मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २४ शुक्रबार ०७:०१:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

स्रष्टा र म्युजिक कम्पनीबीच रोयल्टी विवाद

विन्ध्यवासिनीविरुद्ध कानुनको सहारा लिँदै गायक प्रमोद खरेल, ऐक्यबद्धता जनाउन ५७ संगीतकर्मी पुगे प्रहरी कार्यालय

Read Time : > 3 मिनेट
२०७७ पौष २४ शुक्रबार ०७:०१:००

केही समयअघि विन्ध्यवासिनी म्युजिक कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा आफूले उत्पादन गरेको गीतसंगीत गायक प्रमोद खरेलले विनाअनुमति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा गाइरहेको आरोपसहित उजुरी दिएको थियो । साथै, एक करोड क्षतिपूर्ति पनि दाबी गरेको थियो ।

विन्ध्यवासिनी म्युजिक कम्पनीको उजुरीविरुद्ध प्रस्तोता समाज नेपालले विज्ञप्ति जारी गर्दै आपत्ति जनायो । विज्ञप्तिमा उजुरी परेको ‘प्रणय’ एल्बमको सबै अधिकार दोस्रो पक्ष (गायक प्रमोद) सँग रहेकाले कम्पनीले उजुरी गरेर गायक खरेलको अधिकार हनन भएको बताइएको थियो ।

एल्बमका आठवटा गीत तयार पार्दा विन्ध्यवासिनी म्युजिक कम्पनीले आफूलाई दुई लाख दस हजार रुपैयाँ दिएको खरेल बताउँछन् । गीतमा सबै लगानी आफ्नै भएको खरेल बताउँछन् । भन्छन्, ‘सबै लगानी मेरो थियो । पहिला अर्कै कम्पनीबाट ल्याउने कुरा भएको थियो ।

पछि विन्ध्यवासिनी गएको हुँ ।’ कम्पनीले आफूलाई गीतको एक लाख दस हजार र भिडियोका लागि एक लाख दिए पनि प्रतिलिपि अधिकार आफैँसँग रहेको खरेलको दाबी छ । कम्पनीले दुई लाख भने प्रमोसनमा खर्च गर्ने भनेर सम्झौता गरेको उनको भनाइ छ । साथै, प्रतिलिपि अधिकार कसको रहने भनेर सम्झौतापत्रको बुँदा नम्बर ४, ५, ६ र ७ मा उल्लेख गरिएको खरेल बताउँछन् । 

सम्झौताबारे प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालको हस्ताक्षरसहितको विज्ञाप्तिमा पनि उल्लेख गरिएको छ । विज्ञप्ति सार्वजनिक भएपछि विन्धवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीले सामाजिक सञ्जालमै आक्रोश पोखेका थिए ।

उनले फेसबुक स्टाटसमार्फत गत ३ जनवरीमा धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए, ‘प्रचलित कानुन र प्रतिलिपि अधिकार ऐनले निर्मातालाई गायकजत्तिको अधिकारधनी पनि भन्दैन भन्ने कुरा अदालतबाट प्रमाणित गराएर ल्याओ, विन्ध्यवासिनी म्युजिक नै तिमीहरूको नाममा पास गरेर दिन्छु ।’

यो मुद्दा पेचिलो बन्दै गएपछि सांगीतिक क्षेत्रका ५७ जना स्रष्टा बिहीबार महानगरीय प्रहरी परिसर टेकु पुगे । प्रहरी परिसरमा ध्यानाकर्षणसहित हस्ताक्षर गरेको अपिल दर्ता गरे । आफूहरूले आफ्ना सिर्जनाहरू आफैँ प्रवद्र्धन गरी त्यसबाट आफैँ लाभान्वित हुने योजना बनाएको र विगतमा सिर्जना गरेका, आफैँद्वारा लगानी गरेका तथा आफैँमा प्रतिलिपि अधिकार रहेका सिर्जनालाई आफैँ फिर्ता लिने अभियान चलाएको अपिलमा बताइएको छ ।

‘गायक तथा संगीतकार प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीसँग आफ्ना सिर्जनाहरू नियमानुसार फिर्ता मागेका हुन् । उनको सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट उल्टै गालीगलौज र अपमानपूर्ण अभिव्यक्ति र अन्यायपूर्ण व्यवहार भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अपिलमा भनिएको छ । 

५७ स्रष्टाको अपिलपछि सञ्चालक रेग्मीले गायक खरेललाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यंंग्य स्टाटस लेखेका छन्, ‘प्रमोद खरेललाई अन्याय भएको भए अदालतमा मुद्दा हाल्न सुझाब दिम्, जग नहँसाम् ।’ प्रतिलिपि अधिकार ऐन २०५९, दफा ६ को उपदफा दुई (ग)मा आर्थिक अधिकारसम्बन्धी कसैले पारिश्रमिक दिई कुनै रचना तयार गर्न लगाएको भए त्यस्तो पारिश्रमिक दिने व्यक्ति वा संस्थामा अधिकार निहित रहने बताएको छ । कानुनअनुसार नै एल्बमको सबै प्रतिलिपि अधिकार आफूसँग रहेकाले रेग्मीले दाबी गर्नु कानुनविपरीत रहेको खरेलको दाबी छ । 

गायक खरेलका अनुसार एल्बममा पैसा उनले नै लगानी गरेका हुन् । विन्ध्यवासिनीबाट दुई लाख दश हजार लिएको भए पनि भिडियो, गीतमा थप लगानी खरेल स्वयंले गरेका हुन् । गीतकार, संगीतकारसँग उनैले सम्झौता गरेका थिए । पछि विन्ध्यवासिनी म्युजिक कम्पनी गएपछि पाँच वर्षका लागि लिखित करार गरे ।

कम्पनीले गरेको लगानी एल्बमबाट प्राप्त आम्दानीका आधारमा असुलउपर गर्ने सर्त राखिएको थियो । ‘तर, कम्पनीले प्रमोसनका लागि गर्ने भनेको खर्च नगरीकन दुई लाख दश हजार लगानी उठाएर पनि नाफा कमायो । अहिले त पाँच वर्षको सम्झौता ११ वर्ष भइसक्यो,’ खरेलले नयाँ पत्रिकासँग भने, ‘बाँकी ६ वर्षको आम्दानी र रोयल्टी पनि मलाई कम्पनीले दिनुपर्छ । यसका लागि म अदालत जान तयार छु ।’

 

 

चार महिनाअघि यस विषयमा आफूले रेग्मीलाई फोन गरेर भनेको बताउँछन् खरेल । आफूले फोन गरेर अब सम्झौताबमोजिम सबै गीत आफूले पाउनुपर्ने कुरा राख्दा रेग्मीले नानाथरी भनेको आरोप खरेलको छ । ‘त्यसपछि नियमै नभएको विषय र एल्बम फिर्ता माग्छ भनेर उहाँले फेसबुकमा जे पायो त्यही लेख्नुभयो ।

गायकले जताततै गीत गाउँदै हिँडेको, त्यसबापत आफूले पनि रोयल्टी पाउनुपर्ने भनेर एक करोडको उजुरी हाल्नुभयो,’ खरेल भन्छन्, ‘एक त मलाई नै उहाँले रोयल्टी दिनु छ । अर्को सामाजिक सञ्जालमा नानाथरी भनेपछि कानुनको सहारा लिएको हुँ । मेरो परिवार छ, आफन्त छन् ।

त्यस्ता गालीगलौजले मेरो मनोविज्ञानमा कस्तो असर पर्ला, ख्याल गर्नुपर्दैन ?’ साथै आफूले सम्झौता सकिएपछिको ६ वर्षको रोयल्टी पनि पाउनुपर्ने दाबी गर्छन् खरेल । यदि राम्रोसँग कुराकानी गरेको भए सम्झौता अझै बढाउन सकिने या नवीकरण गर्न पनि सकिने सम्भावनालाई रेग्मीले लात हानेको उनको धारणा छ ।

स्रष्टाको प्रतिलिपि अधिकारमाथि नै लडिरहेका संगीतकार लक्ष्मण शेष स्रष्टाको बौद्धिक सम्पत्ति सम्झौता सकिएपछि फिर्ता गर्नुपर्ने बताउँछन् । यदि नगरेमा कानुनबमोजिम त्यसको प्रमाण भोग्न पनि तयार रहनुपर्ने उनको भनाइ छ । भन्छन्, ‘जथाभावी गाली गर्ने अधिकार कसैलाई छैन । स्रष्टाको बौद्धिक सम्पत्ति उसको अधिकारको विषय हो । स्रष्टाको अधिकारलाई जसले कुण्ठित बनाउँछ, उसले कानुनअनुसार सजाय भोग्न तयार रहनुपर्छ ।’

संगीतकार संघका महासचिव पारस मुकारुङ पनि सम्झौतापत्रअनुसार खरेलले प्रचलित कानुनअनुसार आफ्नो प्रतिलिपि अधिकार उपयोग गरेर न्याय पाइछाड्ने बताउँछन् । भन्छन्, ‘कोही पनि स्रष्टाले अन्याय सहेर बस्न मिल्दैन । र, न्यायका लागि हामीले लड्नै पर्छ । स्रष्टाको बौद्धिक सम्पत्ति लुट्ने यस्ता कम्पनीलाई कठघरामा ल्याइछाड्नेछौँ ।’ 

प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमाल देशमा कलाकार अन्तिममा आएर भोकै मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँछन् । भन्छन्, ‘फैसला स्रष्टाको पक्षमा हुनुपर्छ । प्रतिलिपि अधिकार हनन भएकाले न्याय पाउनुपर्छ ।’ साथै यसमा निर्माता पनि मर्नु नहुने हमालको भनाइ छ । कानुनसम्मत प्रतिलिपि अधिकार उल्लंघन भएकाले स्रष्टाले न्याय पाउनुपर्नेमा हमालको जोड छ ।

५७ जनाले हस्ताक्षर गर्दै गर्दा त्यसमा ऐक्यबद्धता जनाएका गायक शिव परियार भन्छन्, ‘सबै कागजअनुसार स्रष्टाको अधिकार हनन भएको देखिएकाले हामीले ऐक्यबद्धता जनाएका हौँ । यसमा स्रष्टाले न्याय पाउनुपर्छ ।’ गायक परियारसँगै राजेशपायल राई, सत्यराज आचार्य, इन्दिरा जोशी, अर्जुन पोखरेल, कमल खत्री, रामकृष्णा ढकाललगायत ५७ जनाले गायक खरेलले न्याय पाउनुपर्छ भनेर ऐक्यबद्धता जनाएका छन् ।