गर्ने घोषणा गरेको थियो । यसैको उदाहरणा रूपमा प्रधानमन्त्री कप राष्ट्रिय महिला र पुरुष क्रिकेट प्रतियोगितालाई लिन सकिन्छ । क्यानले महिलापछि पुरुषतर्फको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने घोषणा गत साता मात्रै गर्‍यो । 

पछिल्लो एक महिनायता राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध संघ तथा संस्थाले खेलाडीलाई सक्रिय बनाउन विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिरहेका छन्, क्रिकेटदेखि फुटबल संघले आफ्नो वार्षिक कार्यक्रमलाई निरन्तरता दिँदै

कोलहपुरमा कोहलपुर ओपन क्रिकेट प्रतियोगिता सम्पन्न भयो । यसैगरी चितवनमा प्रधामन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको बागमती छनोट भयो । क्यानले सरकारको अनुमति पाएपछि राष्ट्रिय टोलीका पुरुष खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ । यसै पुसमै क्लोज क्याम्पमा रहेका खेलाडीले चितवनमा गौतम बुद्ध कप टी–२० क्रिकेट प्रतियोगितामा खेल्न अवसर पाए । 

यही प्रतियोगिताबाट घरेलु क्रिकेटको पुनरागमन भयो । राष्ट्रिय पुरुष टोलीका क्रिकेटर आइसिसी एकदिवसीय विश्वकप डिभिजन २ को तयारीमा व्यस्त छन् । राष्ट्रियस्तरको कुनै भलिबल प्रतियोगिता नभए पनि स्थानीयस्तरको खेल भइरहेको छ । काठमाडौंको चन्द्रागिरिमा पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल प्रतियोगिता पनि सुरु भएको छ । काठमाडौंमा भन्दा मोफसलमा खेलकुद गतिविधि सक्रिय रहेको भन्दा फरक नपर्ला । काठमाडौंमा राष्ट्रिय टोलीका खेलाडीको प्रशिक्षण चलिरहँदा झापाको मेचीनगरमा दोस्रो संस्करणको प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिताले गति लिएको छ । 

बक्सिङका खेलाडीले पनि प्रशिक्षण अवसर पाएका छन् । नेपाल बक्सिङ संघले गत महिनादेखि खेलाडीलाई प्रशिक्षणमा राखेको हो । नेपालगन्जमा स्वास्थ्य मापदण्ड पालनासहित नेपालगन्ज म्याराथन दौड भयो । म्याराथनमा १३औँ सागका स्वर्णपदक विजेता गोपीचन्द्र पार्की पहिलो हुँदै टोकियो ओलम्पिकको स्थान पक्का गरे । महिलातर्फ एपिएफकै पुष्पा भण्डारीले हाफ म्याराथन जितिन् । पोखरामा खेलकुद सक्रिय हुने क्रममा भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १ फागुनमा १५औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड हुने भएको छ । 

नेपाल टेबलटेनिस संघले वार्षिक कार्यक्रमअनुसारै चैत महिनादेखि घरेलु प्रतियोगिता सुचारु गर्ने भएको छ । संघका अध्यक्ष चतुरानन्द राजवैद्यका अनुसार २ देखि ७ चैतसम्म राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुनेछ । यसैगरी ट्रायथलनका खेलाडी शनिबार प्रतिस्पर्धामा उत्रने भएका छन् । नेपाल ट्रायथलन संघको आयोजनामा टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । 

संघले कोभिड–१९ बाट आक्रान्त रहेको अवस्थामा स्थानीय व्यक्तिलाई क्रियाशील गर्दै खेलबाट रोगसँग लड्ने क्षमता बढाउन प्रतियोगिता आयोजना गरेको जनाएको छ । पर्वतीय खेलकुद महोत्सव फागुनमा हुने भएको छ । आठौँ पर्वतीय खेलकुद महोत्सवको आयोजना गण्डकी प्रदेशले गर्नेछ ।