१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक अग्रवाल, उपाध्यक्ष, जगदम्बा मोटर्स
नवीन अर्याल काठमाडौं
२०७७ पौष २४ शुक्रबार ०८:३८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल भित्रियो मलेसियन प्रोटोन कार

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ पौष २४ शुक्रबार ०८:३८:००

नेपाली अटो बजारमा मलेसियन ब्रान्ड ‘प्रोटोन’को सेडान कार ‘सागा’ नेपाल भित्रिएको छ । टिभिएस ब्रान्डको मोटरसाइकल बिक्री गर्दै आइरहेको शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले २९ पुसदेखि चारपांग्रे बजारमा प्रवेश गराउँदै प्रोटोन गाडी बिक्री सुरु गर्न लागेको हो । 

जगदम्बा मोटर्सले गैरीधारामा प्रोटोन गाडीको सोरुम बनाइसकेको छ । सोरुममा प्रोटोनको सेडान कार ‘सागा’ डिस्प्लेमा राखिएको छ । ‘हामीले पहिलो चरणमा प्रोटोनको सेडान कार ल्याएका छौँ,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘छिट्टै एसयुभी सेगमेन्टमा एक्स ७० र एक्स ५० मोडल पनि ल्याउन लागेका छौँ ।’ 

यसअघि ०६६ सालतिर पनि प्रोटोन गाडी नेपाल भित्रिएको थियो । त्यसवेला १ सय २५ भन्दा बढी गाडी बिक्री भएका थिए । जुन अहिले पनि सडकमा कुदिरहेका छन् । कन्स्ट्यान्ट बिजनेस ग्रुपले बीचमै गाडी बिक्री गर्न छाडेपछि पछिल्लो समय प्रोटोन भित्रिएको थिएन । अहिले अग्रणी घराना शंकर समूहले प्रोटोन गाडी पुनः भित्र्रयाएको हो ।

अहिले प्रोटोन नेपाल भित्रिँदा व्यापक सुधारिएर आएको अग्रवाल बताउँछन् । उनका अनुसार पछिल्ला वर्षहरूमा प्रोटोन कम्पनी भोल्भो, जेली, लोटसजस्ता एक दर्जन कम्पनीसँग मर्ज भइसकेको छ । विभिन्न स्थापित कम्पनीहरूसँग मर्जर र अक्वायरसँगै प्रोटोनमा व्यापक टेक्नोलोजी ट्रान्सफर पनि भइसकेको छ । ‘अहिले प्रोटोन न्यू टेक्नोलोजी, न्यू अपग्रेडेसन र न्यू प्लेटफर्ममा भित्रिएको छ,’ उनी भन्छन्, ‘अब प्रोटोनको एसियन बजारमा बलियो उपस्थिति हुन्छ ।’ 

 एसयुभी एक्स ७० र एक्स ५०
प्रोटोनका एसयुभी सिटी र अफरोड दुवैमा चलाउन मिल्ने लक्जरी गाडी हुन् । कम्पनीका अनुसार एसयुभी ‘एक्स ७०’ माघमा नेपाल आइपुग्नेछ । अझै एक्स ५० नेपाल आइपुग्न ३–४ महिनाजति लाग्ने अग्रवाल बताउँछन् । नेपालमा एसयुभी एक्स ७० को मूल्य करिब १ करोड रुपैयाँबाट सुरु हुनेछ भने एक्स ५० को मूल्य ६०–६२ लाखबाट सुरु हुने कम्पनीको अनुमान छ । 

 एक वर्षमा २ सय गाडी बिक्री गर्ने लक्ष्य
जगदम्बा मोटर्सले पहिलो वर्ष २ सय प्रोटोन गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । यस वर्ष प्रोटोनका ३ वटा मोडल उपलब्ध हुनेछन् । प्रतिस्पर्धी तीन मोडल बजारमा उतारेपछि उपभोक्ताको ध्यान तानिने कम्पनीको विश्वास छ । ‘हामी ग्राहकलाई गाडी बिक्री गर्ने मात्र होइन कि बिक्रीपछि पनि उत्कृष्ट सेवा दिनेछौँ,’ अग्रवाल भन्छन्, ‘अब्बल गाडी र गुणस्तरीय सेवाका कारण हामी लक्ष्य पूरा गर्छौँ ।’ 

 बिक्रीपछिको सेवा प्राथमिकतामा
अहिले नेपाली सडकमा १२५ प्रोटोन गाडी कुदिरहेका छन् । जगदम्बा मोटर्सले ती सबै पुराना ग्राहकहरूसँग सम्पर्क गरिरहेको छ । ‘हामीले प्रोटोन गाडी ल्याउनुअघि नै पुराना ग्राहकहरूसँग कुराकानी गरेका थियौँ, उहाँहरूसँग भेटिरहेका पनि छौँ,’ अग्रवाल भन्छन्, ‘गाडीको सर्भिसिङ र पार्टपुर्जाको अभाव महसुस गरे पनि उहाँहरू प्रोटोन गाडीसँग सन्तुष्ट रहेको पायौँ ।’

जगदम्बा मोटर्सले सम्पर्क गर्दा कतिपयले पुरानो प्रोटोनसँग नयाँ प्रोटोन साट्न चाहेको बताएका छन् । कम्पनीले गाडीका पार्टपुर्जा आएपछि पुराना ग्राहकहरूलाई बोलाएर सर्भिस क्याम्प चलाउने योजना बनाएको छ । कम्पनीले कुपण्डोल, बागमती करिडोरमा अन्तर्राष्ट्रियस्तरको सर्भिस सेन्टर सञ्चालनमा ल्याउनेछ ।

सागा कस्तो गाडी ?
सागा मिडरेन्ज सेडान कार हो । यो गाडी १३ सय सिसी पेट्रोल इन्जिनमा उपलब्ध छ । सागा अटोमेटिक र म्यानुअल ट्रान्समिसन गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । म्यानुअल ट्रान्समिसन गाडीको ३५ लाख ५० हजार र अटोमेटिकको ३९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

‘यो रेन्जको सेडान कारमा अटोमेटिक भेरियन्ट अरू ब्रान्डमा उपलब्ध छैनन्,’ उनी दाबी गर्छन्, ‘यो रेन्जमा तेस्रो मुलुकबाट भित्रिने पहिलो सेडान कार पनि बनेको छ ।’ प्रोटोन गाडी मलेसियाबाटै आयात गरिएको हो । सागाको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम छ ।