१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १ बिहीबार ०९:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२३ सय ताक्दै नेप्से : १ महिनामै ६ अर्ब सेयर कर्जा लगानी वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १ बिहीबार ०९:२०:००

नेप्से परिसूचक २ हजार ३ सय बिन्दु भेट्ने जमर्कोमा छ । साता र महिनाकै अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक २ हजार २ सय ९६ सम्म पुगेर ओर्लियो । नेप्से परिसूचक बजार बन्द हुँदा १८ दशमलव ८१ अंकले बढेर २ हजार २ सय ८६ बिन्दुमा पुगेको हो । 

सेयर बजारलाई बैंकहरूमा रहेको अधिक तरलताको राम्रो टेवा पुगिरहेको छ । कात्तिकदेखि पुससम्मको एक महिनामा मात्रै पनि बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा ६ अर्ब ५४ करोड रुपैयाँले कर्जा लगानी वृद्धि गरेर ६७ अर्ब ८५ करोड रुपैयाँ पुर्‍याएका छन् ।

यो गत कात्तिकको तुलनामा १० प्रतिशतको वृद्धि हो । विविध कर्जा योजनामध्ये यसैमा सबैभन्दा धेरै प्रतिशतले वृद्धि भएको हो । बैंकहरूको निक्षेप तथा कर्जा लगानी अनुपात पनि ७३ दशमलव ४९ प्रतिशत हाराहारी रहेकाले अझै अधिक तरलताकै अवस्था छ ।

सेयर बजारमा बुधबार पनि ५ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन बजारमा कारोबारमा आएका १० वटा कम्पनीको मूल्य करिब १० प्रतिशतको दरमा वृद्धि भएको छ । यसरी मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट, आरम्भ चौतरी, फस्र्ट माइक्रो, इन्फिनिटी लघुवित्त, नारायणी डेभलपमेन्ट, गोर्खा फाइनान्स, प्रभु लाइफ, गणपति माइक्रो, संवृद्धि फाइनान्स र एनएमबी माइक्रोको मूल्य यो दरमा बढेको हो । 

कारोबारमा आएका धितोपत्र र ऋणपत्रमध्ये १ सय ४२ को मूल्य बढेको, ४६ कम्पनीको मूल्य घटेको हो । यस दिन एनटिसीको सेयरको सबैभन्दा धेरै लगानीकर्ता आकर्षित भएको देखिएको छ । कम्पनीको २६ करोड रुपैयाँको सेयर किनबेच भएको हो । 

यस दिन कारोबारमा आएकामध्ये बैंकिङ र होटेल समूहको परिसूचक मात्रै घटेको छ । आगामी केही दिनमा कोभिडका कारण बैंकहरूको करिब १० प्रतिशत कर्जा पुनर्संरचना हुने र यहीभित्र पुनर्संरचना नहुने कर्जा खराब कर्जामा परिणत भएको छ । यहीकारण, लगानीकर्ताहरू केही संशयमा रहेका देखिन्छन् । नेसनल लाइफ र तिनाउ डेभलपमेन्टको यस दिन सेयर समायोजन भएको छ । यी कम्पनीको क्रमशः १० र ६ प्रतिशत बोनस सेयर समायोजन भएको हो ।