मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २८ मंगलबार ०९:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से स्थिर : बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो

Read Time : > 1 मिनेट
२०७७ पौष २८ मंगलबार ०९:१५:००

सोमबार नेप्से परिसूचक स्थिर देखिएको छ । अघिल्लो दिनको भन्दा उचाइबाट कारोबार सुरु भए पनि लगानीकर्ता प्रतिफल बुकिङमा लाग्दा बजारमा उच्च उतारचढाव देखिएको छ । बजार बन्द हुँदा भने नेप्से परिसूचक ३ दशमलव ७ अंकले बढेर २ हजार २ सय ३९ बिन्दुमा पुगेको हो ।  

सेयर बजार परिसूचक सामान्य करेक्सनसहित दैनिकजस्तो उचाइ बनाइरहेको छ । पछिल्लो समय लगानीकर्ता बैंकिङ समूहमा तानिन थालेका छन् । बजारमा ५ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच हुँदा बैंकको सेयरमा लगानीकर्ताले २ अर्ब ६८ करोड रुपैयाँ हालेका छन् । 

कारोबार रकमका आधारमा सिद्धार्थ, प्रभु, एनएमबि, सिभिल, कुमारी, एनआइसी, ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंक प्रमुख १० भित्र परेका छन् । यस दिन २ सय ८ धितोपत्र  र ऋणपत्रको कारोबार भएकोमा ९७ वटाको मूल्य बढ्यो, ८४ वटाको मूल्य घटेको हो । सिभिल बैंकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । वाणिज्य बैंकमा सिभिल बैंकको सबैभन्दा धेरै ६ दशमलव ५० प्रतिशतले मूल्य बढेर २ सय १३ पुगेको हो । 

कारोबारमा आएका १२ समूहमध्ये ५ समूहगत परिसूचक घटेको छ । व्यापारमूलक, होटेल, उत्पादनमूलक, ‘अन्य’, लघुवित्त समूहको परिसूचक घटेको हो । आरम्भ चौतारी लघुवित्त, नारायणी डभेलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा सर्किट ब्रेक लागेको छ ।

२९ पुसमा साधारणसभा गर्न लागेको युनाइटेड फाइनान्सले यसपटक लाभांश प्रस्ताव गरेको छैन । लाभांश नदिएको कर्पोरेट डेभलपमेन्ट बैंकको पनि असोजमै साधारणसभा सम्पन्न भएको छ ।  यसैबीच, धितोपत्र बोर्डले सिडिएसी एन्ड क्लियरिङ, क्रेडिट रेटिङ कम्पनी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक सुरक्षा कोष बनाएर राख्न र त्यो रकमबाट लगानीकर्ता शिक्षामा खर्चन निर्देशन दिएको छ ।