१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २६ आइतबार ०९:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से नयाँ उचाइमा, २२ सयमा सामान्य प्रतिरोध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २६ आइतबार ०९:२६:००

गत साताभरमा नेप्से परिसूचक १ सय ७ दशमलव २१ बिन्दुले वृद्धि भएको छ । सातामा २ दिन घटेको सेयर बजारले पछिल्ला दुई दिनमा लगातार नयाँ उचाइ बनायो । सेयर बजार उच्च बिन्दुमा रहँदा कारोबार रकम सातागत आधारमा पुनः बढ्न थालेको छ । अघिल्लो साता ३४ प्रतिशतले कारोबार रकम घटेकोमा गत साता करिब २० प्रतिशतले बढेको छ । साताभरमा २७ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा दैनिक औसत कारोबार रकम ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । 

साताभरमा व्यापारमूलक, निर्जीवन बिमा, अन्य समूहगत परिसूचकमा सबैभन्दा धेरैले वृद्धि भएको छ । कारोबार रकमका आधारमा पनि निर्जीवन बिमा, वित्त, विकास बैंकमा वृद्धि भएको छ । कम्पनीहरूमा नेपाल लाइफ र नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भएको हो । कम्पनीहरूको क्रमशः १ अर्ब ६१ करोड र १ अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच भएको हो । 

बैंकहरूले अझै ब्याजदर घटाइरहेकाले यसको लाभ केही समय सेयर बजारलाई पुग्ने देखिन्छ । प्राविधिक विश्लेषणहरूले भने नेप्सेले २ हजार २ सयको बिन्दुमा सामान्य प्रतिरोध पाउने सम्भावना छ । केही दिनअघि नेप्सेले यसैमा सामान्य प्रतिरोध पाएको थियो । 

नेप्सेको मैनबत्ती चित्रले पनि केही समय बजार बुलिस प्रवृत्तिमै रहे पनि तत्कालै उच्चदरमा बढ्न समय लाग्न सक्ने देखाउँछ । नेप्सेले पछिल्ला दिनमा सामान्य दरमा बढे पनि गत सोमबारको उचाइ २ हजार २ सय १६ बिन्दुलाई नाघ्न सकेको छैन । त्यसैले पहिलो दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ । 

७ दिने र २१ दिने मुभिङ एभरेज रेखाभन्दा माथि नै नेप्से परिसूचक रहेको, ७ दिने रेखा २१ दिनेभन्दा दूरीसहित माथि रहेकाले बजार अहिलेसम्म बुलिस प्रवृत्तिमै रहेको संकेत गर्छ ।यसैबीच शुक्रबारबाट निष्कासन खुला भएको चन्द्रागिरि हिल्सको सेयरमा मागभन्दा ३ गुणा बढी आवेदन परेको छ । १५ लाख ३४ हजार कित्ता (१५ करोड ३४ लाख) माग गरेकोमा कम्पनीमा २ लाख ३१ हजारभन्दा बढी आवेदकले ४७ लाख ९६ हजार कित्ता माग गरेका हुन् । कम्पनीको सेयर गोलाप्रथाबाट बाँड्नुपर्ने सम्भावना देखिएको छ ।