मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २८ मंगलबार ०६:१४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पल्सर स्पोर्टस् अवार्ड आज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २८ मंगलबार ०६:१४:००

१७औँ संस्करणको पल्सर स्पोर्टस् अवार्ड आज हुँदै छ । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५औँ वर्ष मनाउने क्रममा मंगलबार अवार्ड आयोजना गर्न लागेको हो । मञ्चको स्थापना २५ भदौ २०५२ मा भएको थियो । कोरोनाका कारण मञ्चले आफ्नो रजत वर्षलाई थप कार्यक्रम गरेर मनाउन पाएन । कोरोना महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षका रूपमा मनाउन लागिएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी बताउँछन् । विनाशकारी भूकम्पका कारण २०७२ मा अवार्ड हुन सकेन ।

मञ्चले स्पोर्टस् अवार्डको सबै तयारी पूरा गरिसकेको जनाएको छ । यसपटकको अवार्डमा मनोनीत भएका खेलाडी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा प्राप्त सफलताका आधारमै छनोट भएको सुवेदीले बताए । अवार्डमा विभिन्न १० विधामा खेलाडी पुरस्कृत हुनेछन् । ०७६ मा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका हुन् । 

१० वटा विधामध्ये भोटिङको आधारमा विजेता घोषणा हुने पिपुल्स च्वाइस मात्र हो । यो विधामा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् । अवार्डमा पौडीकी गौरिका, करातेका मन्डेकाजी तथा गल्फका सुवास फरक–फरक विधामा मनोनीत भएका छन् । यी सबै खेलाडी गत वर्ष सम्पन्न सागका स्वर्णपदक विजेता हुन् ।

सुवास वर्षका उत्कृष्ट पुरुष र युवा विधाको मनोनयनमा परेका छन् । वर्षका उत्कृष्ट पुरुष खेलाडीमा मन्डेकाजी, सुवाससँगै एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु छन् । यसैगरी, उत्कृष्ट महिला खेलाडीमा गौरिकासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारी छन् । वर्षका उत्कृष्ट युवा खेलाडीमा सुवासका साथै तेक्वान्दोकी सिना लिम्बू मादेन र भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरी मनोनयन भएका छन् । 

उत्कृष्ट प्रशिक्षक विधामा तेक्वान्दोका नवीन श्रेष्ठ, करातेका मदन उप्रेती, उसुका अमरकुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन् । अवार्डमा पिपुल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिने मञ्चले जनाएको छ । 

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अवार्डको विभिन्न चारवटा राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ । पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी रहेको छ ।