मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २६ आइतबार १७:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरले कार्तिक नाच अक्षय कोषलाई दियो ५० लाख 

Read Time : > 1 मिनेट
२०७७ पौष २६ आइतबार १७:००:००

ललितपुर महानगरपालिकाले तीन सय ७९ वर्ष पुरानो प्रसिद्ध कार्तिक नाचको संरक्षण र दिगोपनाका लागि अक्षय कोष खडा गर्न पचास लाख रुपैयाँ दिएको छ । 

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई एक समारोहबीच चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र समितिका अध्यक्ष चित्रकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यो नाच मल्लराजा सिद्धिनरसिंह मल्लले सुरु गरेका किंवदन्ती छ । कार्तिक नाच कात्तिक महिनामा देखाइन्छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले अक्षय कोषको लागि रकम हस्तान्तरण गर्दै अक्षय कोष स्थापनाले कार्तिक नाचको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरे । ‘अघिल्लो वर्ष मैले यही डबलीबाट यो नाचको अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने वचन दिएको थिएँ, आज त्यो पूरा भएको छ, त्यसैले म खुसी छु, कोषले नाचको संरक्षणमा सहयोग पुग्छ भन्ने विश्वास छ,’ उनले भने । 

महानगरपालिकाले मूर्त–अमूर्त सम्पदाको संरक्षण गर्न धेरै काम गरेको महर्जनले बताए । महानगरले पाटन दरबार क्षेत्रमा रहेको नरसिंह मन्दिरको निर्माणको योजनासमेत अघि सारेको उनले बताए । ‘व्यापारीहरूको आराध्यदेव भीमसेन मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ, देगु तलेजुको पनि पुनर्निर्माणको काम सुरु भएको छ,’ उनले भने । 

महानगरपालिका– १६ का अध्यक्ष निर्मलरत्न शाक्यले महानगरभित्रका सम्पदा र संस्कृति नेपालकै चिनारी भएको बताए । महानगरपालिका– १६ ले यसअघि नै कार्तिक नाचका लागि वडास्तरीय बजेटबाट १० लाख दिइसकेको छ । 

कार्यक्रममा नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले महानगरपालिकालाई धन्यवाद दिँदै अक्षकोषको रकम पाँच वर्षभित्र १० करोड पुऱ्याउने बताए । अक्षय कोष स्थापना भएपछि प्रत्येक वर्ष नाच सञ्चालनका खर्च जोहो गर्दै हिँड्नु नपर्ने धारणा राखे ।

कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले मूर्त र अमूर्त सम्पदा, कला, संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्न सकिने बताए । उनले यस कार्यका लागि बाेर्ड सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको धारणा राखे ।

पाटन संग्रहालयका प्रमुख सरस्वती सिंहले ललितपुरको कला, संस्कृति र सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित बनाएको बताइन् । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत अन्य सरोकारवाला निकायका  प्रतिनिधिको उपस्थिति थियो ।