मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २५ शनिबार ०८:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवामा भित्रियो फुजी स्याउ, यसै वर्षबाट उत्पादन थाल्ने

Read Time : > 1 मिनेट
२०७७ पौष २५ शनिबार ०८:५९:००

मनाङ र जुम्लामा उत्पादन भइरहेको फुजी प्रजातिको स्याउ अब रसुवामा पनि उत्पादन हुने भएको छ । एक वर्षअघि इटालीबाट गोसाइँकुण्ड गाउँपालिका–५, ब्राबलमा ल्याइएको फुजी प्रजातिको बिरुवाबाट यो वर्षदेखि उत्पादन हुने भएको हो । अन्य जातको स्याउभन्दा मीठो र बजारमा महँगोमा मूल्यमा बिक्री हुने भएकाले कृषक फुजी स्याउखेतीतर्फ आकर्षित भएका हुन् ।

रसुवाको गोसाइँकुण्ड–५, ब्राबलमा ११ हजार ७ सय बिरुवा लगाइएको छ । अहिले फुजी र बाला जातको स्याउ उत्पादन दिने अवस्थामा पुगेको स्थानीय कृषक ढिण्डुप तामाङले बताए । बागमती प्रदेश सरकारको ७९ लाख लगानीमा दुई जातका बिरुवा लगाइएको हो । 

रसुवामा गोल्डेन र रेड डेलिसियस स्याउ विगत तीन दशकदेखि उत्पादन हुँदै आएको छ । तर, रूख बुढो हुने रोगका कारण फल सानो लाग्ने, कुहिएर झर्ने तथा स्याउमा अमिलोपना बढ्नेजस्ता समस्या थिए । २२ सय मिटरको उचाइमा विगतमा चिराइतो खेती गरी दिगो गाउँको नाममा समेत चिनिएको ब्राबल गाउँ फुजी गाउँका रूपमा चिनिन थालेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने यो स्थानमा किसानले लगाएको अन्नबाली जंगली जनावरले खाएर हैरानी व्यहोरेका किसानहरूले जंगली जनावरले नाश नगर्ने चिराइतो खेती गर्दै आएका थिए । हाल यो स्याउको खेती गोसाइँकुण्ड गाउँपालिका–५, ब्राबलका १६ घर किसानले १ सय ७० रोपनी जमिनमा सामूहिक खेती गरेका छन् । ५० प्रतिशत अनुदान भएकाले स्थानीयले ठूलो रकम लगानी गर्नुपर्ने हुँदा आर्थिक भार परेकाले अनुदान रकम ७५ प्रतिशत बनाइदिन किसानहरूले मागसमेत गरेका छन् ।

ठूलो स्याफ्रु हुँदै लाङटाङ तथा गोसाइँकुण्ड यही पदमार्गबाट जान सकिने भएकाले स्याउ फल्ने समयमा आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्दै आनन्द लिन सक्ने भनाइ किसानहरूको छ ।

सामान्यतया रसुवामा स्थानीय जातका स्याउका बिरुवा लगाएको ५ वर्षपछि मात्र उत्पादन दिने गर्छ । तर, फुजी स्याउ लगाएको एक वर्षपछि नै उत्पादन दिने भएपछि किसानहरूको आकर्षण यो स्याउमा बढेको हो । इटाली र स्पेनलगायतका देशमा पाइने फुजी स्याउको बिरुवा नेपालमा पाइने बिरुवाभन्दा १० गुणा महँगो पर्छ ।

पाखो र भिरालो जमिनमा पनि स्याउ उत्पादन गर्दै आएका रसुवाका किसानहरूले केही समथर र पानी भएको ठाउँमा मात्र फल्ने यो फुजी जातको स्याउको उत्पादन बढाउन सके किसानहरूको आम्दानी बढ्ने देखिएको छ ।