मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवदीप अजनवी नुवाकोट
२०७७ पौष २८ मंगलबार ०६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नुवाकोटमा माघेसंक्रान्तिकाे दिन ३१ हल गोरु जुधाइने

Read Time : > 1 मिनेट
२०७७ पौष २८ मंगलबार ०६:५८:००

नुवाकोटको विभिन्न स्थानमा यस वर्षको माघेसंक्रान्तिमा ३१ हल गोरु जुधाइने भएको छ ।  सोमबारसम्म जिल्लाका चार स्थानमा गोरु जुधाउने कार्यक्रम राखिएको आयोजकहरूले जनाएका छन् । 

तारकेश्वर गाउँपालिका– ३ तारुका, विदुर नगरपालिका– १० बेत्रावती, पञ्चकन्या गाउँपालिका– ३ घलेगाउँ र शिवपुरी गाउँपालिका– ५, शेराबगरमा माघ १ गते गोरु जुधाउने मेला सञ्चालन हुन लागेको हो । चार स्थानमा गरी हालसम्म ३१ हल गोरु जुधाउनका लागि किसानहरूले दर्ता गरेका छन् । 

तारुकाको गोरु जुधाउने मेला आयोजक संस्था माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले सोमबार विदुरमा पत्रकार सम्मेलन गरी १७ हल गोरु जुधाउनका लागि किसानहरूले दर्ता गरेको जानकारी दिएको छ । 

०६२ सालबाट व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको तारुकामा यो वर्ष कोरोनाको कहरबीच पनि भव्य रूपमा मेला सञ्चालन गर्ने योजना बनाइएकाे मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर– ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए । 

यो क्षेत्रमा गोरु जुधाउने परम्परा पुरानो भए पनि एकैस्थानमा गाउँभरिका गोरु भेला पारेर जुधाउने चलन तारुकामा पछिल्लो १६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । 

गोरु जुधाइलाई संस्कृतिको रूपमा विकास गरेको तारुकामा माघेसंक्रान्तिमा गोरु जुधाउनै भनेर किसानले गोरुलाई पोषिलो घाँस, अन्न, अन्डा खुलाएर पाल्ने गरेको स्थानीय शिक्षक जनकराज ढुंगानाले बताए । तारुकाले गोरु जुधाइको पहिचान बनाएपछि जिल्लाका अन्यत्र स्थानमा पनि गोरु जुधाउने क्रम बढेको छ । 

विदुर नगरपालिका– १० बेत्रावतीमा यो वर्ष चार हल मात्र गोरु जुधाइने क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए । कोरोनाका कारण धेरै प्रचार प्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै संख्यामा गोरु जुधाइने योजना बनाइएको उनको भनाइ छ । 

आयोजकका अनुसार बेत्रवतीमा विजेता गोरुधनी किसानलाई पाँच हजार नगद र दोस्रो गोरुधनी किसानलाई चार हजार पुरस्कारको व्यवस्था गरिएको छ । बेत्रावतीमा पछिल्लो ११ वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ । 

यस्तै, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाइने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताए । विजेता तथा सहभागी गोरुका धनीहरूलाई रु. १५, १० र ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ । 

यस्तै, तीन वर्षअघिदेखि गोरु जुधाउन थालिएको शिवपुरी गाउँपालिका– ५, शेराबगरमा यो वर्ष चार हल गोरु जुधाइने भएको आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए । 

गत वर्षदेखि गोरु जुधाउन मेला सञ्चालन गर्न थालिएको तादी गाउँपालिकाको सातबिसेमा यो वर्ष पनि गोरु जुधाउने योजना रहे पनि गोरुको संख्या भने यकिन नभएको आयोजकले जनाएको छ ।