मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २८ मंगलबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २८ मंगलबार ०६:१४:००

 नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ । कोषले यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउनुनपर्ने सुविधा दिने उद्देश्यले अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको हो ।

सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ । यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक–कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने जनाइएको छ ।  

यसमा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने कोषले जनाएको छ । बचतकर्ताको आम्दानीका आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा पनि रकम जम्मा गर्न सकिने विशेषतासमेत रहेको जनाइएको छ ।

 कति आउँछ पेन्सन ?
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने कोषले जनाएको छ । बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्षपश्चात् समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्ने जनाइएको छ । 

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रूपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्ने जनाइएको छ । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकमलाई १ सय ७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको कोषले जनाएको छ ।