मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २४ शुक्रबार ०९:०९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवागढी नाका चीनको प्राथमिकतामा परेन, ८ महिनादेखि कोटा प्रणाली कायमै

Read Time : > 2 मिनेट
२०७७ पौष २४ शुक्रबार ०९:०९:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी खुलाउन चीनले प्राथमिकता नदिएपछि एक वर्षदेखि केरुङमा रोकिएका सामान छुटाउन सकिएको छैन । गत वर्ष १५ माघमा सुरुमा ल्होसारका कारण बन्द भएको नाका पछि कोरोना भाइरसको महामारी फैलिएसँगै गत २१ जेठसम्म पूर्ण रूपमा बन्द भयो ।

२२ जेठदेखि चीनबाट एकतर्फी सामान ल्याउने गरी नाका सञ्चालनमा ल्याइए पनि बीचमा पटक–पटक बन्द भइरह्यो । ३२ साउनदेखि १३ भदौसम्म चीनले आफ्नो भूभागमा पहिरो गएको भन्दै नाका बन्द गरेको थियो । त्यसपश्चात् १७ साउनमा नाकामा काम गर्ने एक मजदुरलाई कोरोना देखिएपछि नाका बन्द गरेको चीनले ७ असोजमा मात्र नाका सञ्चालनमा ल्यायो । 

करिब ६ महिनापछि खुलेको नाकामा सुरुमा चिनियाँ पक्षले आफ्ना चारवटा गाडीमा नेपाल र चीनको सिमाना मितेरीपुलमा सामान ल्याएर झारिदिन सुरु गरेको हो । त्यहीवेलादेखि नै कोटा प्रणाली सुरु गरेको चीनले अहिले पनि कायमै राखेको छ ।

अहिले पनि आफ्ना ५ गाडी सामान मात्र नेपालतर्फको भूमिमा ल्याएर झारिदिने गरेको छ । चीनले कोटा प्रणाली नहटाउँदा अर्बाैँ मूल्यबराबरको सामान चीनतर्फ रोकिएको व्यापारीहरूको गुनासो छ । उनीहरूका अनुसार केरुङमा १२ सय कन्टेनर सामान रोकिएको छ । कन्टेनरमा जाडोका कपडा, इलेक्ट्रोनिक सामान, जलविद्युत् आयोजनाका सामग्रीहरू रहेका छन् । 

नियमित नाका सञ्चालन हुँदा यो नाकाबाट दैनिक सयभन्दा बढी कन्टेनरमा सामान भित्रिने गथ्र्यो । चीनले नेपालतर्फको नाकालाई क्रमशः नियन्त्रण गर्दै लैजाँदा सामान ढुवानीमा समस्या भएको व्यवसायीहरूको गुनासो छ । उनीहरूका अनुसार चीनको नियन्त्रण फुकुवा गर्न नेपाल सरकारले ठोस पहल गरेको छैन । अधिकांश व्यवसायीहरू चीनले अघोषित नाकाबन्दी गरेको बताउँछन् ।  

 ल्हासामै रोकिए ८ सय कन्टेनर 
नेपाल ल्याउने तयारी गरिएको करिब ८ सय कन्टेनर सामान चीनको ल्हासामै अड्किएको छ । रसुवागढी र तातोपानीबाट भित्रिनुपर्ने उक्त परिमाणको सामान ल्हासामै थन्किएको व्यापारीहरूले बताएका छन् । अत्यावश्यक औषधिदेखि स्याउ, लत्ताकपडा, इलेक्ट्रोनिक सामानहरू ल्हासामा रोकिएको व्यापारी शारदाप्रसाद पराजुलीले बताए । ‘चार महिनाभन्दा बढी भयो, मेरो मेडिकलको ७ गाडी सामान ल्हासाबाट आउन सकेको छैन,’ उनले भने, ‘चिनियाँ एजेन्टलाई सोध्दा त्यहाँको सरकारले छोड्दैन भन्छन्, हाम्रो मर्का कसैले सुनेन–बुझेन ।’

सहज रूपमा नाका सञ्चालन गर्न दुई देशका सीमाका अधिकारीबीच समय–समयमा बैठक भइरहेको छ । बैठकमा एक किसिमको सहमति हुने भए पनि कार्यान्वयन भने भएको पाइँदैन । सीमास्तरका दुई देशका अधिकारीबीच सामान आयातमा बढाउने सहमति भए पनि कोटा प्रणाली कायम छ । गत २४ भदौमा दुई देशका सीमा अधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले दुई सिफ्टमा १६ घन्टा काम गर्ने भनेको थियो ।

एक सिफ्टमा ८ वटा आफ्ना गाडीमा नेपालतर्फ सामान ल्याइदिने र नेपालतर्फ व्यवस्थापन गर्न अनुरोध गरेको थियो । सोहीअनुरूप सबै व्यवस्थापन तत्काल सम्पन्न गरे पनि चिनियाँ पक्षले हालसम्म कार्यान्वयन नगरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘सामानको आयात बढाउँछौँ भनेर हामीलाई चिनियाँ पक्षले भनेका थिए, याड बनाउनु, नाकामा बत्तीका लागि लाइट जडान गर्नु, स्वास्थ्य मापदण्ड अपनाउनु भनेको थियो, उनीहरूले भनेअनुसार गरिएको दुई महिना बढी भइसकेको छ, तर उनीहरूले केही गरेको छैन,’ उनले भने । 

रसुवागढीबाट एक वर्षमा भएको व्यापार
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट पछिल्लो समय आयात न्यून रहेको छ भने निर्यात ठप्प रहेको छ । सन् २०१९ मा ४७ अर्ब ७८ करोड १४ लाखको सामान आयात भएको थियो ।

सन् २०२० मा ९ अर्ब २३ करोड ४१ लाखको सामान नेपाल भित्रिएको भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । त्यसैगरी, सन् २०१९ मा नेपालबाट चीनतर्फ १ अर्ब ३७ करोडको सामान निर्यात भएको थियो । तर, सन् २०२० मा ७ करोड ८२ लाखको मात्रै सामान चीनतर्फ गएको छ, जुन सन् २०१९ को तुलनामा सन् २०२० मा ५.७१ प्रतिशत हो ।