मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:५०:००
Read Time : < 1 मिनेट
अर्थ

टाटा ट्रस्ट र सिप्रदीयनद्वारा विद्यालय निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:५०:००

भारतीय अटोमोबाइल निर्माण कम्पनी टाटा मोटर्सको च्यारिटी संस्था टाटा ट्रस्ट र नेपालस्थित टाटाको अधिकृत आयातकर्ता सिप्रदी ट्रेडिङले सामाजिक उत्तरदायित्व बहनका लागि स्थापना गरेको सिप्रदीयन सहायता संस्था मिलेर सिन्धुपाल्चोकको बाह्रबिसेमा एउटा विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ ।

०७२ को भूकम्पले क्षति पु-याएको बाह्रबिसे नगरपालिकास्थित शारदा माध्यमिक विद्यालयका लागि १२ कोठाको दुईतले नयाँ भवन निर्माण गरी हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भुप्रसाद दाहालले ४ करोड १० लाख रुपैयाँ लागतमा निर्माण भएको विद्यालय हस्तान्तरण गरेका थिए ।

सिन्धुपाल्चोकमा टाटा ट्रस्ट र सिप्रदीयनले सातवटा विद्यालय पुनर्निर्माण गर्ने सम्झौता गरेका छन् । त्यसमध्ये शारदा माध्यमिक विद्यालय निर्माण भएर हस्तान्तरण गरेको पहिलो विद्यालय हो । थप ६ विद्यालय धमाधम निर्माण भइरहेको सिप्रदीयनले जानकारी दिएको छ ।

विद्यालय हस्तान्तरण समारोहमा उपस्थित भएका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले दुवै सामाजिक संस्थाले विद्यालय बनाएर नेपाली नागरिकको मन जितेको बताएका थिए । उनले स्थानीय बालबालिकाको शैक्षिक गुणस्तरमा सुधारका लागि नयाँ विद्यालयले भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे ।

‘कालोपाटीको ठाउँमा अहिले सेतोपाटी राखिएको छ । डेस्क–बेन्च पनि आधुनिक किसिमका छन् । तसर्थ, यो विद्यालयमा पढ्ने सबै विद्यार्थीको भविष्य उज्ज्वल हुने विश्वास लिएको छु,’ उनले भने । 

शारदा माध्यमिकमा अध्ययन गरेका विद्यार्थीले देशको हितमा काम गरेर विश्वमै उदाहरण बन्न सकून् भनेर उनले शुभकामना पनि दिएका थिए । विद्यालयको ६८औँ वार्षिकोत्सवको अवसर पारेर भवन हस्तान्तरण कार्यक्रम राखिएको थियो । नयाँ भवनसँग थप अर्को भवनमा भने खासै क्षति नभएकाले अध्ययन कार्य पहिलेदेखि सुचारु छ ।

दुईवटा भवन भएपछि अध्यापन अझ राम्रो हुने विद्यार्थी सीमा दाहालले विश्वास व्यक्त गरिन् । पुनर्निर्माण सुरु भएको १५ महिनामा भवन हस्तान्तरण गरिएको टाटा ट्रस्टले जनाएको छ ।