मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २७ सोमबार १९:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थारू बस्तीमा माघीको उल्लास

Read Time : > 1 मिनेट
२०७७ पौष २७ सोमबार १९:१२:००

कैलाली, कञ्चनपुरका थारू बस्तीमा माघी पर्वको उल्लास सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीले गाउँघरमा रौनक बढाएको छ । थारू समुदायका मानिस अहिले माघीमा परम्परागत खानाका परिकार बनाउन खाद्यान्न तयार गर्ने, दुना–टपरी गाँस्ने, घर–आँगन लिपपोत तथा सरसफाइ गर्नेजस्ता तयारीमा जुटेका छन् । 

घर लिपपोत र आँगन सरसफाइ गर्न, दुना–टपरी गाँस्न तथा ढिक्रीलगायत खानाका परिकारको तयारीको कामले महिलालाई भ्याइनभ्याई छ । पुरुषहरू मासुको जोहोमा जुटेका छन् । हरेक वर्ष पुसको अन्तिम दिनबाट माघ २ गतेसम्म थारू समुदायले माघी पर्व मनाउने गर्छन् । माघी थारू समुदायको सबैभन्दा ठूला पर्व भएकाले धुमधामका साथ मनाउन साताअघि नै तयारी सुरु हुन्छ ।

माघी आउन दुई दिन मात्र बाँकी रहँदा गाउँघरमा उल्लास छाएको भजनी नगरपालिका– ५, लालबोझीका रामु चौधरीले बताए । माघीको तयारी धुमधामले भइरहेको उनले बताए । ‘खानाका परिकार बनाउन खाद्यान्न कुटानीपिसानी भइसकेको छ,’ चौधरीले भने, ‘माघीमा मासु खानका लागि टोलका मान्छे मिलेर बंगुर खोजिरहेका छौँ ।’

माघीमा मीठा–मीठा परिकार खाने चलन रहिआएको छ । ढिक्री माघीमा खाने महत्वपूर्ण परम्परागत परिकार हो । यो चामलको पिठोबाट बनाइन्छ । माघीमा प्रत्येक घरमा ढिक्री, अण्डीको चामलको रोटी र बंगुरको मासु अनिवार्य पाक्ने गरेको चौधरीले बताए । मासु, ढिक्रीजस्ता परिकार सालको पातबाट बनाइने दुना र टपरीमा राखेर खाने गरिन्छ ।

माघीमा विवाहिता छोरीचेलीलाई पनि माइत बोलाउने चलन रहेको थारू अगुवा प्रभातकुमार चौधरी बताउँछन् । उनका अनुसार माघीको पहिलो दिन बंगुर काट्ने र खानाका परिकारहरू बनाउने गरिन्छ । मीठा–मीठा खानाका परिकार खाएर राति नाचगान गर्ने चलन छ । परम्परागत गीतमा झुम्रा, खसियालगायत नाचहरू नाचेर रमाइलो चलन रहेको चौधरीले बताए ।

माघीको दोस्रो दिन अर्थात् माघ १ गते बिहानै नदी खोलामा नुहाई–धुवाई गरेपछि पूजापाठ गरिन्छ । त्यसपछि गाउँटोलमा गई आफूभन्दा ठूला मान्यजनलाई ढोगेर आशीर्वाद लिने तथा सानालाई आशीर्वाद र दक्षिणा दिने चलन रहेको उनले बताए । माघ १ गतेबाट थारू सम्वत् सुरु हुने गर्दछ, त्यसैले थारू समुदायले माघ १ लाई नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् ।

‘आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई प्रेम, स्नेह प्रकट गर्ने भएकाले यो पर्वले आपसी सद्भाव बढाउने काम पनि गरेको हुन्छ,’ थारू कल्याणकारिणी सभा कैलालीका पूर्वसभापतिसमेत रहेका चौधरीले भने, ‘खास गरेर खानपान, नाचगान रमाइलो गरेर नै यो पर्व मनाइन्छ ।’ मासु, जाँड अनिवार्यजस्तै हुने उनले बताए ।

माघ १ गते बिहान नुहाई–धुवाई गरेपछि घरको आँगनमा चामल र मासको दाल छोएर अलग राख्ने गरिन्छ, पछि त्यसलाई छोरीचेलीलाई दिने चलन छ । त्यसरी छोएर अलग राख्ने खाद्यान्नलाई निसराउ भन्ने गरिएको चौधरीले बताए । माघी पर्व मनाएपछि गाउँमा थारू समुदायले भल्मन्सा चयन गर्ने, छुट्टिन चाहेका परिवाले अंशबन्डा गर्ने, विवाहलगायत नयाँ कार्यको थालनी गर्ने चलन छ ।