Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २४ शुक्रबार १३:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आमसभालाई सम्बोधन गर्न धनगढी आइपुगे प्रधानमन्त्री ओली, स्वागतमा गएनन् मुख्यमन्त्री र मन्त्री

Read Time : > 1 मिनेट
२०७७ पौष २४ शुक्रबार १३:०९:००

सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा हुने आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको नियमित उडानबाट अहिले धनगढी पुगेका प्रधानमन्त्री ओलीले धनगढीको खुलामञ्चमा हुने आमसभालाई दिउँसो सम्बोधन गर्ने कार्यक्रम छ । 

नेकपा (ओली समूह)को सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीमा शक्ति प्रदर्शनसहित आमसभा गर्न लागेको हो । आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट मानिस धनगढी आइरहेका छन् । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरेर धनगढीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

विमानस्थलमा सुरक्षाका लागि नेपाली सेनाको टोली तथा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । धनगढीका चोकचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । नेकपा (प्रचण्ड–नेपाल समूह) का कार्यकर्ताले विरोध र कालोझन्डा देखाउन सक्ने भएकोले पनि धनगढीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो । प्रधानमन्त्री धनगढी पुग्नुअघि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कार्यक्रमस्थलनजिक टायर बालेका छन् ।

संसद् विघटनपछि प्रधानमन्त्री ओली पहिलोपटक उपत्यकाबाहिर आएका हुन् । नेकपा प्रदेश कमिटीको बैठक तथा प्रधानमन्त्रीको कार्यक्रमको तयारीका लागि नेपाल सरकारका चारजना मन्त्री केही दिनदेखि धनगढीमा छन् । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वनमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी केही दिनअघि नै धनगढीमा आएका हुन् । 

विमानस्थल गएनन् मुख्यमन्त्री र मन्त्रीहरू

प्रधानमन्त्री ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्रीसहित कुनै पनि मन्त्री विमानस्थल गएनन् । यसअघि प्रधानमन्त्री आउँदा मुख्यमन्त्री र मन्त्रीले विमानस्थलमा स्वागत गर्दथे ।

प्रधानमन्त्री पार्टीको एउटा गुटको कार्यक्रममा सहभागी हुन आएकाले स्वागतमा नगएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ । ‘उहाँ कुनै सरकारी कार्यक्रमका लागि आउनुभएको होइन, पार्टीको गुटको कार्यक्रममा सहभागी हुन आउनुभएको हो । आयोजकले प्रधानमन्त्री आउने औपचारिक जानकारी पनि दिएको थिएन,’ प्रदेश सरकारका एक मन्त्रीले भने, ‘त्यसैले स्वागतका लागि प्रदेश सरकारको तर्फबाट कोही गएनन् ।’

प्रधानमन्त्री ओलीको संसद् विघटनको विरोधमा प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ । मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्री प्रचण्ड–नेपाल पक्षका हुन् । सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहले शक्ति प्रदर्शन गर्न लागेको हो ।