मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ पौष २७ सोमबार १२:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्याय खोज्न कहाँ जाऊँ ? : गंगामाया अनशनको २१औँ दिनमा, न कसैलाई चिन्ता न कसैको चासो

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ पौष २७ सोमबार १२:०८:००

ट्रमा सेन्टरको सातौँ तलामा ६१ वर्षीया गंगामाया अधिकारी अनशन बसेको सोमबार २२औँ दिन पुगेको छ । 

उनको सुरक्षामा रहेकी प्रहरी जवानका अनुसार उनले चिकित्सकलाई आफ्नो छेउ पर्न दिएकी छैनन् । यसै कारण उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकलाई पनि विस्तृत जानकारी छैन । 

‘आँखा देख्न छाडिसकेँ, हिँड्न सक्दिनँ,’ गोरखा फुजेल घर भएकी अधिकारीले मागबारे भनिन्, ‘मेरो छोरा र श्रीमान् मार्नेलाई कारबाही होस् ।’ 

उनका छोरा कृष्णप्रसाद अधिकारीकाे चितवनमा ०६१ साल जेठ २४ मा हत्या भएको थियो । तत्कालीन माओवादीले उक्त हत्याको जिम्मा लिएको थियो ।

छोराका हत्यारालाई कारबाही गराउन भनी गंगामाया र उनका श्रीमान् नन्दप्रसाद अधिकारी ०७० मा पनि अनशन बसेका थिए । सोही क्रममा नन्दप्रसादको ०७१ असोज ६ मा अनशनको ३३४औँ दिनमा मृत्यु भएको थियो ।

तत्कालीन सरकारले आफूहरूको मागप्रति चासो नदेखाउँदा र छोराको हत्यारालाई पक्राउ नगर्दा अनशनका क्रममा नन्दप्रसादको ज्यान गएको उनको भनाइ छ ।

सरकारको बेवास्ताका कारण नन्दप्रसादले मृत्युवरण गरेको भन्दै त्यसवेलाका सरकारप्रमुखलाई कारबाही हुनुपर्ने उनको माग छ । 

यता सरकारले भने यो द्वन्द्वकालीन मुद्दा भएकाले त्यसैअनुसार कारबाही हुने बताउँदै आएको छ । 

अधिकारीदम्पती अनशन बसेपछि २०७० साउनबाट प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरी सोही वर्ष चैतमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

१३ जनालाई विपक्षी बनाई दायर यस मुद्दाका अभियुक्तहरूले जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् । तर, राज्यले नै मुद्दा कमजोर बनाएको र प्रत्यक्षदर्शीलाई उपस्थित गराउन अदालतमै निवेदन दिँदासमेत नझिकाइदिएको गंगामायाको आरोप छ । 

यसरी अन्य प्रमाण र साक्षीलाई समेत अनुसन्धानका क्रममा ध्यान नदिइएको उनले बताइन् । 

यसैकारण आफू अनशन बसेको गंगामायाको भनाइ छ । 

कृष्णप्रसादको हत्यासम्बन्धी मुद्दा हाल उच्च अदालत हेटौँडामा विचाराधीन छ । 

गंगामायाले यसअघिको अनशन तोडाउने वेला सरकारले उपलब्ध गराउने भनेको रकम पनि नलिएको बताइन् । आफूलाई न्याय मात्र चाहिएको उनको भनाइ छ ।

यसअघि ०७१ असोज अन्तिममा उनले अनशन तोड्दा उनीसँग गरिएको सम्झौता कार्यान्वयन नभएको गंगामायाको भनाइ छ । 

उनले अनशन तोडे पनि न्यायका लागि संघर्ष जारी रहने बताएकी थिइन् ।

गंगामाया र शान्ति तथा पुनर्निर्माण मन्त्रालयबीच भएको सम्झौतापत्रमा उनलाई छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही गर्ने भनिए तापनि हालसम्म राज्य पक्षबाट पर्याप्त पहल नभएको उनको गुनासो छ । 

यसैबीच मानव अधिकारकर्मीले सोमबार ट्रमा सेन्टरको फुटपाथमा एक घन्टा धर्ना दिएका छन् । 

गंगामायाको जीवनरक्षा र न्यायका लागि उनीहरूले धर्ना दिएका हुन् । अधिवक्ता तथा मानव अधिकारकर्मी इन्द्र अर्यालका अनुसार बिहान सवा १० देखि सवा ११ सम्म धर्ना दिइएको थियो ।