मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:३९:००
Read Time : > 1 मिनेट
सेयर बजार

नेप्से ओरालो लाग्ने क्रम जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:३९:००

साताको पहिलो दिन नेप्से ओरालो लागेको छ । नेप्से लामो समयदेखि निरन्तर ओरालो लागिरहेको छ । बजार विस्तार र सुधारका कार्य हुनुका साथै नाफामूलक वित्तीय विवरणले पनि बजारलाई टेवा दिन नसकेपछि लगानीकर्ता आत्तिएका छन् । फलस्वरूप, लगानीकर्ताहरू बजारमा टाढिन थालेको एक ब्रोकरले बताए । उनका अनुसार केही लगानीकर्ताहरूले सेयर बिक्री गरी बजारबाट बाहिरिसकेका छन् भने केही लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । यस दिन बजारमा खरिद चापको तुलनामा बिक्री चाप बढेको छ । सेयर बिक्रीकर्ता धेरै भए पनि बजारमा खरिदकर्ता नै नरहेको उनको भनाइ छ । 
बजार सारांश
आइतबार नेप्से परिसूचक १२ दशमलव शून्य ५ अंक घटेर १ हजार १ सय २७ दशमलव ५३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ४० अंक घटेर २ सय ४० दशमलव २१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ७८ अंक र फ्लोट इन्डेक्स शून्य दशमलव ९ अंक घटेको छ । यस दिन १ सय ६० कम्पनीको ५ हजार ५ सय ९२ पटकको कारोबारमा २३ करोड ५१ लाख ९४ हजार ८ सय ८३ रुपैयाँबराबरको ७ लाख ८२ हजार ४ सय ७७ कित्ता सेयर खरिद–बिक्री भएको छ । 
 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन २७ दशमलव ८१ स्केलमा पुगेको छ । यो ओभरसोल्ड जोन हो । यसले बजारमा सेयर खरिदको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ । 
एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव शून्य ८ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ६० कम्पनीमध्ये ११ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । १ सय २७ कम्पनीको सेयरमूल्य यस दिन घटेको छ भने बाँकी २२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 
यस दिनको पिभट विश्लेषण गर्दा, सोमबार नेप्से ओरालो लागे १ हजार १ सय २२ दशमलव १४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार ३१ सय ३६ दशमलव ४६ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय १६ दशमलव ७५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ४५ दशमलव ३९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।
 सेयरमूल्यमा न्यूनदरको फरक
यस दिन कारोबारमा आएका कम्पनीहरूको सेयरमूल्यमा धेरै परिर्वतन देखिएन । ११ कम्पनीहरूको सेयरमूल्य बढे पनि कुनै कम्पनीको वृद्धिदर २ प्रतिशतभन्दा बढी बढेन । यस दिन विजय लघुवित्त, सोल्टी होटेल, भार्गव विकास बैंक, कालिका लघुवित्त र रैराङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ । 
 होटेल समूहको  परिसूचक मात्र हरियो
यस दिन कारोबारमा आएका १० समूहमध्ये होटेल समूहको परिसूचक मात्र बढेको छ । सो समूहको परिसूचक यस दिन शून्य दशमलव ६९ प्रतिशत बढेको छ । कारोबारमा आएको जीवन बिमा समूहको परिसूचक सर्वाधिक २ दशमलव ७५ प्रतिशत घटेको छ । जलविद्युत् समूहको २ दशमलव २४ प्रतिशत, निर्जीवन बिमा समूहको २ दशमलव शून्य १ प्रतिशत, लघुवित्त समूहको १ दशमलव १ प्रतिशत र विकास बैंक समूहको परिसूचक १ दशमलव शून्य २ प्रतिशत घटेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ९५ प्रतिशत, अन्य समूहको शून्य दशमलव ७९ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६९ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव २८ प्रतिशत घटेको छ ।