मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/सिन्ह्वा वासिङ्टन
२०७७ पौष २८ मंगलबार १४:०९:००
Read Time : > 1 मिनेट
अर्थ

फ्रान्स, जर्मनीलक्षित अमेरिकी नयाँ करवृद्धि मंगलबारदेखि लागू

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा वासिङ्टन
२०७७ पौष २८ मंगलबार १४:०९:००

अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपुर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मंगलबारदेखि लागू हुनेछ ।  अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानका पार्टपुर्जामा १५ प्रतिशत थप कर उठाइने जनाएको छ । साथै यी दुई मुलुकका अन्य कतिपय उत्पादनमा २५ प्रतिशत भन्सार कर लिइने पनि विभागले बताएको छ । 

युरोपेली मुलुकहरूले आफ्ना विमान उत्पादक कम्पनीहरूलाई अनुदान उपलब्ध गराएको र त्यसबाट अमेरिकी कम्पनी पनि प्रभावित भएको तथा बजारमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भएको जनाउँदै अमेरिकी प्रशासनले युरोपेली उत्पादनमा करवृद्धि गर्ने घोषणा गरेको थियो । 

गत साता, अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले विमानका पार्टपुर्जामा थप १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेको थियो । साथै फ्रान्स र जर्मनीबाट उत्पादित वाइनमाथि २५ प्रतिशत थप कर लिने बताइएको थियो । 

अमेरिकी ट्रम्प प्रशासनले अक्टोबर २०१९ देखि नै करिब साढे सात अर्ब डलरबराबरका युरोपेली वस्तुमा थप कर लगाउने तयारी गरेको थियो । विश्व व्यापार संगठनले युरोपेली विमान उत्पादक एयरबस र अमेरिकी बोइङ कम्पनीलाई सरकारहरूले प्रदान गरिरहेको अनुदानमाथि प्रश्न उठाउँदै आएको थियो ।

अमेरिकी घोषणासँगै युरोपेली युनियनले पनि नोभेम्बर २०२० मा चार अर्ब डलरबराबरका अमेरिकी उत्पादनमा करवृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले भने युरोपले अमेरिकी सामानबाट बढी कर असुल्न चाहेको प्रतिक्रिया दिएको छ । तर, अमेरिकाले खासगरी युरोपका फ्रान्स र जर्मनीमाथि बढी दबाब दिएको छ । 

युरोपेली मुलुकले विमान कम्पनीलाई दिइरहेको अनुदानका विषयमा  १६ वर्षदेखि विवाद छ । सन् २००४ मा अमेरिकाले विश्व व्यापार संगठनको कार्यालयमा उजुरी गर्दै एयरबसलाई युरोपले बढी अनुदान दिएकोमा आपत्ति जनाएको थियो ।

युरोपेली युनियनले पनि गैरकानुनी ढंगबाट अमेरिकाले बोइङलाई अनुदान प्रदान गरिरहेको आरोप लगाएका थिए । डब्ल्युटिओले भने अमेरिका र युरोपेली युनियन दुवैले नियमविपरीत विमान उत्पादक कम्पनीलाई अनुदान दिएको जनाएको थियो ।