१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : प्रदीपराज वन्त/रासस
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २६ आइतबार ०६:०१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वप्रधानन्यायाधीशहरूलाई प्रधानमन्त्रीको चेतावनी ‘सर्वोच्च अदालतलाई अलमल्याउने, धम्क्याउने काम नगर्नुस्’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २६ आइतबार ०६:०१:००

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतलाई अलमल्याउने र धम्क्याउने काम बन्द गर्न पूर्वप्रधानन्यायाधीशहरूलाई चेतावनी दिएका छन् । चार पूर्वप्रधानन्यायाधीशले संसद् विघटन गर्ने कदममा संविधानको कुनै धारणा आकर्षित नहुने संयुक्त विज्ञप्ति जारी गरेको अर्को दिन प्रधानमन्त्री ओलीको जवाफी धम्की आएको हो । 

‘एकपटक अदालतमा जागिर खाएको केही मान्छेले पोहोर–परार अहिले पनि जागिरमै छु जसरी यस्तो हुन्छ र उस्तो हुन्छ भनेर बोल्छन् । म उहाँहरूलाई भन्न चाहन्छु, सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेका मान्छेहरूले सर्वोच्च अदालतलाई खुला ढंगले प्रभावित पार्ने, गुमराहमा पार्ने, अलमल्याउने, धम्क्याउने काम गर्न सुहाउँदैन, त्यस्तो काम बन्द गर्नुस्,’ शनिबार युवा संघले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरूमध्ये चारजनाको समूहले शुक्रबार प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले सर्वोच्च अदालतले पुनस्र्थापनाको पक्षमा फैसला गर्नुपर्ने आशयसहित जारी गरेको वक्तव्यबारे पक्ष–विपक्षमा सार्वजनिक बहस चलिरहेका वेला प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

अहिले कतिपय मानिसले संसद् विघटनलाई सडकबाटै फैसला दिएर स्वतन्त्र न्यायपालिका र लोकतन्त्रमाथि नै चुनौती दिन खोजेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्तो धम्क्याउने काम बन्द गर्नसमेत चेतावनी दिए । संसद् विघटनसम्बन्धी रिट पूर्ण इजलासमा लैजानुपर्ने मागमा पनि प्रधानमन्त्री ओलीले आपत्ति जनाए । 

‘अहिले केही अजासु (अति जान्ने–सुन्ने) निस्किएर संवैधानिक इजलासबाट हुँदैन भनेर सडकबाटै फैसला दिन खोजिरहेका छन् । संवैधानिक इजलासबाट हुँदैन भनेर कुन संविधानमा छ ? संविधानमा त संवैधानिक इजलास छ । उहाँहरूले जे भन्यो त्यही हुनुपर्ने, जुन इजलास भन्यो त्यही हुनुपर्ने, जे फैसला माग्यो त्यही फैसला गर्ने हो भने अदालत किन चाहियो ?’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘एउटा वकिल अदालतविरुद्ध सिंहजस्तै गर्जिएर वर्तमान र भविष्य सम्झिएर फैसला गर्नु भनेर न्यायाधीशलाई अर्ती–उपदेश दिन्छ । के भन्न खोजेको ? किन धम्क्याउन खोजेको ? म भन्न चाहन्छु, सम्मानित स्वतन्त्र न्यायपालिकाको कदर गर्न सिकौँ । कदर गरेर जाऊँ ।’

प्रधानमन्त्रीले झन्डै दुईतिहाइ ६४ प्रतिशत बहुमत हुँदाहुँदै सरकार र संसद् दुवैलाई काम गर्न नदिएपछि अन्तिम विकल्पका रूपमा विघटनका लागि बाध्य भएको दाबी गर्दै पुनस्र्थापनाले जनमतकै अपमान गर्ने गरी फेरि मुलुकलाई सरकार बनाउने र ढाल्ने अस्थिरताको दुष्चक्रमा लैजाने खतरा रहेको पनि औँल्याए । संविधानसम्मत ढंगले विघटन भएकाले ३६ प्रतिशत सांसदले बहुमत पुर्‍याएर अर्को सरकार बनाउने पुनस्र्थापित संसद्बाट सम्भव नभएको जिकिर गर्दै तोकिएकै मितिमा चुनाव भएरै छाड्ने दाबी पनि दोहोर्‍याए ।

‘सुकेका रूखले फल दिन्छ भनेर हुन्छ ? पाइराखेको सुविधा अझै डेढ–दुई वर्ष खाऊँ भनेको हो कि, अब पनि कुहिएका फललाई रूखमै टाँस्न खोजेर हुन्छ ? त्यो भ्रम हो । चुनाव हुन्छ, त्यसैले चुनाव ०७८ सालको वैशाख १७ गते शुक्रबार र वैशाख २७ गते सोमबार, कोही पनि भ्रममा पर्न जरुरी छैन ।’ उनले चुनावी माहोल तयारी गर्ने गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिए । 

‘केपी ओली जेल–नेल बसेर अनेकपटक मर्दै–बाँच्दै फर्किएर आएको लोकतन्त्र मास्नका लागि होइन, लोकतन्त्रको रक्षा गर्नका लागि हो । चुनाव हुन्छ, एक दिन तलमाथि पर्दैन, साथीहरू चुनावको माहोल तयार गर्नुस्, चुनावमा जानुस्, आँधीबेहरी सिर्जना गर्नुपर्छ, चुनावी माहोलहरूको सिर्जना गर्नुपर्छ,’ उनले भने ।

जनयुद्ध लडेकाहरूले प्रचण्ड छाडे, नारायणकाजी गोटी खेल्ने मान्छे, माधव मौका छोपेर पद पाउने मान्छे

प्रधानमन्त्री ओलीले ०५२ देखि जनयुद्ध लडेकाहरूले प्रचण्डलाई छाडिसकेर व्यक्तिगत स्वार्थका लागि लाग्नेहरू मात्रै बाँकी रहे पनि उनले भविष्यवाणी गरेको सुन्दा माया लाग्ने गरेको बतााए । 

‘मैले अस्ति निदाउरो मुख लगाएर प्रचण्डले बोलेको सुने । वैशाखबाट केपी ओली राजनीतिबाटै सिध्दिन्छ । अलि समय काम गरेकाले माया पनि लाग्दोरहेछ । उहाँको साथमा अब हिजो जनयुद्ध लडेकाहरू को छ अब ? सबै सिध्यिए । नारायणकाजी कुनै जनयुद्ध लडेका मान्छे हुन् ? यताको गोटी उता सार्‍यो, उताको गोटी यता सार्‍यो अनि । आज को छ उहाँसँग ?’ जनयुद्धका आर्किटेक्ट रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहितका प्रभावशाली नेता तथा जनयुद्धका थुप्रै कमान्डरहरूले नै आफूलाई साथ दिएको उनको संकेत थियो । 

त्यस्तै, उनले प्रचण्डको सबै प्रयास र भविष्यवाणी अहिलेसम्म आफूले असफल पार्दै आएकाले यसपटक पनि त्यस्तै अवस्था आउने पनि ठोकुवा गरे । ‘तिनका भविष्य कति ठाउँ खेर गए ? महान् जनयुद्ध फर्सी कुहिएजस्तो कुहियो । नेपाली जनतालाई जातजाति, भूमि–भूमिमा फुटाउन खोजे, दिइएन । पहिचानको राजनीतिका नाममा देश टुक्र्याउने राजनीति असफल भयो । विखण्डनवाद वार्ता गरेर समाधान गर्‍यौँ, उनीहरू छाती पिटेर रोए । चीनतिर नाका खोलेर पारवहन सम्झौता गर्‍यौँ, आत्तिएर प्रधानमन्त्रीबाट हटाउन खोजे, असफल बनाइयो,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले अर्को समूहका अध्यक्ष माधवकुमार नेपालप्रति पनि कटाक्ष गरे । ‘माधव नेपालजी मदन भण्डारीको निधन भएकाले महासचिव बने, मैले छाडिदिएकाले अध्यक्ष भए । मान्छे त जो जतिवेला पनि मर्न सक्छ, कस्तो चिताउन सकेको होला । मैले जतिपटक अपरेसन गर्न गएको छु, उहाँको कहिले उज्यालो नहुने चेहरा त्यतिवेला उज्यालो देखिए, तन्दरुस्त भएर फर्किएपछि उस्तै,’ उनले भने, ‘उहाँ त्यसैगरी बन्नुभएको हो । दुई–दुई ठाउँबाट चुनाव हारेपछि प्रधानमन्त्री, अरूले छोडिदियो भने अध्यक्ष, मौका छोपेर, भल छोपेर हुने मान्छे ।’