मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फेबियन कुस्तो
२०७७ पौष २८ मंगलबार १०:२९:००
Read Time : > 5 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२१ प्रिन्ट संस्करण

हाम्रो महासागर हाम्रो भविष्य

Read Time : > 5 मिनेट
फेबियन कुस्तो
२०७७ पौष २८ मंगलबार १०:२९:००
कुस्तो गोताखोर, वातावरणविद् हुन् । उनी फाबियन कुस्तो ओसियन लर्निङ सेन्टरका संस्थापक पनि हुन् ।

समुद्र छैन, जीवन छैन’ कुस्तो परिवारमा जन्मिएकाले यी सन्देश व्यावहारिक रूपमा मेरो डिएनएमै लेखिएको छ । यो त्यही एउटा कुरा हो, जुन पर्यावरण रक्षक भएको नाताले वर्षाैँदेखि मैले आफ्नो कामको माध्यममार्फत विश्वसँग बाँड्ने प्रयास गरेको छु ।

दुर्भाग्य ! आज हाम्रो समुद्रको जुन डरलाग्दो हालत बनेको छ, यसले एउटा कुरा स्पष्ट भएको छ कि मैले दिन खोजेको सन्देश धेरै मानिसमा पुगेकै रहेनछ । जब हामी सन् २०२० लाई प्रतिबिम्बित गर्छाैँ, यो हाम्रो चेतनाको सामाजिक र वैज्ञानिक रूपमै सबैभन्दा कठिन वर्ष हुनेछ । त्यसपछि अगाडि हेर्नुहोस्, अझै लामो यात्रा गर्नु छ । हामीले यही सामान्य सत्यलाई बुझ्नुपर्दछ । यो हाम्रा लागि महत्वपूर्ण हुन सक्छ । स्वास्थ्य समुद्रविना हामी हाम्रो स्वस्थ्य भविष्यको कल्पना गर्न सक्दैनौँ । 

हामीमध्ये धेरैले समुद्रको जादु र सुन्दरतालाई अनुभव गर्ने अवसर पाएका छौँ । तर, अझ पनि हाम्रो दैनिक जीवनसँग यसको सम्बन्धबारे निक्कै थोरै जानकारी छ । समुद्रले नियमित रूपमा हामीलाई अक्सिजन उपलब्ध गराइरहेको हुन्छ । हामीले उपभोग गर्ने अन्नबालीलाई हुर्काउन मद्दत गरिरहेको हुन्छ । यी सत्य र तथ्यलाई अझै बुझेकै छैनौँ ।

मैले ३१ दिन लगातार पानीमुनिको संसारमा बिताउने चुनौती तथा विशेष सुविधा पाएको थिएँ । त्यसले मलाई हाम्रो जीवनको आधारभूत सहयोगी संरचनाका रूपमा समुद्रको अभूतपूर्व मूल्यमाथि अद्वितीय दृष्टिकोण प्रदान गरेको छ । लेखक अर्थर सी क्लार्कको कथनलाई मान्ने हो भने हाम्रो यो ग्रहलाई पृथ्वीभन्दा पनि समुद्र भन्दा अझ उपयुक्त हुनेछ ।

पानीविना पृथ्वी मसीजस्तै कालो देखिन्थ्यो । यो जीवनविहीन चक्कर लगाइरहेका अन्य करोडौँ ढुङ्गाजस्तै एक हुने थियो ।
समुद्र हाम्रो ग्रहको जीवनसँग घनिष्ट रूपमा जोडिएको छ । यस्तो अवस्थामा हामी समुद्रबारेको कसरी बेवास्ता गर्न सक्छौँ ? सन् २०२० ले सिकाएको पाठलाई ध्यानमा राखेर सुरुवात गर्न सक्छौँ ।

कोरोना भाइरसले ठूलो पीडा र शोक दिइरहेका वेला बेवास्तामा रहेका केही संरचनाको महत्वमाथि प्रकाश परेको छ, जसले हाम्रो दैनिक जीवनलाई यो अवस्थामा पुर्‍याउन मद्दत गरेको छ । तिनमा वर्णका आधारमा गरिने अन्यायदेखि सम्पत्तिमाथिको तीव्र असमानतासम्म पर्छन्, जुन मानव समुदायका लागि भार बनेको छ ।

सन् २०२० मा हङकङको लानटो टापुमा भेटिएका फालिएका मास्क । तस्बिर : एन्थोनी वालेस/एएफपी​​​​

यी सत्यता केही व्यक्तिले सधैँ नै बताइरहेका थिए । कोरोना भाइरसले निम्त्याएको यो संकटले भने भूकम्पले जस्तै एकैपटक ठूलो हलचल ल्याइदिएको छ, जसले हामीमध्ये धेरैलाई अरूलाई पनि सम्झाउन तयार हुनका लागि भनेको छ । यो संकटले हामीलाई प्रकृतिको सुन्दरतालाई स्मरण गराउने काम पनि गरेको छ । गत वसन्त ऋतुमा कोरोना भाइरस विश्वभर फैलँदा एकपछि अर्काे देशले कडा खालका ‘लकडाउन’को घोषणा गरे । त्यही समय प्रकृतिले फेरि खुल्ने अवसर पायो । प्रकृतिले थोरै भए पनि फेरि आफ्नो लय समाउने प्रयास गर्‍यो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विश्वभर कार्बनडाइअक्साइड उत्सर्जनमा नाटकीय रूपले कमी आएको छ । एउटा अध्ययनअनुसार यो वर्षको सुरुका ६ महिनामा अघिल्लो वर्ष यही अवधिको तुलना गर्दा झन्डै १५ लाख मेट्रिक टन उक्त ग्यास कम उत्सर्जन भयो । 

सधैँ धुमिल देखिने ‘भेनेसियन क्यानल्स’ स्वच्छ देखियो । हलिउड मिल्समाथि रहने कालो धुवाँ हराए । रोडबाट कार गायब भए । यसको नतिजा के देखियो भने केही अवधिका लागि मात्रै भए पनि कार्बनडाइअक्साइड उत्सर्जनमा महत्वपूर्ण अंकले कमी ल्यायो । यी गतिविधि प्रेरक पनि रह्यो । यसले नाटकीय परिवर्तन सम्भव छ भन्ने देखाएको छ । हरियाली भविष्य सम्भव छ भनेर आशा पनि देखाएको छ । 

अझै यो महामारी जारी छ । यसले गर्दा प्लास्टिकको प्रयोगलाई पनि निक्कै बढाएको छ । सागसब्जी किन्दा बजारबाट आएका प्लास्टिक ब्यागदेखि ‘लेटेक्स ग्लोब्स’ले आजभोलि हाम्रा डस्टबिन भरिने गरेका छन् । फालिएका फेस मास्क हामीले हिँड्ने बाटोभर देखिन्छ । यी मास्क नदीनाला हुँदै समुद्र पुग्छन्, जसका लागि यी खतरनाक मानिन्छन् । 

तपाईं महसुस गर्नुस् वा नगर्नुस्, फालिएका प्लास्टिकले हाम्रो पर्यावरणलाई नकारात्मक असर गरिरहेको छ । वातावरणीय प्रदूषण र यो महामारीबीच केही डरलाग्दा समानता देखिन्छ । केही संयन्त्र वा प्रक्रियाले हामीलाई हानि गरिरहेको चिजलाई पनि नांगो आँखाले देख्न नसक्ने बनाइदिएको हुन्छ । हामी प्लास्टिकले बढाएको कतिपय प्रदूषण देख्न सक्दैनौँ ।

सम्भवतः हामीले सामुद्रबाट आएका खाद्य सामग्री खाइरहँदा यी प्लास्टिकका साना–साना टुक्रा पनि खाइरहेका छौँ कि ! जसरी हामी अहिले सास फेर्दा कोरोना भाइरसलाई पनि आफ्नो शरीरभित्र प्रवेश गरेको देख्दैनौँ, त्यसैगरी यस्ता प्लास्टिकबाट भएको प्रदूषणका कारण खानेकुरासँगै खाइरहेको प्लास्टिकबारे हामीले थाहा नपाइरहेका हुन सक्छौँ । यी सत्य कुराले हामीलाई साँच्चिकै अचम्मित तुल्याउँछ ।

तर, यी युद्धमा हामी एक्लै छैनौँ । हामीमध्ये कोही पनि प्राकृतिक रूपमा यो भाइरस प्रतिरोधी छैनौँ, न हामीमध्ये कोही प्रदूषण र जलवायु परिवर्तनको असरबाट सुरक्षित छौँ । यदि हामी सबैले एक भएर काम गर्ने हो भने हामी साँच्चिकै एउटा परिवर्तन ल्याउन सक्षम हुनेछौँ । हामी साँच्चिकै वास्तविक परिवर्तन तय गर्न सक्नेछौँ ।

फेबियन कुस्तोको प्रोटियस अनुसन्धान केन्द्रको कलात्मक प्रतिरूप । यसको निर्माणपछि वैज्ञानिकले यसभित्र बसेर लामो समय समुद्रको अनुसन्धानको काम गर्न सक्छन् । तस्बिर साभार :फेबियन कुस्तो  ओसियन लर्निङ सेन्टर

सानै देखिने, प्रत्येक दिनको कामले पनि हामी प्रदूषण र भाइरसविरुद्ध केही सकारात्मक प्रभाव पार्न सक्षम हुनेछौँ । उदाहरणका लागि धुन मिल्ने र धोएर फेरि प्रयोग गर्न मिल्ने मास्क प्रयोग गर्न थाल्यौँ भने पनि हामीले आफूसँगै आफ्नो टोलको वातावरणलाई प्रदूषित बनाउनबाट रोक्नेछौँ ।

यसबाट समुद्रमा पनि प्लास्टिक कम हुनेछन् । हामीले हाम्रो पानीको बाटो वा मुहानलाई सुरक्षित राख्नका लागि बजारबाट खाने कुरा किन्दा प्लास्टिकको झोला ल्याउन बन्द गर्नुपर्छ । वा प्लास्टिकमा पोको पारिएका कुनै पनि सामान किन्न छाड्नुपर्दछ । यसले गर्दा ती उत्पादनमा फेरि प्लास्टिकको प्रयोग हुन छाड्नेछन् ।

हामी निक्कै साँघुरो प्रणालीमा बसेका हुन्छौँ । वास्तवमा हामी केही चिज फ्याँक्नै सक्दैनौँ । हामी प्लास्टिकलाई डस्टबिनमा फ्याँक्छौँ । त्यो सामुद्रिक जनवारको शरीरभित्र पुग्नेछ । खानाका रूपमा घुमेर एक दिन हामीले फ्याँकेको प्लास्टिक हाम्रो शरीरभित्र आइपुग्नेछ ।

मेरो हजुरबा ज्याक्स युभ्स कुस्तोजस्तै म केमा विश्वास गर्छु भने हामी जेलाई माया गर्छौँ, त्यसैलाई संरक्षण गर्छौैँ र आफूले राम्ररी बुझेको कुरालाई माया गर्छौँ । यदि हामीले ढिला ग¥यौँ भने ठूलो विध्वंसले हामीलाई कुरिरहेको हुनेछ । यो तीतो सत्यसँगै विज्ञानको सारलाई लिन सक्यौँ भने हामीसँग कोरोना भाइरस र जलवायु संकटलाई नियन्त्रण लिन सक्ने क्षमता छ । त्यसैले हामीले प्रकृतिको पक्षमा हुन सिक्नुपर्दछ । प्रकृतिको पक्षमा हुनु भनेको मानवताको पक्षमा हुनु हो ।

अहिले हामीलाई अरू कुनै वेलाभन्दा पनि बढी आशाको आवश्यकता छ । तर, हामीले पर्खेर मात्रै हुँदैन । हामीले अगाडिको बाटो निर्माण गर्नुपर्दछ । आशावादी भविष्यतर्फको एउटा बाटो म निर्माण गर्दै छु ।

ऐतिहासिक पृष्ठभूमि हेर्दा मानवता कुनै पनि कठिन समयमा एकै ठाउँमा उभिएको छ । त्यसको गतिलो समाधान दिएका छन् । त्यसलाई परास्त गर्दै बाँच्ने नयाँ उपाय पत्ता लगाएका छन् ।

हामीसँग जुध्न आइरहने समस्याको समाधानका लागि योगदान पुर्‍याउने भनेको विश्वकै सबैभन्दा आधुनिक पानीमुनि रहने अनुसन्धान केन्द्रको स्थापना गर्नु हो । यो अनुसन्धान केन्द्र क्यारेबियन समुद्रको सतहबाट ६० फिट तल हुनेछ । यसले समुद्रसम्बन्धी अनुसन्धानका लागि एउटा अन्तर्राष्ट्रिय केन्द्रका रूपमा काम गर्नेछ । जहाँ विश्वभरबाट आएका वैज्ञानिकहरूले हप्तौँ वा महिनौँ बसेर अनुसन्धान गर्न सक्छन् ।

जब उनीहरूले अनुसन्धान सुरु गर्नेछन्, उनीहरूले समुद्रको थप नयाँ रहस्य पत्ता लगाउनेछन् । अहिलेसम्म यो पृथ्वीको मात्रै पाँच प्रतिशत समुद्रको खोज भएको छ । यसको थप अनुसन्धानको आवश्यकता छ । यो समुद्रले जलवायु परिवर्तनमा कसरी प्रभाव पार्छ भन्नेबारे बुझ्ने एउटा धेरै राम्रो अवसर पनि हो । यसले हामीलाई अरू शक्ति र खाद्य सुरक्षाबारे पनि ज्ञान दिनेछ ।र, निश्चित रूपमा समुद्रमा आश्चर्यजनक जैविक विविधता छन् ।

मरिससको तटमा जापानी तेल बोक्ने जहाज एमभी कावासियोबाट समुद्रमा चुहिएको तेल फाल्दै एक मानिस । तस्बिर : जिन ओरेलियो प्रुडेन्स/एएफपी​​​​​

अझै धेरै प्रजातिका जीवको पत्ता लाग्नेछन् र तीनमा हामी आश्चर्यमा पर्नेछौँ । पानीमुनिको यो अनुसन्धान केन्द्र सन् २०२३ भित्र निर्माण पूरा हुने जनाइएको छ । त्यहाँ एउटा भिडियो उत्पादन गर्ने स्टुडियो हुनेछ । यसले विश्वभरका मानिसहरूलाई पानीमुनिको संसारको अनुभव दिलाउनेछ । यसबाटै धेरै मानिसहरूले हामीले भावी पुस्तालाई दिन चाहेको ‘समुद्र छैन, जीवन छैन’ भन्ने सन्देश पनि बुझ्नेछन् ।

प्रत्येक दिन जब हामी जलवायुसँग सम्बन्धित समस्याको समाधान भेट्टाउन असफल हुन्छौँ, हामी यो ग्रहबाट एउटा प्रजातिलाई गुमाउने अवस्थामा पुग्छौँ । जलवायु परिवर्तन कम हुने अवस्था देखिएको छैन । यसलाई रोक्न हाम्रो प्राथमिकता बन्नुपर्दछ ।

अझै पनि मसँग आशा छ । हामीले निर्माण गर्दै गरेको अनुसन्धान केन्द्र हाम्रो पानी संरक्षण गर्न र हाम्रो भविष्य सुरक्षित गर्न महत्वपूर्ण साबित हुनेछ । म के कुरामा विश्वास गर्छु भने पानीमुनिको त्यो वातावरणमा केही प्राकृतिक शक्ति पक्कै छ, जसले अहिलेको कोरोना भाइरस वा भविष्यमा आउन सक्ने अर्काे कुनै संकटलाई पनि रोक्न मद्दत गर्नेछ ।

ऐतिहासिक पृष्ठभूमि हेर्दा मानवता कुनै पनि कठिन समयमा एकैठाउँमा उभिएको छ । त्यसको गतिलो समाधान दिएका छन् । त्यसलाई परास्त गर्दै बाँच्ने नयाँ उपाय पत्ता लगाएका छन् । अहिले पनि एउटा समाधान खोज्नुपर्ने त्यस्तै समय आएको छ । हामी नयाँ वर्षको संघारमा छौँ । हामी सन् २०२१ र त्यसपछिको दिन कस्तो होला भन्ने कल्पना गरिरहेका छौँ । अब हामीले विज्ञान र मानव क्षमतामा आधारित रहेर हाम्रो समुद्रलाई बचाउने प्रयास थाल्नैपर्छ । हाम्रो जीवन यसमै निर्भर छ ।