मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २६ आइतबार १२:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटनविरुद्ध एकजुट हुन कृष्ण पहाडी र देवेन्द्रराज पाण्डेले गरे आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २६ आइतबार १२:३९:००

नागरिक समाजका अगुवा कृष्ण पहाडी र डा. देवेन्द्रराज  पाण्डेले प्रधानमन्त्री र राष्ट्रपतिले पदको दुरुपयोग गरी अलोकतान्त्रिक कदमका रूपमा संसद् विघटन गरेको भन्दै विरोध गरेका छन् । 

आज आइतबार संयुक्त रूपमा विज्ञप्ति निकालेर उनीहरूले यस्तो कदमले लोकतन्त्र, शान्ति र समृद्धि पक्षधर नेपालीलाई चिन्तित तुल्याएको जनाएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘अमूक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षाविरोधी र मुलुकको हितविपरीत छ । प्रतिगमनकै अंशसमेत देखिएको यो कार्य अमान्य छ ।’

उनीहरूले यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान जारी भई तीनै तहको निर्वाचन भएपश्चात् सर्वत्र सुशासनको अपेक्षा गरिएको थियो । मुलुकको राजनीतिक नेतृत्व त्यो अपेक्षामा खरो उत्रन नसकेको र भ्रष्टाचारका ठूला घटनाहरूको ढाकछोप र दण्डहीनताका कारणले पनि नागरिक आक्रोशित भएको सत्य हो ।’

साथै उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुलमुले चरित्र देखाएको भन्दै विरोध पनि गरेका छन् । 

‘आफूलाई लोकतान्त्रिक मूल्यमान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय बनेको छ, ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरूले राजनीतिक दलहरूलाई नागरिकमा देखिएको वितृष्णलाई अन्त्य गर्न पनि आग्रह गरेका छन् । 

साथै उनीहरूले असंवैधानिक तवरले गरिएको संसद्  विघटनको निन्दा गर्दै प्रतिगमनको षड्यन्त्र र चलखेललाई परास्त गर्न, जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, आधारभूत स्वतन्त्रता, मानव अधिकारलगायतका उपलब्धिहरूको रक्षार्थ एकजुट हुन सबै राजनीतिक दल, नागरिक समाज र समस्त नागरिकलाई आह्वान गरेका छन् ।