Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २८ मंगलबार ०६:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसद् विघटनविरुद्ध मोर्चाबन्दी गर्न सञ्चारसम्बद्ध संस्थाको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २८ मंगलबार ०६:१८:००

सञ्चारसम्बद्ध संघ–संगठनका प्रमुखहरू भन्छन्– प्रधानमन्त्रीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार/सञ्चारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनुपर्छ

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् मोर्चाबन्दीका लागि सञ्चारसम्बद्ध संस्थाका प्रमुखहरूले आह्वान गरेका छन् । उनीहरूले आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रूपमा लैजानका लागि तयारी थाल्नुपर्नेमा जोड दिएका छन् । 

सोमबार काठमाडौंमा संवाद डबलीमा आयोजित ‘अहिलेको राजनीतिक जटिलता र पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सञ्चारसम्बद्ध संघ–संगठनका प्रमुखहरूले प्रधानमन्त्री केपी ओलीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार/सञ्चारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनुपर्ने बताए । प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले प्रधानमन्त्री ओलीले मुलकलाई पछाडि धकेलेको बताए । ‘प्रधानमन्त्रीको कदम एकात्मक सामन्ती प्रणालीतर्फ उन्मुख छ, त्यसलाई रोक्न मोर्चाबन्दी कसौँ,’ दाहालले भने । 

त्यस्तै, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले लोकतन्त्रको रक्षार्थ पत्रकारहरू जहिले पनि लडिरहेको इतिहास स्मरण गर्दै अहिलेको संकटबाट मुक्ति पाउन संयुक्त आवाज लिएर आन्दोलनमा उत्रिनुपर्ने बताए । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले अहिलेको सरकार प्रतिगामी र फासिवादी चरित्रको भएकाले आन्दोलनमा होमिनुपर्ने बताए । 

क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले असफलसिद्ध संसद्वादको विकल्प खोज्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीको कमदविरुद्ध संयुक्त आन्दोलनमा उत्रिनुपर्ने बताए । 

प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष नारायण शर्माले संकटको भुमरीमा फसेको मुलुकलाई जोगाउन पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए । प्रेस नेपालका अध्यक्ष केशव अर्यालले ओली नेतृत्वले सरकारले जनताको स्वतन्त्रतामाथि धावा बोलेकाले पत्रकार तथा सञ्चार जगत् त्यसविरुद्ध एकजुट हुनुपर्ने बताए । 

मधेसी पत्रकार मञ्चका अध्यक्ष मोहन सिंहले जनयुद्ध, जन–आन्दोलन तथा मधेस आन्दोलनबाट निर्माण भएको संघीयतालगायतका उपलब्धिहरूलाई उल्टाएर प्रतिगमन लाद्ने ओली सरकारलाई पत्रकार र आमजनसमुदाय मिलेर संयुक्त आन्दोलनको बलमा लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले यो अलोकतान्त्रिक सरकारको जनविरोधी रवैयाको भण्डाफोर गर्नुपर्ने बताए ।