१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ २ शुक्रबार ०३:०४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महामारीबीच मर्कामा गर्भवती : निजीमा बेवास्ता, प्रसूतिगृहमा उपचार

निजी अस्पतालमा नियमित जाँच गराइरहेका गर्भवती रुघाखोकी लागेपछि उपेक्षित

Read Time : > 2 मिनेट
२०७७ माघ २ शुक्रबार ०३:०४:००

काठमाडौंकै मूलपानीकी २४ वर्षीया अञ्जना न्यौपाने नियमित गर्भ जाँचका लागि वैशाखमा जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुगिन् । चिकित्सकले ४ मंसिरको डेलिभरी समय दिएका थिए । नियमित जाँचका लागि बोलाउने तथा विभिन्न परीक्षण गराउँदै आएको भए पनि चिकित्सकले उनलाई सिभिल सर्भिस अस्पताल पठाए । त्यहाँ पनि पहिलोपटक स्वास्थ्य जाँच गरेका चिकित्सकले त्यसपछि उनलाई भेटसमेत दिएनन् । 

बरु अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले नियमित जाँच भए पनि डेलिभरीको समयमा सेवा अवरुद्ध हुन सक्ने भन्दै सकेसम्म अन्यत्र जान भने । त्यसपछि भने उनी परोपकार अस्पताल पुगिन् । जहाँ २ मंसिरमा उनको ‘नर्मल डेलिभरी’ भयो । 

त्यस्तै, राति १२ बजे सुत्केरी बेथा लागेपछि काठमाडौंको हात्तीगौँडाकी ३४ वर्षीया दिलु घिमिरेलाई २२ असोजमा राति नै परिवारजनले थापाथलीस्थित नर्भिक अस्पताल पु¥याए । ३४ साता (आठ महिना)की गर्भवती दिलुलाई बेथा लागेपछि केही जटिलता देखियो कि भनेर आफन्तले आत्तिँदै नर्भिक पुर्याए, तर त्यहाँ चिकित्सकले हेरेनन् । 

यसअघि नर्भिक नै जाने गरेकी उनलाई त्यहाँ कार्यरत डा. नूतन शर्माले नियमित हेर्दै आएकी थिइन् । तर, बेथा लागेको दिन भने राति आठ घन्टा कुर्दा पनि कुनै चिकित्सक नआएको उनकी बहिनी तुलसाले बताउँछिन् । दिलुलाई नियमित हेर्दै आएकी डा. शर्माले फोनमा भनेकी थिइन्, ‘तुरुन्तै अस्पताल ल्याएर भर्ना गर्नू, म अस्पतालमा भनेर व्यवस्थापन गर्छु र भोलि अप्रेसन गर्छु ।’ त्यसबीचमा नर्भिकले निकै महँगा परीक्षण गराइसकेको थियो । तर, डाक्टर भने कोही पनि आएनन् । 

दिलुलाई समस्या बढ्दै जाँदा पनि चिकित्सक नआएपछि परिवारजनले नजिकै रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लग्ने निर्णय गरे, तर नर्भिकले डिस्चार्ज दिन मानेन । ‘अस्पतालमा खटिएका सुरक्षागार्डले हामीलाई घेरा हाले,’ तुलसा भन्छिन्, ‘स्वास्थ्य मन्त्रालयमा फोन गर्छु भनेपछि मात्रै डिस्चार्ज दिए ।’ परोपकारमा पु¥याउनेबित्तिकै वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले शल्याक्रिया गरेर डेलिभरी गराए । 

दिलु र अञ्जनाजस्तै अहिले सबैभन्दा धेरै समस्यामा छन् गर्भवती तथा सुत्केरी । त्यसअघि नियमित सेवा दिँदै आएका निजी तथा गैरसरकारी अस्पतालले थुप्रै गर्भवतीलाई अत्यावश्यक सेवा नदिएर बिचल्ली बनाए । सामन्य रुघाखोकी लागेका गर्भवतीलाई पनि निजी अस्पतालले बेवास्ता गर्दै आएका छन् । महामारीका समयमा काठमाडौंका निजी अस्पतालले बिचल्ली बनाएकामध्ये ९८ जना गर्भवतीलाई परोपकार अस्पतालले सेवा दिएको छ । 

कोरोना संक्रमणको बहानामा अन्तिम समयमा उपचार सम्भव नहुने भन्दै अन्यन्त्र जान बाध्य बनाएका गर्भवतीलाई सेवा दिएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कोभिड संयोजक डा. कीर्तिपाल सुवेदी बताउँछन् । डा. सुवेदीका अनुसार प्रसूतिगृह आउनेमध्ये ७० प्रतिशत गर्भवती निजी अस्पतालले बेवास्ता गरेपछि यो अस्पताल आएका हुन् । ‘कोभिड संक्रमित नहुँदासम्म सेवा दिएका छन्, संक्रमित भएको वा हुन सक्ने आशंका भएपछि हेर्न नसक्ने भन्दै पठाएको देखिन्छ,’ उनी भन्छन् । 

यो अवधिमा परोपकार अस्पतालले कोभिड संक्रमित गर्भवतीलाई पनि सेवा दिएको छ । अस्पतालको तथ्यांकअनुसार अस्पतालले ९८ जना कोभिड संक्रमित महिलालाई सुत्केरी सेवा दिएको छ । उनीहरूमध्ये ५४ जनाको शल्यक्रिया गरिएको छ भने ३९ जनाको सामान्य डेलिभरी भएको अस्पतालकी निर्देशक डा. संगीता मिश्रले बताइन् । त्यस्तै, ४८ जना कोरोना संक्रमित गर्भवतीले अन्य सेवा लिएका छन् । 

अहिले परोपकार अस्पतालमा दैनिक सयको हाराहारीमा महिला सुत्केरी भइरहेका छन् । विगतमा दैनिक सरदर ६० जना डेलिभरी हुँदै आएको अस्पतालका चिकित्सक श्रीप्रसाद अधिकारी बताउँछन् । ‘निजी अस्पतालहरूले सेवा नदिएर परोपकार अस्पतालमा रिफर गरे । यदि उनीहरूले जस्तो परोपकार अस्पतालले पनि कोभिडको बहानामा गर्भवती नहेरेको भए कैयौँ आमाको ज्यान जाने थियो,’ अधिकारी भन्छन् । 

परोपकार अस्पतालले यस्तो समस्या आउन सक्ने आकलन गरेरै दुई सय बेडको आइसोलेसन वार्ड तयार पारेको थियो । निर्देशक डा. मिश्रका अनुसार कोभिडका लागि एउटा शल्यक्रिया कक्ष छुट्याइएको छ । त्यस्तै, ५० बेडको हाई डिपेन्डेन्सी सेवा सुरु गर्ने तयारी थालेको छ । 

परोपकारमा अहिले चार सय ८९ बेड छन् । ६० जना चिकित्सक र एक सय ७९ जना नर्सले सेवा दिइरहेका छन् । कोभिड व्यवस्थापन सिनियर चिकित्सकले सम्हालिरहेका छन् । अस्पतालले ०७७÷७८ को चार महिनामा ४० हजार तीन सय ५४ जनालाई सेवा दिएको छ । अघिल्लो वर्षको यही अवधिमा ५५ हजार एक सय नौजनाले सेवा लिएका थिए ।