मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २७ सोमबार १२:४९:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

आधारभूत इजरायली कृषिको ज्ञान लिन कर्णालीका युवा दुराडाँडामा

Read Time : > 2 मिनेट
२०७७ पौष २७ सोमबार १२:४९:००

लमजुङको सुन्दरबजार नगरपालिका– ३ चन्द्रेश्वर जल्केनीफाँटमा गरिएको एकीकृत कृषिबारे ज्ञान लिन कर्णाली प्रदेशका युवा कृषक दुराडाँडामा आएका छन् । आधारभूत इजरायली कृषि प्रविधिको ज्ञान लिन कर्णाली प्रदेशका ६३ जना युवा कृषक दुराडाँडामा आएका हुन् ।

निर्वाहमुखी कृषि पेसा अँगाल्दै आएका कर्णालीका युवा कृषक आधुनिक प्रणालीबाट कृषि खेती गर्नका लागि आफूहरू लमजुङको दुराडाँडामा आएको कर्णाली प्रदेश दैलेख जिल्ला आठबिस नगरपालिकाका जनक साउद माझीले बताए । उनले भने, ‘कर्णाली प्रदेश सरकारले ९२ दिनको तालिम सिक्न दुराडाँडा पठाएको छ । गाउँमा गएर इजरायली प्रविधिबाट खेती गर्ने योजना छ ।’ 

उनीसँगै तालिम लिन आएकी रुकुम पश्चिम मुसिकोट नगरपालिकाकी यमुना शर्माले पनि अब आधुनिक कृषि प्रणालीबाट खेतिपाती गरिने बताइन् । उनले भनिन्, ‘लमजुङको दुराडाँडा र कर्णालीको हावापानी एउटै पायौँ । अब इजरायली प्रविधिबाट खेती गर्नेछौँ ।’

यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले कृषिमा युवालक्षित कार्यक्रम सञ्चालन गर्नुपर्छ । उनी भन्छिन्, ‘विदेश जानुको सट्टा नेपालमै आधुनिक प्रविधि प्रयोग गरेर कृषि कर्म गर्न सके विकास र समृद्धि सम्भव छ ।’

आराभाले अपनाएको प्रविधिअनुसार नै कर्णालीमा पनि कृषि बस्तीको योजना बनाएकाले कर्णाली प्रदेश सरकारले ६३ जना युवालाई ९२ दिनको तालिम लिन लमजुङको आराभामा पठाएको हो । इजरायलमा कृषि विज्ञान अध्ययन गरेर फर्किएका युवाले इजरायलको आराभा भन्ने स्थानको नामबाट जल्केनीफाँटमा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडमार्फत एकीकृत कृति बस्ती बसालेका हुन् । सन् २०१६ मा स्थापना भएको संस्थाले तरकारी, फलफूल, पशुपालन, माछापालन गर्दै आएका छन् । 

आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष विनोद घिमिरेका अनुसार करिब तीन सय रोपनी जग्गामा कृषि बस्ती बसालिएको छ । केही संरचना निर्माणाधीन अवस्थामा छन् । संस्थामा ४२  जिल्लाका एक सय ४३ जना युवा आबद्ध छन् । 

कृषिलाई निर्वाहमुखीभन्दा व्यावसायीकरण र आधुनिकीकरण गर्ने लक्ष्यका साथ फर्म सञ्चालन गरेको संस्थापक अध्यक्ष घिमिरेले बताए । संस्थाले गण्डकी प्रदेश र कर्णाली प्रदेशको सहकार्यमा सिक र गर (लर्न एन्ड डु ) परियोजना सञ्चालन गरेको छ । 

आराभाका अध्यक्ष कृष्णप्रसाद बजगाईंले आधुनिक प्रविधिबाट कृषि गर्न सके आयआर्जनमा सघाउ पुग्ने र विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘आधुनिक प्रविधिबारे ज्ञान लिन विभिन्न ठाउँबाट युवा किसान आराभामा आउने गरेका छन् । अहिले पनि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ६३ जना युवा विद्यार्थी ९२ दिनको तालिममा आएका छन् ।’

अध्यक्ष बजगाईंका अनुसार आराभाले सुन्दरबजार नगरपालिका– ९ भोटेओडारमा एएनएमसी नामक डेरी उद्योगसमेत सञ्चालनमा ल्याएको छ । एकीकृत कृषि फार्ममा उत्पादन गरिएका कृषिजन्य वस्तु काठमाडौं, पोखरा, चितवनलगायतका बजारसम्म बिक्री गर्ने गरिएको संस्थाका अध्यक्ष बजगाईंले बताए । 

आराभाले सञ्चालन गरेको एकीकृत कृषि फार्ममा नेपाली सेनाले कृषिसम्बन्धी व्यावसायिक तालिमसमेत लिँदै आएका छन् । नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित हुने गरी लमजुङको सुन्दरबजारको सिउँडीबारमा नेपाली सेना व्यवसायी कृषि तथा पशुपालन तालिम केन्द्र सञ्चालन गरिएको छ । 

तालिमको प्रयोगात्मक अभ्यास आराभाद्वारा सञ्चालित एकीकृत कृषि फार्ममा गरिँदै आएको छ । मरुभूमिमा तरकारी र फलफूल फलाएका युवाले कृषिमार्फत पर्यटन प्रवर्द्धन गर्नसमेत एकीकृत कृषि फार्म सञ्चालन गरेको बताएका छन् । 

साना किसान विकास बैंकमार्फत आधुनिक कृषि प्रणालीबारे अध्ययन गर्न इजरायल पुगेका युवाले नेपाल फर्केपछि १८ करोड लगानीमा एकीकृत कृषि फार्म सञ्चालन गरेका हुन् । हाल फार्ममा ४३ जना कामदार छन् । यसमा केही सेयर सदस्य पनि छन् । केही समयअघि एकीकृत कृषि बस्तीबारे कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीसहितको टोली आएर जानकारी लिएका थिए ।