मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अजित अधिकारी काठमाडौं
२०७७ पौष २७ सोमबार १०:११:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

तेल चोरीको घटना अनुसन्धान गर्न सिआइबीद्वारा निगमका कर्मचारी पक्राउ

Read Time : > 4 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ पौष २७ सोमबार १०:११:००

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल आयल निगमको वीरगन्जस्थित शाखा कार्यालयका अधिकृत रञ्जित काप्रीलाई नियन्त्रणमा लिएको छ । दुईवटा ट्यांकरमा फल्स चेम्बर राखेर तेल चोरी गरेको विषयमा अनुसन्धान गर्न सिआइबीले काप्रीलाई ६ दिनअघि नियन्त्रणमा लिएको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । उनले भने, ‘सिआइबीले तेल चोरीका विषयमा गहन अध्ययन गरिरहेको छ । त्यसक्रममा वीरगन्जस्थित शाखा कार्यालयका कर्मचारी काप्रीलाई नियन्त्रणमा राखेको जानकारी पाएको छु ।’  

सिआइबीको नियन्त्रणमा रहेका काप्री ट्यांकरको क्यालिब्रेसन (नापचाँज) सम्बन्धी काममा खटिएका थिए । फल्स च्याम्बर राखेर तेल चोरी गरेको पुष्टि भएपछि समातिएको ना७ख ३६९६ र ना७ख २९९५ नम्बरको ट्यांकर क्यालिब्रेसन गर्दा नापजाँच ठीक रहेको भन्दै निगमका तर्फबाट हस्ताक्षर गर्ने प्रतिनिधिका रूपमा उनी खटिएका थिए ।

दुवै ट्यांकरले च्याम्बरको भित्री भागमा सानो नयाँ ट्यांकी (फल्स चेम्बर) बनाई करिब १–१ हजार लिटर पेट्रोल चोरी गरेको घटना बाहिर आएको थियो । सिआइबीले यसअघि दुवै ट्यांकरका चालकद्वय सहोदर दाजुभाइ विकेश लामा र अजय लामालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ट्यांकरका चालक र क्यालिबे्रसनमा प्रत्यक्ष जोडिएका कर्मचारी समातिएपछि घटनाको वास्तविक दोषी पत्ता लाग्ने सिआइबीको विश्वास छ ।

 अनुसन्धान प्रभावित पार्न दौडधुप
विभागीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमति लिएर आयल निगमले नै घटनाबारे सूक्ष्म अध्ययन गर्न सिआइबीलाई पत्राचार गरेको थियो । निगमको पत्राचारलगत्तै सिआइबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा कर्मचारीहरू समातिन थालेपछि भने निगम व्यवस्थापन अतालिन थालेको छ ।

स्रोतका अनुसार बिहीबार दिउँसो प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, प्रबन्धक नवविनोद पोखरेल र कर्मचारी ट्रेड युनियनका अध्यक्षद्वय गोपालचन्द्र राई र विकास बखतीले भेट गरेका थिए । उनीहरूले भेटमा पेट्रोलपम्पलाई आधुनिक र अटोमेसनमा लैजाने योजना बनाएकाले प्रहरीको पम्पबाट सुरुवात गर्न आग्रह गरेका थिए । चालक र ढुवानी व्यवसायीलाई दोष देखाएर कारबाही गर्ने मनसाय राखेको निगम व्यवस्थापन कर्मचारीसमेत छानबिनमा तानिएपछि अतालिन थालेको स्रोतको भनाइ छ ।

यसअघि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरा, महासचिव विश्व अर्याललगायतको टोलीले उद्योगमन्त्री लेखराज भट्टलाई भेटेर सिआइबीको छानबिन रोक्न दबाब दिएका थिए । यता सिआइबीले भने राजमार्गमा चल्ने ट्यांकरहरूमा लिफ्ट माग्दै घटनाबारे अनुसन्धान गरिरहेको छ ।

‘चितवन, धादिङ, अमलेखगन्जलगायत राजमार्गमा सिआइबीहरू बस्ने र त्यहाँ आएका तेलका ट्यांकरमा चढेर काठमाडौं आउने गरेका छन् । यात्राका क्रममा चालक र सहचालकसँग तेल चोरीका विषयमा कुरा गर्ने र जुन चालक तथा सहचालकले चोरीका विषयमा धेरै कुरा जानेको जस्तो गरे बताउँछन्, उनीहरूबाट थप कुरा थुत्नका लागि समातेर नै लैजाने गरेका पनि छन् ।

 यस्तो थियो घटना
४ मंसिरमा भारतीय आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल बोकेर आएका दुईवटा ट्यांकर ना७ख ३६९६ र ना७ख २९९५ मा फल्स चेम्बर राखेर तेल चोरी भएको पत्ता लागेको थियो । दुवै ट्यांकरको ३ नम्बर चेम्बरसँग जोडिएर सानो ट्यांकी स्थायी रूपमा फिटिङ गरिएको छ ।

फिटिङ गरेको नयाँ चेम्बरमा तेल राख्ने, तर निगमको डिपोमा अनलोड गर्दा सो चेम्बरको तेल नखस्ने गरी डिजाइन गरिएको छ । यस्तो तेलको डिप रडले नाप लिँदा पनि सही परिमाण देखाउने गरेको छ । दुवै ट्यांकरको नाप लिँदा सही आउने, तर तेल खन्याउँदा पूरा नआउने भएपछि शंका लागेर निगमको थानकोट डिपो प्रमुख प्रदीप यादवले सुराकी खटाएका थिए । ‘सुरुमा सुन्दा त मलाई पनि पत्यार लागेन । तर, पछि दुवै ट्यांकरलाई एकैपटक समातेर छानबिन गर्दा फल्स चेम्बर नै राखी तेल चोरी हुने गरेको घटना देखियो,’ यादवले भने । चोरी घटना पत्ता लाग्नासाथ यादवले दुवै ट्यांकरलाई १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णयसमेत गरेका थिए । 

पेट्रोलियम पाइपलाइन  हरेक दिन सञ्चालन गरिने
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट हरेक दिन सञ्चालन गर्ने तयारी नेपाल आयल निगमले गरेको छ । अहिले सो पाइपलाइनबाट साताको तीन दिन मात्रै डिजेल आपूर्ति हुँदै आएको छ ।

नेपाल आयल निगमको आइतबार सम्पन्न ५१औँ वार्षिकोत्सवमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पूर्वाधारका क्षेत्रमा भएका कामलाई निरन्तरता दिएर टुंगोमा पुर्‍याउने बताए । उनका अनुसार डेढ वर्षअघिबाट सञ्चालनमा आएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट चाँडै पेट्रोलसमेत आयात गरिनेछ । त्यसपछि साताभर नै पाइपलाइन सञ्चालन गरी अधिकतम लाभ लिन सकिने पौडेलले बताए ।

त्यस्तै, अमलेखगन्जमा पाइपलाइनको दोस्रो चरणअन्तर्गत पेट्रोलको भण्डारणगृह, डिपो विस्तार गरी लोड–अनलोड सेड स्थानान्तरणलगायतका काम अघि बढाइने उनले बताए ।

पूर्व झापामा पेट्रोलियम तथा ग्यास भण्डारण, धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण, चितवनको लोथरमा सबैभन्दा ठूलो क्षमताको पेट्रोलियम भण्डारणगृह निर्माण, पोखरामा भर्टिकल ट्यांक निर्माण, पोखरा र भैरहवाको विमानस्थलमा हवाई इन्धन भण्डारणगृह निर्माणदेखि नेपालगन्जमा नमुना पेट्रोलपम्प बनाउने काम अघि बढाइएको उनले जानकारी दिए ।  कैलालीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि जग्गाको पहिचान गर्ने काम अघि बढाइरहेको उनले बताए ।

पछिल्लो दुई वर्षमा इन्धन अभाव हुन नदिएको बताउँदै उनले उपभोक्तामुखी सेवालाई प्राथमिकता दिएको बताए । विश्वले अँगालेको नवीन प्रविधिको हाइड्रोजन इन्धन उत्पादनका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको पनि उनले जानकारी दिए । त्यस्तै, इन्धन चुहावटमा संलग्नलाई कारबाही गरी पछिल्लो समय इन्धन चुहावट लक्षित नोक्सानी दरभन्दा तल नै राख्न सफल भएको उनले दाबी गरे । उनले तेल बोक्ने ट्यांक, ट्रकमा मेकानिकल लक लगाई चोरी घटनालाई कम गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भर्चुअल सम्बोधन गर्दै राष्ट्रको हितलाई ध्यानमा राखेर पेट्रोलियम कारोबार गर्न निर्देशन दिए । उनले पेट्रोलियम पूर्वाधार निर्माणका क्षेत्रमा अघि बढाएको परियोजना कार्यान्वयन गर्न सबै कर्मचारी अनुशासित भएर खट्न सुझाब दिएका थिए ।

‘आयल निगमले पेट्रोलियम पदार्थको निरन्तर आपूर्ति गरेर देश विकासका लागि बनेका ठूला र गौरवका आयोजना निर्माणमा ठूलो सहयोग गरेको छ,’ उनले भने । कार्यक्रममा निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले पेट्रोलियम पदार्थको गुणस्तरलाई ध्यान दिएर कारोबार गरिरहेको बताए । उनले निगमको डिपो सुधार गर्ने र भण्डारण क्षमता वृद्धि गर्ने काममा अघि बढेको बताए । ‘कोभिड–१९ का वेला अचानक लकडाउन भएको समयमा पनि खाना पकाउने ग्यासलगायतको आपूर्तिमा हामीले सहजता दिलाउन सक्यौँ, यसलाई उपलब्धि मानेका छौँ,’ उनले भने ।

पेट्रोलियम पदार्थमा चर्को नाफा राखेर अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्ने गरेको आरोपलाई उनले बचाउ गरेका छन् । ‘पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि सुरु गरेको स्वचालित मूल्य प्रणालीले राम्रो काम गरेको मैले महसुस गरेको छु,’ उनले भने । आपूर्ति व्यवस्था थप सहज बनाउन आयल निगम आफैँले ग्यासको कारोबार गर्न लागेको उनले बताए । सरकारको नीति तथा कार्यक्रममा समावेश भएका पेट्रोलियम पूर्वाधारसम्बन्धी सबै काम अघि बढाएको उनले जानकारी दिए ।

 समयअगावै पाइपलाइन निर्माण टुंग्याउने यादव पुरस्कृत
आयल निगमले ५१औँ वार्षिकोत्सवमा सबैभन्दा महत्वपूर्ण ‘सुवर्णशमशेर पुरस्कार’बाट इन्जिनियर प्रदीप यादवलाई सम्मान गरेको छ । उनले निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा रहेर मोतीहारी–अमलखेगन्ज पेट्रोलियम पाइपलाइन समयअगावै निर्माण टुंगो लगाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

निर्माण अवधि ३० महिना रहेको पाइपलाइन परियोजना १८ महिनामै टुंग्याइएको थियो । पाइपलाइनबाट डेढ वर्षयता निर्वाध रूपमा डिजेल आयात भइरहेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइपलाइन परियोजना निर्माणमा देखाएको कुशलताको मूल्यांकन गर्दै यादवलाई सम्मान गरेको बताए । यादव हाल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुखका रूपमा कार्यरत छन् । यहाँ रहँदा पनि पछिल्लो एक वर्षमा उनले डिपो सुदृढीकरणमा महŒवपूर्ण भूमिका खेलेको पौडेलले बताए ।