मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ पौष २६ आइतबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनगढी–अत्तरिया ६ लेन सडक  : थपिएको म्याद पनि सकियो, काम सकिएन

Read Time : > 2 मिनेट
२०७७ पौष २६ आइतबार १८:००:००

दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने एक अर्ब ६५ करोडको लागतको धनगढी–अत्तरिया ६ लेन सडक साढे तीन वर्ष बित्दा पनि अधुरै छ, तर निर्माण कम्पनीले एक अर्ब २३ करोड भुक्तानी लगिसकेको छ । 

प्रधानमन्त्री केपी ओलीले २४ पुसमा धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै देशभर विकास निर्माणका काम तीव्र रूपमा अघि बढिरहेको बताउँदै धनगढी–अत्तरिया ६ लेन सडकको उदाहरण दिए । प्रधानमन्त्री ओलीले विकासको उदाहरणका रूपमा प्रस्तुत गरेको यो सडकको भने बिजोग छ । दुई वर्षमा बन्नुपर्ने सडक साढे तीन वर्ष बितिसक्दा पनि अधुरै छ । 

कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक निर्माणको कामले थपिएको म्यादमा पनि पूर्णता पाउन सकेको छैन । निर्माण सम्पन्न गर्नुपर्ने समयावधिमा त काम पूरा भएन नै थपिएको डेढ वर्षमा पनि गति लिन सकेको छैन । साढे तीन वर्ष बितिसक्त्दा पनि ८० प्रतिशत मात्रै काम भएको छ ।

यो सडकको पहिलो खण्डमा थप गरिएको डेढ वर्षको अवधि ६ मंसिरमा सकिएको छ । दोस्रो र तेस्रो खण्डमा पनि २० महिना थपिएको समयावधि १५ माघमा सकिँदै छ । तर, अहिलेसम्म समग्र भौतिक प्रगति ८० प्रतिशत मात्र भएको आयोजना कार्यालयले जनाएको छ । दोस्रो र तेस्रो खण्डको काम पनि थप गरिएको अवधिमा सम्पन्न हुन नसक्ने देखिएको आयोजनाका इन्जिनियर लक्ष्मण रावलले बताए । 

अहिले पहिलो र दोस्रो खण्डमा ८५ प्रतिशत तथा तेस्रो खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । ‘हालसम्मको प्रगति हेर्दा ६ लेनको काम पूर्ण हुन अझै केही महिना लाग्ने देखिन्छ,’ इन्जिनियर रावलले भने, ‘काम अधुरै रहेकाले म्याद थपको प्रक्रिया अगाडि बढेको छ ।’

धनगढी–अत्तरिया १४.२ किलोमिटर सडकअन्तर्गत पहिलो खण्ड मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर, दोस्रो खण्ड बोराडाँडी–गेटा साढे चार किलोमिटर र तेस्रो खण्ड गेटा–अत्तरिया छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको छ । अझै सडक कालोपत्रेको काम नै सकिएको छैन । फुटपाथ र सर्भिस लेन निर्माण भने भर्खर सुरु भएको छ । 

सडकछेउमा रेलिङ राख्ने काम पनि अधुरै छ । नालीसहित दुई मिटर चौडा फुटपाथ र न्यूनतम साढे तीन मिटर चौडाइको सर्भिस लेन निर्माण गर्ने सम्झौता छ । तीनै खण्डमा पहिलो चरणको कालोपत्रेको काम सम्पन्न भए पनि दोस्रो चरणको कालोपत्रेको काम आधा मात्र सकिएको इन्जिनियर रावलले बताए । 

दुई चरणमा गरेर १० सेन्टिमिटर मोटाइको कालोपत्रे सडक बन्दै छ । ६ सेन्टिमिटर मोटाइको कालोपत्रेको काम सम्पन्न भएर अहिले दोस्रो चरणमा चार सेन्टिमिटर मोटाइको कालोपत्रे थप्ने काम भइरहेको छ । फुटपाथ र सर्भिस लेन निर्माणको काम पनि सुस्त छ । तीनवटै खण्डको काम दुई वर्षभित्र सक्ने सम्झौता थियो । तर, डेढ वर्ष थपिएको अवधि सकिँदा पनि निर्माणको गति सुस्त छ । पूर्व–पश्चिम राजमार्गको अत्तरियादेखि भारतीय नाका गौरीफन्टा जोड्ने भएकाले यो सडक यहाँको महत्वपूर्ण आयोजना हो । 

दोस्रोपटक म्याद थप्न माग
दुई वर्षमा सक्नुपर्ने काम साढे तीन वर्षसम्म पूरा नभएपछि निर्माण कम्पनी पुनः म्याद थपका लागि दौडधुपमा लागेका छन् । तीनवटै खण्डमा काम गरिरहेका निर्माण कम्पनीले म्याद थपका लागि आयोजना कार्यालयमा निवेदन दिएका छन् । गत मंसिरमा म्याद सकिनुअघि नै निवेदन दिए पनि पहिलो खण्डमा थप भइसकेको छैन । 

कोरोना भाइरसको महामारीका कारण केही समय काम गर्न नसकिएको भन्दै म्याद थप्नुपर्ने माग निर्माण कम्पनीले गरेका हुन् । तीनवटै खण्डमा असारसम्म म्याद थप्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गरिने आयोजना कार्यालयले जनाएको छ । ‘कोरोनाका कारण काम प्रभावित भएको थियो । त्यही आधारमा असारसम्म म्याद थप्न सिफारिस गर्छौँ,’ इन्जिनियर रावलले भने, ‘कति थप्ने भन्ने केन्द्रले निर्णय गर्ला ।’

म्याद सकिए पनि पहिलो खण्डमा ठेक्का पाएको शर्मा–अमर–नागार्जुन जेभीले काम जारी राखेको छ । यस्तै दोस्रो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे तथा तेस्रो खण्डको लामा–राजेन्द्र–डाँफेले काम गरिरहेका छन् । एक अर्ब ६५ करोडको लागतमा आयोजना निर्माण भइरहेको हो । निर्माण कम्पनीहरूले कुल लागतको करिब ७५ प्रतिशत अर्थात् एक अर्ब २३ करोड भुक्तानी लगिसकेका छन् ।