मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सी.एल. गेबर (गेबर लस भेगसमा बसेर लेख्ने स्तम्भकार हुन्)
२०७७ पौष २४ शुक्रबार २१:१०:००
Read Time : > 3 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२१ डिजिटल संस्करण

केका लागि कानुन तोड्न पनि पछि परिँदैन ?

Read Time : > 3 मिनेट
सी.एल. गेबर (गेबर लस भेगसमा बसेर लेख्ने स्तम्भकार हुन्)
२०७७ पौष २४ शुक्रबार २१:१०:००

मानिस विभिन्न कारणले नियम–कानुन तोड्छन् । केहीले मायाका लागि कानुन तोड्छन् भने कहिले न्यायका लागि । कहिलेकाहीँ हामी विचारलाई परिष्कृत गर्न पनि नियमका सीमा तोड्छौँ । त्यो भनेको यथास्थितिमा क्रमभंग गर्न पनि नियम तोडिन्छ । खासमा धेरै नियमकानुन तोड्नकै लागि लागू भएजस्तो पनि देखिन्छ । यो वर्षको सुरुमा हामीले केही टेलिभिजन तथा फिल्म स्टारलाई यही प्रश्न दोहोऱ्यायौँ– केका लागि कानुन तोड्न पनि पछि परिँदैन ? तिनले दिएको जवाफलाई तल प्रस्तुत गरिएको छ । स्पष्टताका लागि तिनलाई केही छोट्याउने र सम्पादन गर्ने काम गरिएको छ ।

जोन डेभिड वासिङ्टन

कानुन तोड्ने सम्बन्धमा तपाईंसँग राम्रा दृष्टान्त भइदिए भने तपाईंलाई कानुन तोड्न सजिलो हुन्छ । मेरा मातापिताले सानो छँदा त्यस्ता उदाहरण तय गरिदिएका थिए । उनीहरू नियमबद्ध चल्थे, तर आवश्यकता पर्दा ती नियम तोड्न पछि पर्दैनथे । मेरा पिता डेन्जेल वासिङ्टनले शक्तिशाली कथामाथि प्रकाश पार्न र तिनमा आफ्नो छाप छोड्न कडा मिहिनेत गरे । सानो छँदा बुबा मलाई स्पाइक लीजस्ता आमपरम्परा नमान्ने मानिसको फिल्म सेटमा लिएर जान्थे । स्वच्छन्द प्रकृतिका अर्का उदाहरण लीले पनि नयाँ हिसाबले काम गर्दै आफू वरपरका मानिसलाई सशक्त बनाए । बालक छँदा मलाई लीको निर्देशनमा बनेको ‘माल्कोम एक्स’ फिल्मको सेटमा टहलिएको सम्झना आउँछ । फिल्मको एक दृश्यमा मैले पनि अभिनय गरेको छु, जहाँ धेरै बालबच्चा उभिएर ‘आई एम माल्कोम एक्स (म माल्कोम एक्स हुँ)’ भन्छन् । मेरा लागि सो दृश्य निक्कै महत्वपूर्ण थियो किनकि माल्कोम एक्सले जिउँदो छँदा धेरै नियमकानुन मानेनन् । र, त्यस दिन एउटा नयाँ पुस्ता उनको नाम गर्वसाथ लिइरहेको थियो । 

(जोन डेभिड वासिङ्टनले ‘ब्ल्याकक्लान्सम्यान’ र ‘टेनेट’जस्ता फिल्ममा मुख्य भूमिकामा खेलेका छन् ।)

सुसन सुर्यान्डन

थिति सही नहुँदा मानिसले नियम–कानुन तोड्छन् । यस्ता समय पनि आउँछन्, जब तपाईंले नियम तोड्नैपर्ने हुन्छ । यथास्थिति बदल्न पनि कानुन तोड्नुपर्छ । कानुन गलत र अन्यायपूर्ण हुँदा पनि तपाईंले तिनलाई तोड्नुपर्ने हुन्छ । अन्यायबाट गुज्रने व्यक्तिले नियम–कानुन तोड्नु नराम्रो होइन । यो पूर्णतः सही हुन्छ । अहिले धेरै मानिस यथास्थितिविरुद्ध उभिएको देखिन थालेको छ, यो कुराले ममा आशा जाग्छ । समय कठिन छ र पनि अमेरिकाका दुई पार्टीले मानिसका लागि काम नगरेको भन्दै मानिस सडकमा उत्रिएका छन् । आमनियम पालनाअन्तर्गत नपर्ने यी कार्यले मलाई निकै आशावादी बनाउँछ । 

(ओस्कर विजेता अभिनेतृ सुसन सुर्यानडन अभियन्ता पनि हुन् ।)

स्कट इस्टवुड

हामी सबैभित्र समस्या खडा गर्ने प्रवृत्ति हुन्छ । मेरो विचारमा कसैलाई हानि नगर्ने कानुनप्रति धेरैको विश्वास हुन्छ । गम्भीरताका साथ लिइने नियमहरू पनि हुन्छन् । कसैले भनिदिएकैले यो नियमकानुन भएको हो भन्ने खालको विचार मनमा आउँदा तिनलाई तोड्न सकिन्छ । जुन नियमकानुन तोड्दा अर्को मानिसलाई साँच्चै हानि पुग्दैन, त्यस्ता नियम तोड्न सकिन्छ । 

(स्कट इस्टवुडलाई ‘प्यासिफिक रिम अपराइजिङ’ र ‘द वाउटपोष्ट’मा देख्न सकिन्छ ।)

जोन लेगुजामो

मैले सधैँ नियम तोड्नुप¥यो किनकि मैले जीवनभर हलिउडसँग जुध्नुप¥यो । उनीहरू मलाई सीमित गराउन चाहन्थे, म त्यस्तो हुन दिने पक्षमा थिइनँ । हलिउडमा सधैँ भनिँदै आएको कुरा हो– ‘यदि तपाईंले यहाँको तौरतरिका पालना गर्नुभएन भने तिनले केही दिने छैनन् । तपाईंले नियमअनुरूप खेल खेल्न सिक्नुपर्छ ।’ तर, यहाँको नियम आफँैमा समस्याग्रस्त छ । त्यस्तै, मैले धेरै कमेडी फिल्म गरेँ भने मलाई ड्रामा गर्न दिइनेछैन भनिएको थियो । र, मलाई यो पनि भनिएको थियो कि मैले धेरै ड्रामा फिल्म गरेँ भने मलाई कमेडी भूमिका कहिल्यै दिइनेछैन । जीवनमा होस् कि हलिउडमा नियमकानुन खासमा शक्तिमा रहेकाहरूको सुरक्षा गर्न बनाइएको हुन्छ । नियमकानुनले यथास्थितिको पक्षपोषण गर्छ । पछिल्ला दिन मेरो जीवन नै नियम तोड्नमा केन्द्रित भएको छ । खासमा यसैले मेरो जीवनमा सुन्दरता थपेको छ । अमेरिका अहिले बिस्तारै ब्युँझिँदै गएको छ । फिल्म स्टुडियोका मालिकले पनि आफूलाई प्रश्न गर्न थालेका छन् । तिनले आफ्नै नियम बदल्न थालेका छन् र ल्याटिन तथा काला मानिसलाई पनि माथिल्ला पदमा समावेश गर्न थालेका छन् । यो पहिले नै हुनुपर्ने परिवर्तन हो । 

(जोन लेगुइजामो अभिनेता, पटकथा लेखक र कमेडियन हुन् । उनले यो वर्ष ‘क्रिटिकल थिंकिङ’ फिल्मबाट निर्देशनमा पनि हात हालेका छन् ।)

जर्ज लोपेज

केका लागि नियमकानुन तोड्न पछि परिँदैन ? पख्नुस्, म भन्छु है । तपाईं भोको वा प्यासी हुनुहुन्छ र खाना वा पानी पाउने आशा छैन भने तपाईं नियमकानुनमा बसिरहन सक्नुहुन्न । तपाईं आफ्नो परिवारसहित विनाछहारी सडकमा हुनुहुन्छ भने तपाईंलाई नियमकानुन तोड्न अप्ठ्यारो लाग्दैन । धेरै मानिसले आवास गुमाइरहेका छन् र उनीहरूलाई पनि प्रत्येक दिनजसो आफ्नो परिवारलाई खुवाउने बाध्यता हुन्छ । म यहाँ आधारभूत आवश्यकता पूर्तिको कुरा गरिरहेको छु । आधारभूत आवश्यकता जोहो गर्न नसक्दा मानिसले नियम तोड्न पछि पर्दैनन् । धेरै परिवार भावी दिनमा तिनको आवासबाट निकालिने जोखिमा छन् र तिनले नयाँ अपार्टमेन्ट वा मोटेलको शुल्क तिर्न सक्नेछैनन् । त्यस्तोमा निश्चित रूपमा तिनले नियम तोड्नेछन् । तर, तिनको मनमा लाग्दो सही नेतृत्व हुन्थ्यो भने यस्तो स्थिति नै आउने थिएन । अभावग्रस्त व्यक्तिले नियमकानुन तोड्छन् । 

जहाँसम्म कस्तो अवस्थामा नियम तोड्नु उचित हुन्छ भन्ने प्रश्न छ, यसका लागि जीवनका आदर्शलाई पछ्याउनु उचित हुन्छ भन्ने मेरो भनाइ छ । आजका दिन यदि नियम तोड्ने भनेर मास्क नलगाई बाहिर निस्कनुभयो भने उचित हुँदैन । एक देशका रूपमा हामी आफूमाझ कायम भिन्नता देखाउन यति व्यस्त छौँ कि पीडा तथा निराशाका कारण नियमकानुन तोडिने अवस्था निम्तिनेछ । यदि मानिसलाई फरक रूपमा व्यवहार गऱ्याैँ भने हामीलाई नियमकानुन तोड्नै नपर्ने अवस्था आउँछ ।

(जर्ज लोपेज कमेडियन र अभिनेता हुन् ।)