मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १ बिहीबार ०८:१५:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बालबालिकालाई कोरोना भाइरस चिनाउने कथा पुस्तक प्रकाशित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १ बिहीबार ०८:१५:००

बालबालिकालाई भाइरस चिनाउने ‘जासुस अभिषको भाइरससँगको जित’ कथा प्रकाशित भएको छ । पुस्तक कथालयले प्रकाशित गरेको हो । कथाको मुख्य पात्र अभिष हो । ऊ खेलमा व्यस्त रहेका वेला उनको बुबालाई साइरन भएको गाडीमा लगिन्छ । त्यसपछि अचानक बाटाहरू सुनसान हुन्छन्, विद्यालय बन्द हुन्छन्, खेल्न र कसैलाई भेट्नसमेत रोक लगाइन्छ । 

अभिषले पहिला कहिल्यै नभोगेका यी कुरा आजकाल किन भइरहेका छन् भनेर उनी सुरुमा बुझ्न सक्दैनन् । खोज्दै जाँदा उनी भाइरसका कारण त्यो सबै भइरहेको थाहा पाउँछन् । त्यसपछि उनले भाइरसबारे सोधखोज गरी धेरै कुरा थाहा पाउँदै जान्छन् । कथाको अन्त्यसम्म आइपुग्दा अभिषले धेरै मानिसलाई भाइरसबारे जानकारी दिन सफल हुन्छन् । कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको यो समयमा ‘जासुस अभिषको भाइरससँगको जित’ कथा निकै सान्दर्भिक छ । पुस्तकको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन् ।

विश्व महामारी कोरोना भाइरसले सबैतिर प्रभाव पारिरहेका वेला यो सबैभन्दा बढी सचेत हुनुपर्ने बालबालिकाबारे पुस्तक हो । उनीहरूलाई सहज ढंगले भाइरसबारे जानकारी गराउन, यसबारे सचेत रहन अपनाउनुपर्ने उपाय सानै उमेरको अभिषकै माध्यमबाट भनिएकाले यो पुस्तक बालबालिकाका लागि निकै रोचक र उपयोगी हुन सक्छ । यो पुस्तक ५—१० वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी लेखिएको हो । पुस्तकको मूल्य २२५ रुपैयाँ तोकिएको छ ।

लेखक छल्मन बाइराको पुस्तकमा बालर्थतोया मुखजार्गलको विशिष्ट चित्रांकन रहेको छ । ती चित्र हेर्दै कथा पढ्दै गर्दा टेलिभिजनमा रमाइलो कार्टुन हेरिरहेजस्तो लाग्छ । चित्रले कथाको हिरो अभिषले अब यसपछि के गर्ने होला, कसरी आफ्नो काम फत्ते गर्ने होला भन्दै पुस्तकका हरेक पाना पल्टाइरहुँजस्तो लाग्ने कौतुहलता थपेका छन् ।

पुस्तकका चित्रांकनकर्ता बालर्थतोया प्रसिद्ध बाल चित्रांकनकर्ता हुन् । उनले हालसम्म १० वटा बालसाहित्यका पुस्तकमा चित्र बनाइसकेकी छिन् । उनको ‘वियर एन्ड मस्क्युटो’ पुस्तक सन् २०१९ मा कलर्स अफ उलानबटार बालसाहित्य प्रतियोगितामा पुरस्कृत भएको थियो ।