मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ माघ ३ शनिबार ०७:२५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रतिलिटर ५० पैसा बढी लिएर  पेट्रोल, डिजेल बिक्री गर्ने व्यवसायीको निर्णय फिर्ता

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ माघ ३ शनिबार ०७:२५:००

कमिसन बढाउन दबाब दिने उद्देश्यले १ माघबाट डिजेल, पेट्रोलमा प्रतिलिटर ५० पैसा बढी लिने निर्णयबाट पेट्रोलपम्प व्यवसायी पछि हटेका छन् । बढी मूल्य लिएर इन्धन बिक्री गर्दा निगमले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, ०७५ र अन्य सरकारी नियमनकारी निकायले उपभोक्ता संरक्षण ऐन, ०७५ लगायतका कानुनअनुसार कारबाही गर्ने तयारी गरेको थाहा पाएपछि व्यवसायीहरू पछाडि हटेका हुन् ।

पेट्रोलियम व्यवसायीको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि देशभरका पम्प व्यवसायीलाई पत्राचार गर्दै १ माघबाट प्रतिलिटर ५० पैसा बढी लिएर पेट्रोल, डिजेल बिक्री गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

एसोसिएसनले पठाएको पत्रमा भनिएको छ, ‘कमिसन वृद्धि तथा आन्दोलनका कार्यक्रमका सम्बन्धमा छलफल गर्न ७ माघमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिसकेको हुँदा बैठकको निर्णयपश्चात् थप जानकारी गराइने भएकाले अर्को सूचना नभएसम्म साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ५० पैसा थप गरेर बिक्री गर्ने निर्णय स्थगन गरिएको जानकारी गराइन्छ ।’

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले ७ माघमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय लिनुअघि कुनै कदम नचाल्नु नै उपयुक्त हुने देखिएको बताए । कमिसन वृद्धिका लागि गृहकार्य गरिरहेको भनेर आयल निगमले भने सामान्य जवाफ दिएर आश्वासन मात्रै दिइरहेको प्रधानले बताए ।

व्यवसायीको माग के हो ?
पेट्रोलियम व्यवसायीले अहिले पेट्रोलमा ३.१२ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँदै आएका छन् । पछिल्लो ६ वर्षयता कमिसनको दर नबढेको, तर यसबीचमा खर्चका धेरै शीर्षक बढेकाले यसपटक कमिसन वृद्धि हुनुपर्ने माग राखेका छन् ।

निगमले तोकेको मूल्यमा पेट्रोल, डिजेल बिक्री गर्दै आएका व्यवसायीको खर्च र कमिसनसमेत निगमले नै निर्धारण गर्दै आएको छ । त्यसैले उनीहरूले आयल निगमसमक्ष पेट्रोल, डिजेल बिक्रीमा ५ प्रतिशत कमिसन दर निर्धारण हुनुपर्ने माग राखेका छन् । देशभरका करिब १५ सय पेट्रोलपम्पले दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल बिक्री गर्दै आएका छन् ।

व्यवसायीले छिमेकी मुलुकको कमिसन दरलाई उदाहरण दिँदै आफूहरूले मागेको नाफा खासै ठूलो नभएको बताएका छन् । एसोसिएसनका अध्यक्ष प्रधान भन्छन्, ‘भारतमा पेट्रोलमा ४.१ प्रतिशत र डिजेलमा ३.१३ देखि ३.४ प्रतिशतसम्म पम्प सञ्चालकलाई कमिसन दिइने गरेको छ ।

त्यस्तै, पाकिस्तान र चीनमा ४–४ प्रतिशत तथा श्रीलंका र अमेरिकामा ५–५ प्रतिशत कमिसनमा पम्प सञ्चालन भइरहेका छन् । हामीले ठूलो रकम माग गरेका छैनौँ । आयल निगमले वार्षिक ५–६ प्रतिशत नाफा राख्ने गरेको छ । सोही दरमा हामीलाई पनि कमिसन दिइयोस्, त्यतिले पुर्‍याउँछौँ भन्न खोजेका हौँ ।’