मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भोजराज भण्डारी
२०७७ माघ १ बिहीबार १४:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लेउले भरियो रानीपोखरी (तस्बिरसहित)

Read Time : > 1 मिनेट
भोजराज भण्डारी
२०७७ माघ १ बिहीबार १४:३०:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई कुनै वेला एउटा चुनौती थियो रानीपोखरी पुनर्निर्माण कसरी गर्ने र पहिलाकै अवस्थामा कसरी फर्काउने भन्ने ?

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले  भनेका थिए, ‘रानीपोखरी हरेक व्यक्तिको आस्था  र इतिहास बोकेको ठाउँमा हामीले  हात हालेका छौँ, त्यसलाई पहिलाकै अवस्थामा फर्काउनु छ, यो पुनर्निर्माणमध्येकै सबैभन्दा बढी चुनौती बोकेको  ठाउँ हो ।’ 

फलस्वरूप प्राधिकरणत्यस चुनौतीलाई चिर्दै कोरोना कहर नभनी काम गर्न सफल पनि भयो । 

दुई महिनाअघि मात्र निर्माणकार्य सकेर उद्घाटन गरेको रानीपोखरी यतिवेला भने लेउ नै लेउले भरिएको छ । 

केही महिनाअघि मात्र रत्नपार्कस्थित रानीपोखरी र छेउकै  नयाँ स्वरूपले निर्माण भएको दरबार हाइस्कुलको सौन्दर्यले त्यस क्षेत्रको वातावरणलाई मनमोहक बनाउँथ्यो । 

रानीपोखरीको उद्घाटनपछि भने जमलको आकासेपुलबाट रानीपोखरीको दृश्य कैद गरेर सेल्फी खिच्नेको ताँती नै लाग्ने गर्थ्याे ।

वर्षौँसम्म खहरे बगरजस्तो देखिएको रानीपोखरीले विभिन्न आरोहअवरोह पार गर्दै पुनर्जीवन पाएको पोखरी देख्दा  आम काठमाडौंवासीका लागि खुसी छाएको थियो । 

तर, धेरै खुसी हुन नपाउँदै आममानिसमा रानीपोखरीको बेवास्ता देख्दा  निराशा छाउन थालेको छ ।

यतिवेला रानीपोखरी पानीको सतहभन्दा पनि लेउको सतहले ढाकेको छ । यसप्रति सरकारले कुनै चासो नदेखाएको सर्वसाधारणले गुनासो गरेका छन् । 

यतिवेला  प्राधिकरणको ध्यान नै धरहरा पुनर्निर्माणमा केन्द्रित  हुन  थालेको  छ  । 

संसद्  विघटनपछि केपी  ओलीको सरकार धराशायी बनेको कारण धरहरा प्रधानमन्त्री ओली आफैँले उद्घाटन गर्नुपर्ने मनशायमा छन्  । त्यसकारण  यतिवेला रानीपोखरीको भन्दा पनि धरहरा निर्माणमा  प्राधिकरण लागेको  प्राधिकरणका  एक अधिकारीले  बताए ।  

‘अहिलेको ध्यान भनेको धरहरा जतिसक्दो चाँडाे निर्माण सक्न सरकारबाटै निर्देशन आएको छ, त्यसकारण प्रधानमन्त्री ओली धरहरा आफ्नै सरकारले निर्माण  गरेर आफैँले उद्घाटन गर्न चाहेका छन् । त्यसैले अहिलेको ध्यान रानीपोखरी होइन, धरहरामा केन्द्रित छ,’ ती अधिकारीले भने ।

पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवाली भने रानीपोखरीलाई लेउमुक्त बनाउनका लागि काम भइरहेको  बताउँछन् । 

तल कालोमाटो हालेको र मलिलो भएपछि केही समय लेउ लाग्ने माटोले केही समय सोसेपछि एकैपटक हटाउने गरी तयारी भइरहेको ज्ञवालीले बताए । 

‘अझै केही समय लेउ लाग्नेछ, पछि एकैपटक हटाउँछौँ, अब एकपटक हटाएपछि स्वतः लेउ कम भएर जानेछ,’ ज्ञवालीले भने ।

रानीपोखरीको उत्तरपट्टि रहेको शान्तिवाटिका बगैँचालाई पनि पहिलाकै अवस्थामा फर्काउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार त्यस सानो बगैँचालाई पनि मल्लकालीन अवस्थामा फर्काएर रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको छ ।