१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काई–फु ली
२०७७ पौष २६ आइतबार १०:२७:००
Read Time : > 4 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२१ प्रिन्ट संस्करण

एआई अर्थ–व्यवस्थालाई मानवीय स्पर्श जरुरी

Read Time : > 4 मिनेट
काई–फु ली
२०७७ पौष २६ आइतबार १०:२७:००
काई–फु ली कम्प्युटर वैज्ञानिक, उद्यमी तथा लेखक काई–फु ली सिनोभेसन भेन्चर्सका सिइओ तथा अध्यक्ष हुन्

आई (कृत्रिम बौद्धिकता)को आत्मसात्ले हामीलाई एउटा नयाँ समतामूलक सामाजिक सम्झौताका निम्ति सहयोग गर्न सक्छ – तर, त्यसअघि हामीलाई के कुराले मानव बनाउँछ भन्नेमा ख्याल राख्नुपर्छ ।

स्वचालन, रोबोटिक्स र कृत्रिम बौद्धिकताका प्रविधिहरूले मानिसका नियमित कामहरू गरिदिन थालेको वर्षाैँ भयो । उत्पादकत्व वृद्धि, लागत न्यूनीकरण र मानव सुरक्षाको आवश्यकताबाट अभिप्रेरित यो प्रवृत्तिलाई अहिलेको कोभिड– १९ को महामारीले अपूर्व रूपमा तीव्र गतिले बढाएर लगेको छ । एकाएक मानव सम्पर्क अवाञ्छनीय भएको छ । तर, मानिसमा हेलमेल हुने चाहना भने अभूतपूर्व रूपले बढेको छ ।

डेलिभरी कम्पनीहरू, प्लम्बरहरू र केही हदसम्म चिकित्सकीय सेवाप्रदायकले समेत सम्पर्करहित (जेरो–कन्ट्याक्ट)सेवालाई अहिले बढावा दिएका छन् । यद्यपि, हामी कसैसँग भेटघाट र सँगै खाना खान मौकाको भरपुर आनन्द उठाउँछौँ । एआई अर्थतन्त्रसँग साक्षात्कार गरिरहँदाँ सन् २०२० ले हामीलाई मानव सम्बन्ध (कनेक्सन)को महत्व सिकाइदिएको छ । 

जब म सन् १९८३ मा आफ्नो करिअर एआईमा सुरु गर्दै थिएँ, मैले कार्नेगी मेलोन विश्वविद्यालयमा पिएचडीका लागि गरेको आवेदनपत्रमा एआईलाई ‘मानिसको सोच्ने प्रक्रियाको परिमाणीकरण, मानव व्यवहारको अन्वेषण’ तथा आफैँलाई बुझ्ने ‘अन्तिम कदम’का रूपमा उल्लेख गरेको थिएँ ।

एक हिसाबले म गलत थिएँ, एक हिसाबले सही । एआई प्रोग्रामहरू थुप्रै काममा मानव मस्तिष्कको अनुकरण गर्न र कतिपयमा मानिसलाई उछिन्नसमेत सक्षम छन् । हामीलाई एआइले आफूलाई साँच्चिकै बुझ्न सहयोग गर्छ भने त्यो यसले हामीलाई हाम्रा नियमित कार्यहरूको यान्त्रिक अभ्यासबाट मुक्त गरेको कारणबाट हुनेछ, हामीलाई हामीबीचको आपसी कारुणापूर्ण सम्बन्ध (कनेक्सन) एवं मानवतामा केन्द्रित हुन दिएका कारण हुनेछ ।

हामीले बुझिसक्यौँ, एआईबाट प्रतिस्थापन भइरहेका अधिकांश रोजगारी अब कहिल्यै फर्किने छैनन्, किनकि एआईले ती काम मानिसले भन्दा धेरै राम्रोसँग र न्यून वा शून्य लागतमै गरिदिन्छ

हामीले बुझिसक्यौँ, एआईबाट प्रतिस्थापन भइरहेका अधिकांश रोजगारी अब कहिल्यै फर्किने छैनन्, किनकि एआईले ती काम मानिसले भन्दा धेरै राम्रोसँग र न्यून वा शून्य लागतमै गरिदिन्छ । यसले विशाल आर्थिक मूल्य उत्पन्न गर्नेछ, तर यो अभूतपूर्व रोजगारी विस्थापनका रूपमा पनि फलीभूत हुनेछ । मैले मेरो पुस्तक ‘एआई सुपरपावर्स : चाइना, सिलिकन भ्याली एन्ड द न्यु वल्र्ड अर्डर’मा सन् २०३३ सम्ममा एआई र अटोमेसन हाम्रा ४० देखि ५० प्रतिशत कामका लागि सक्षम बनिसक्ने आकलन गरेको छु ।

करोडौँ रोजगारी विस्थापनका लागि तयार हुन र एआई हाम्रो सहकर्मी एवं उपकरण दुवै बन्ने अवस्थामा आवश्यक पर्ने नयाँ सीपका निम्ति प्रशिक्षित हुन म तीनवटा ‘आर’– रिलर्न, रिक्यालिब्रेट र रेनेसा ( )को प्रस्ताव गर्छु । यो समयको मूल आर्थिक मुद्दा अर्थात् एआई क्रान्तिलाई कसरी आत्मसात् गर्ने भन्ने सवालमा यी तीन आरको महत्व हुनेछ । यसबाट भावी एआई प्रेरित अर्थ–व्यवस्थाको परिकल्पना गर्न सक्छौँ । 

पहिलो काम, संकटापन्न रोजगारीका बारेमा मानिसहरूलाई सचेत गराउने र उनीहरूलाई आफ्नो क्षेत्रमा एआईको सन्दर्भमा प्रशिक्षित गर्ने कार्यक्रमहरू स्थापित गर्नु हो । सम्भवतः यो सबभन्दा सजिलो काम पनि हो । यहाँनेर सुखद समाचार के छ भने सिर्जनात्मक काममा, सामाजिक अन्तरक्रियामा, शारीरिक रूपले गर्नुपर्ने जटिल एवं मौलिक कामहरू र एआई उपकरणहरू सञ्चालनजस्ता काममा एआईले निपुणता प्राप्त गर्न कठिन छ । यस्ता थुप्रै मानव सीप तिनले लिन सक्ने छैनन् । 

व्यावसायिक तालिम दिने भोकेसनल स्कुलहरूले मानिसका लागि दिगो हुन सक्ने कामबारेका कोर्सहरूमा विस्तार गर्न आफ्ना पाठ्यक्रमहरू पुनर्डिजाइन गर्न जरुरी छ । सरकारले ती कोर्सहरूलाई अनुदान एवं प्रोत्साहन दिएर अगाडि बढाउन सक्छन् । कम्पनीहरूले पनि यस्ता कार्यक्रमहरू उपलब्ध गराउन सक्छन् । सरकारले सार्वभौमिक न्यूनतम आयजस्ता बृहत् आर्थिक उपायहरूको अन्धाधुन्ध अनुसरण गर्नुभन्दा यसो गर्नु उत्तम हुन्छ । यसका लागि कम्पनीहरूले पनि अमेजनले जस्तै करिअर च्वाइस कार्यक्रम सञ्चालन गर्न सक्छ । अमेजनको यो कार्यक्रमले कार्यघन्टामा आधारित आफ्ना कर्मचारीलाई एयरक्राफ्ट मेकानिक्स, कम्प्युटर डिजाइन एवं नर्सिङजस्ता उच्च मागयुक्त पेसामा डिग्री हासिल गर्न चार वर्षसम्मका लागि वर्षको १२ हजार डलरसम्म तिरिदन्छ ।

सांघाईमा आयोजना भएको सन् २०२० को विश्व आर्टिफिसियल कन्फरेन्समा एक स्टाफ र एक रोबोट । तस्बिर : एली सङ/रोयटर्स​​​​​​

महामारी होस् वा नहोस्, नर्सिङजस्ता मानव–केन्द्रित सेवामा रोजगारीको संख्या र महत्व मानिसको आम्दानी र आयुको वृद्धिसँग बढ्दै नै जाने हो । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा हामीलाई संयुक्त राष्ट्रसंघले तय गरेको ‘सबैका निम्ती राम्रो स्वास्थ्य एवं दीर्घायु’को दिगो लक्ष्य हासिल गर्न एक करोड ८० लाख स्वास्थ्यकर्मी अपुग हुने प्रक्षेपण गरेको छ । अहिलेसम्म अवमूल्यन गरिएको मानव–केन्द्रित सेवाहरूलाई हेर्ने दृष्टिकोण र दिइने पारिश्रमिक दुवैको पुनः गम्भीर लेखाजोखा गर्न आवश्यक छ । यी काम(जब्स)ले नै एआई अर्थतन्त्रको आधारशिला तयार गर्नेछ, जहाँ मानिसहरूले बेकार रहनुपर्ने छैन ।

एआई सञ्चालित अर्थतन्त्रतर्फको संक्रमणका निम्ति हामीले मानिसहरूलाई तयार गरिरहँदा अहिलेका अधिकांश रोजगारीलाई रिक्यालिब्रेट गर्नु पनि आवश्यक हुनेछ । केही दशकअघि सफ्टवेयरले गरेजस्तै, कम्प्युटरको विशाल तथ्यांक (डाटा) मथेर विश्लेषण गर्ने, विकल्पहरूको परिकल्पना एवं नतिजाहरूको अनुकूलन गर्ने अथक् क्षमता उपयोग गरेर एआईले मानिसको रचनात्मक सोचलाई अझ विस्तारित गराउन सघाउन सक्छन् ।

अब एकल वा जेनरिक एआई उपकरणभन्दा पनि प्रत्येक पेसा र कामका निम्ति अनुकूल विशिष्ट एआई उपकरणहरू हुनेछन् । हामीसँग औषधि अनुसन्धाताका लागि एआईमा आधारित मोलिक्यु जेनेरेसन प्रोग्राम हुन सक्नेछ । मार्केटिङका निम्ति एआई एडभरटाइजिङ प्लान अनि पत्रकारका लागि एआई फ्याक्ट–चेकर उपकरण हुनेछन् ।

एआई अप्टिमाइजेसन र मानव स्पर्शको मर्जरबाट थुप्रै काम पुनरआविष्कार र अझ धेरै काम सिर्जना हुनेछन् । एआईले मानिसका नियमित कामहरूको ख्याल राख्नेछ, मानिससँगको सहकार्यमा मानवतायुक्त कार्यहरू पूरा गर्नेछ । उदाहरणका लागि, भविष्यका डाक्टरहरू अझै पनि बिरामीको सम्पर्कमै हुनेछन्, तर ती उत्कृष्ट उपचार निर्धारण गर्न एआईयुक्त रोग निदान उपकरणमा निर्भर हुनेछन् । यसले डाक्टरहरूलाई आफ्ना बिरामीका लागि प्रशस्त समय छुट्याउन सक्ने अवसर दिनेछ र डाक्टरको भूमिकालाई करुणावान चिकित्सक (केयरगिभर)मा बदल्दिनेछ ।

एआई अप्टिमाइजेसन र मानव स्पर्शको मर्जरबाट थुप्रै काम पुनःआविष्कार र अझ धेरै कामहरू सिर्जना हुनेछन् । एआईले मानिसका नियमित कामहरूको ख्याल राख्नेछ, मानिससँगको सहकार्यमा मानवतायुक्त कार्यहरू पूरा गर्नेछ ।

मोबाइल इन्टरनेटले उवर ड्राइभरमा भूमिका निभाएजसरी नै एआईको आगमनले अहिले हामीले परिकल्पनै गर्न नसक्ने कामहरू सिर्जना गरिदिनेछ । उदाहरणमा अहिलेका एआई इन्जिनियर, डाटा साइन्टिस्ट, डाटा लेबलर्स एवं रोबोट मेकानिक्सहरूलाई लिन सक्छौँ । यस्ता के–कस्ता कामहरू उद्भव हुन्छन् त्यो हेरेर मानिसहरूलाई सजग बनाउने र त्यसका निम्ति उनिहरूलाई तयार गर्न तालिम दिनुपर्छ ।

अन्तिममा, इटालीका सम्भ्रान्त सहर र व्यापारीहरूले मुलुकको पुनर्जागरण (रेनेसाँ)मा योगदान गरेजसरी नै एआईले पनि आफ्नो पुनर्जागरणलाई आफैँ उत्प्रेरित गर्छ भन्ने हामीले अपेक्षा राख्नुपर्छ । नयाँ अर्थतन्त्रका थुप्रै काम एवं कर्तव्य मेसिनले लिइरहँदा एआईले काम गर्ने परम्परागत ढाँचामा लचिलोपन प्रेषण गर्नेछ । र, हामीलाई कामबाट अवकाश लिने तथा वर्क–लाइफबीच सन्तुलनमा पुनर्विचार गर्न र कति दिन काम गर्नेजस्ता कुरामा रूपान्तरण ल्याउने अनुमति दिनेछ । अहिलेभन्दा अधिक स्वतन्त्रता र फुर्सद हुने त्यस्तो नयाँ सम्झौताअन्तर्गत मानिसहरू आफ्नो अभिरुचि (प्यासन), सिर्जनशीलता र प्रतिभा निखार्न र पछ्याउन थप स्वतन्त्र हुनेछन् । साथै, त्यस निजत्वको अन्वेषणले उनीहरूको करिअरमा अभूतपूर्व रूपले योगदानसमेत गर्नेछ ।

चित्रकार, मूर्तिकार र फोटोग्राफरहरूले आफ्नो कलाकर्ममा निखार ल्याउन, अझ परिष्कृत गर्न, कम्पोज गर्न, एक्सपेरिमेन्ट गर्नमा एआई उपकरण प्रयोग गर्न सक्नेछन् । उपन्यासकार, पत्रकार र कविहरूले नवीन प्रविधिहरूको उपयोग आफ्नो लेखनलाई पहिले नसोचिएको दिशामा लैजान सक्नेछन् । उत्तरपुस्तिका जाँच्नेजस्ता कागजी कामबाट मुक्ति पाउँदा शिक्षकहरूले आफ्नो ऊर्जालाई उत्सुकता, चाख, समालोचनात्मक सोच एवं सिर्जनशीलतालाई प्रोत्साहित गर्नेखालका पाठहरू तयार गर्नमा लगाउन पाउनेछन् । एआई प्रोग्रामहरूले फ्याक्ट्स एन्ड फिगर्स पढाउन सहयोग गर्नेछ र शिक्षकहरूले विद्यार्थीको भावनात्मक बौद्धिकता विकासमा अधिक समय दिन पाउनेछन् ।

यी तीन आरले मानवताका लागि एक अद्वितीय अनुक्रमहरूको प्रतिनिधित्व गर्छन् । कम्पनीहरूले ठूलो संख्यामा विस्थापित कामदारहरूलाई पुनर्प्रशिक्षित गर्नुपर्नेछ । सरकारहरूले यस परिवर्तनतर्फको संक्रमणका निम्ति ठूलो रकम–राशि जुटाउन र त्यसको पुनर्वितरण गर्नुपर्ने हुन्छ । सिर्जनात्मक, सामाजिक तथा बहुविधागत ग्र्याजुएटहरू उत्पादन गर्न शिक्षालयहरूले शिक्षालाई अनुकूल बनाउनुपर्ने हुन्छ । हरेक कुरा पुनर्परिभाषित हुनैपर्छः समाजको वर्क इथिक (कामसम्बन्धी नैतिक मूल्य–मान्यता), नागरिकको परिभाषा, कम्पनीहरूको दायित्व, सरकारको भूमिका सबैको । 

यी सबमा, एआई प्रविधिहरूको भूमिका महत्वपूर्ण हुन्छ । हामीले सही ढंगले निर्वाह गर्‍यौँ भने एआईले हामीलाई हाम्रो सिर्जनशीलता र एक–अर्काप्रति अनुरागलाई अँगाल्न मात्रै दिनेछैन, मानवतालाई आत्मसात् गर्ने स्वतन्त्रता पनि दिनेछ ।