मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ पौष २६ आइतबार ०८:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ग्रान्डी भिल्लामा दम्पतीको रहस्यमय मृत्यु, विभिन्न कोणबाट अनुसन्धान हुँदै  

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ पौष २६ आइतबार ०८:०६:००

टोखाको ग्रान्डी भिल्ला नामक हाउजिङमा बस्दै आएका एक दम्पती मृत अवस्थामा भेटिएको घटना रहस्यमय बनेको प्रहरीले जनाएको छ ।  उमेश केसी र उनको श्रीमती सुदीक्षा गिरी शुक्रबार घरभित्र मृत भेटिएका थिए ।  

केसी आफ्नो बेडरुममा लडिरहेको अवस्थामा तथा सुदीक्षाको शव झुन्डिएको अवस्थामा भेटिएको थियो । उमेशको टाउकोबाट रगत बगेको र शवनजिकै रगत लागेको सिलौटोसमेत भेटिएको प्रहरीले जनाएको छ । सुदीक्षाको शव भर्‍याङको रेलिङमा सलले पासो लगाएको अवस्थामा भेटिएको थियाे । भाडाको घरमा दुईजना मात्र बस्दै आएका थिए। 

आफन्तबाट खबर आएपछि शुक्रबार बेलुका  करिब नौ बजे प्रहरी घटनास्थल पुगेको थियो । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले घटनास्थलको मुचुल्का उठाएको छ । घरको मूल ढोका बन्द रहेको र पछाडिको ढोकाको लक तोडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सुदीक्षाकी दिदी सो ढोकाबाट घरभित्र प्रवेश गरेको आशंका गरिएको छ । घटनापछि उनी घरमा पुगेको बताइएको छ । 

अमेरिका बस्दै आएका उमेश दसैँमा नेपाल आएका थिए । ग्रिनकार्ड होल्डर उनी एक सातापछि अमेरिका फर्कने तयारीमा थिए । सगुनलगायत विभिन्न कम्पनीमा उनको लगानी रहेको पारिवारिक स्रोतले जनाएको छ । 

‘प्रारम्भिक रूपमा हेर्दा घटना श्रीमान्–श्रीमतीको झगडाको परिणाम हो कि जस्तो देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तैपनि अहिले नै यही नै कारण हाे भन्न सक्ने अवस्था छैन ।’ दुवै मृतकको शव अस्पताल लगिएको र पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्ट बताउँछन् । 

घटना रहस्यमय भएको परिवारले बताएपछि शनिबार दिउँसो पनि प्रहरी टोली घटनास्थल पुगेर फेरि अवलोकन गरेको थियो । मृतकको अन्तिम समयमा को–कोसँग सम्पर्क भएको थियो बुझ्न प्रहरीले उनीहरूको मोबाइल परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।