मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एमी बर्नस्टिन न्युयोर्क
२०७७ पौष २४ शुक्रबार १०:२२:००
Read Time : > 4 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२१ प्रिन्ट संस्करण

कोभिडले महिलालाई ठूलो धक्का दियो

Read Time : > 4 मिनेट
एमी बर्नस्टिन न्युयोर्क
२०७७ पौष २४ शुक्रबार १०:२२:००
(बर्नस्टिन हार्वर्ड बिजनेस रिभ्युकी सम्पादक हुन् । उनी ‘वुमन एट वर्क’की सह–प्रस्तोता पनि हुन्)

सन् २०२० निकै निर्मम रह्यो । केही महिलाका निम्ति उन्नति र रोजगारीका लागि थुप्रै अवसर सिर्जना पनि भए होलान्  । त्यति हुँदाहुँदै पनि जति रोजगारी गुमेका छन्, ती अब कहिल्यै पुनर्बहाल हुन सक्नेछैनन् । बाँकी महिलाले आउँदा दिनमा नयाँ मार्गहरू खोल्नेछन् र त्यो नै उनीहरूका लागि अधिक सन्तोषजनक हुनेछ ।

......

यो महाव्याधिको अवधिमा कामकाजी महिलाले दोब्बर र तेब्बर कामको बोझ उठाउनुपरेको खबर अहिले पु्रानो भइसक्यो । महिलाले परिवारको हेरचाह तथा घरधन्दाको असमानुपातिक बोझसहित आफ्नो काम पनि गर्नुपर्दा स्थिति निकै अप्ठ्यारो, गम्भीर र अत्यासलाग्दो बन्न पुगेको थियो । एकपछि अर्काे अध्ययनले यही कथा भनिरहेका थिए ।

कार्यस्थलमा महिलामाथि व्यवस्थापन परामर्शदात्री कम्पनी म्याकिन्से एन्ड कम्पनी र महिला तथा महिलाको पेसागत कार्यस्थलप्रति समर्पित गैरनाफामूलक संस्था लिनइन डट ओआरजीको वार्षिक प्रतिवेदनले अमेरिकामा यो महाव्याधि र यससँगै आएको मन्दीले निम्त्याएको विपत्तिको कथा यसरी उल्लेख गरेको छ– महिला, त्यसमा पनि खासगरी अश्वेत महिला, जोसँग रोजगारी छ, ती महिलाले जुनसुकै वेला रोजगारी गुमाउने सम्भावना छ । किनभने, परिवारको हेरचाह एवं अफिसको काम दुवै हेर्न भ्याउने गरी बनेको संरचना अहिले आएर भत्किएको छ । उदाहरणका लागि स्कुललाई नै लिऊँ, ती दूरशिक्षा वा हाइब्रिड कक्षामा सरेका छन् । यसले अधिकांश कामकाजी आमाहरूलाई एकसाथ शिक्षण सहायक र आफ्नो पेसागत दायित्वसमेत निर्वाह गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

यो प्रतिवेदनका अनुसार अमेरिकामा चारमध्ये एक महिलाले अहिले आफ्नो करिअर ओरालो लागेको तथा काम गर्नै छाड्ने मनस्थितिमा पुगेको बताउन थालेका छन् । यसबाट कोही पनि आश्चर्यचकित नहुँदा हुन्छ । यस्ता प्रवृत्तिले महिलाले कार्यस्थलमा हासिल गरेको वर्षाैंको प्रगतिलाई मेट्ने खतरा उब्जिएको छ । 

यद्यपि, बेरोजगारको संख्याले मात्रै पनि पूरै कथा कहन्न । अहिले कहीँ महिलाहरू तनाव पनि अकल्पनीय परिमाणमै भोग्छन् । आफ्नो पेसागत तथा परिवारको हेरचाहको जिम्मेवारीबीच घन्टैपिच्छे अझ भनौँ मिनेटैपिच्छे समस्या खडा हुन थालेसँगै उनीहरूले या त पेसागत या पारिवारको जिम्मेवारी रोज्नुपर्ने बाध्यताका अघिल्तिर उभिन पुग्छन् । पोडकास्ट ‘द डबल सिफ्ट’की प्रस्तोता क्याथरिन गोल्डस्टेनले हालै के औँल्याएकी छन् भने मलाई लाग्छ सबै आमाहरू यो नयाँ परिस्थितिका लागि तयार हुनुपर्छ । के छ हालखबर होइन कि आज तपाईं रुनु त भएन नि ? भन्ने प्रश्नका लागि तयार रहनुपर्ने अवस्था छ । 

रोजगारी गुमाएका तीन महिलाले मैले को–होस्ट गर्ने हार्वर्ड बिजनेस रिभ्युको ‘वुमन एट वर्क’ पोडकास्टमा महामारीको सात महिनामा आएका रोजगारीका उतारचढावको आफ्नै कथा वाचन गरे । जसमध्ये भेरोनिकाले गत वर्ष मात्रै आफ्नो पुरानो पेसा वेब डिजाइन छोडेर रुचिको पेसा मसाजथेरापी स्टुडियोमा काम गर्न सुरु गरेकी थिइन् । उनलाई आफ्नो यो नयाँ पेसा खुबै मन परेको थियो । तर, योे महाव्याधिले उनको काम गर्ने स्टुडियो बन्द हुन पुग्यो । र, अहिले उनी पहिलेकै पेसा वेब डिजाइनमै फर्किने प्रयास गर्दै छिन् । उनी आफ्नो आजीविकाका निम्ति नयाँ परिस्थितिसँग आवश्यक समाञ्जस्यता मिलाउँदै छिन् ।

यो संकटबाट हामी सबैले सिक्नुपर्ने एउटा पाठ के हो भने वर्तमान समय महिलाहरूका लागि आफ्नो अपेक्षा पूरा गर्ने र रोजगारदातालाई त्यो अपेक्षाको सम्मान गर्न लगाउने समय हो । यो कुनै बाहिरी आदर्शको कुरा गर्ने समय होइन । हामी सामान्य अवस्थामा तत्कालै फर्कनेछैनौँ । एक अर्थमा यो राम्रो पनि हो ।

हामीले इमिलीका कुरा पनि सुन्यौँ, जो एक कलाकर्मी हुन् । उनको ओपेरा कम्पनीमा लकडाउनपछि सटर बन्द भयो, उनले महिनौँ प्रदर्शन गर्न पाइनन् । ‘यो संघर्ष रोजगारीको होइन । संघर्ष पहिचानको हो’, उनी हामीसँग भन्छिन्, ‘मैले गीत नै गाइनँ भने म कसरी गायक रहन्छु र ?’ तिनका लागि जसको परिचय उसको कामसँग अनन्य भएर गाँसिएको हुन्छ, बेरोजगार हुँदा उनीहरूलाई अस्तित्वकै संकट आइलाग्न सक्छ । समाजशास्त्री अलिया हामित राव लेख्छिन्, ‘रोजगारी वा त्यसको अभाव व्यक्तिको नैतिक मूल्यको स्वाभाविक चिह्न भएको छ ।’

हाम्रो यो नयाँ वास्तविकता क्रूर छ, तर यसमा दयाका केही मसिना धर्सा पनि छन् । हामी करोडौँलाई अहिले अफिस आवतजावतको झन्झट छैन, कार्यस्थल पहिलेभन्दा निकै लचिला भएका छन् । घर वा अन्तै टाढा बसेर पनि काम गर्न पाएका छौँ । र, यो प्रवृत्तिले निरन्तरता पाउने देखिँदै छ ।

तर, आवतजावत गर्नुनपर्दा थप धेरै घन्टा काम गरिरहेको तथ्यलाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन । र, हामीले अतिरिक्त गरिरहेको त्यो समयको कुनै भुक्तानी हुँदैन । त्यो समय सित्तैमा कार्यालयका लागि दिनुपरेको छ । यी सबै नयाँ फेरबदलले हाम्रो काम र निजी जीवनबीचको सन्तुलनमा कडा चुनौती थोपरेको छ । साथै, यो परिस्थितिले हामीलाई हाम्रा केही निश्चित मूल्य मान्यताहरू अब बासी भइसकेको स्विकार्न दबाब दिइरहेको छ । 

‘आइडल वर्कर’को परिभाषा हिजोआज भत्किन खोज्दै छ । धेरै समय काम गर्ने कामदार नै सबैभन्दा मूल्यवान् कामदार भन्ने धारणा थियो, जो हरसमय कामका लागि कार्यालयमा उपलब्ध र समर्पित हुन्थ्यो । अधिकांश कामकाजी महिलाका लागि यो अवधारणा अर्थहीन थियो । किनभने, उनीहरूले सधैँ कार्यालय र घरको दायित्व दुवै एकैसाथ निर्वाह गर्नुपर्ने बाध्यता झेल्नुपरेको थियो । 

क्यालिफोर्निया विश्वविद्यालयको हास्टिङ्स कलेज अफ द ल स्थित ‘सेन्टर फर वर्क लाइफ ल’का संस्थापक निर्देशक जोन सी विलियम्सले हार्वर्ड बिजनेस रिभ्युको आलेखमा उल्लेख गरेकी छन्– आदर्श कामदारको अवधारणा ‘दाल–भातको जोहो गर्ने, घरपरिवार सम्हाल्ने’ मोडलमा आधारित छ । यो अघिल्लो युगको अवशेष हो, जुन युगमा एउटा आमपुरुष कार्यालयमा काम गथ्र्यो र महिला घरमै सीमित थिए । विलियम्स तर्क गर्छिन्, ‘आदर्श कामदारको मान्यताले महिलालाई ठूलो अन्याय गरेको छ । उनीहरूले घरको काम मात्रै गर्दैनथे, उनीहरूले आफ्नो घरपरिवारको दायित्व पनि निर्वाह गर्नेछन् भन्ने अपेक्षा गरिन्थ्यो ।’ उनी भन्छिन्– ‘आदर्श कामदारको त्यस पुरातन सोचलाई थन्क्याउने कुनै उपयुक्त समय छ भने त्यो अहिले नै हो । आमेन ।’ 

हामीले हाम्रो मूल्य, हाम्रो औपचारिक रोजगारीमा निर्भर हुँदोरहेनछ भन्ने तथ्यको पनि गहिरो बोध गरिरहेका छौँ । हार्वर्ड केनेडी स्कुलमा ‘लिडरसिप फर द ट्वान्टिवान सेन्चुरी’ कार्यक्रमका अध्यक्ष टम ओब्रिन औँल्याउँछन्, ‘जब हाम्रो पेसागत भूमिकासँग स्वत्वको भावना टकराउँछ, त्यहाँनेर हामी हाम्रो सम्भावना गुमाउँछौँ र हाम्रो मूल्यांकनले दुःख पाउँछ ।’ उनी लेख्छन्– यो त्यतिवेला झनै नकारात्मक हुन पुग्छ, जतिवेला तपाईंको भूमिका तपाईंकै निजी मूल्यसँग मेल खाँदैन । तपाईंभित्र आफूले पहिले निर्वाह गरेको भूमिकाका लागि मात्रै तपाईं उपयोगी र मूल्यवान् हुनुहुन्थ्यो भन्ने भावना आउन थाल्छ ।

ओपेरा गायिका इमिलीले यही अन्तरबोध मनमा लिएजस्तो देखिन्छ । ‘मलाई थाहा छैन, अब म फेरि कहिले अभिनय गर्नेछु ।’ उनले हामीसँग भनिन्, ‘मलाई लाग्छ, मैले म कामले अस्तित्व जोगाएकी मानिस होइन भन्ने आफूलाई नै सान्त्वना दिइरहनुपर्छ । अहँ, म आफूलाई त्यसरी परिभाषित गर्न सक्दिनँ ।’ १५ वर्षदेखि पछ्याइरहेको परिचयबाट निस्किएर उनी अहिले आफ्नो नयाँ अन्तरबोध दृष्टिगोचर गरिरहेकी छन् ।

निश्चय पनि यी पछिल्ला केही महिनाले धेरै महिलालाई नयाँ सम्भावना र दृष्टिकोण लिन बाध्य बनाएको छ । पोडकास्टकी तेस्री अतिथि लिसा, जो स्वस्थ्य सेवा उद्यमी हुन्, उनले हामीसँग भनिन्, ‘जब कोभिडको बज्र प¥यो, हरेक कुरा स्थिर भए । म मेरा तमाम रस्साकस्सीबाट एकाएक स्थिरतामा पुगेँ र वास्तवमा त्यो कामको चापबाट छुटकारा पाउँदा मैले त आफूलाई ताजा पो महसुस गरेकी छु । यो समय जतिसुकै कठिन होस्, मेरा लागि त व्यक्तिगत रूपले भने राम्रो समय बनेको छ । यसले मलाई नकारात्मकतालाई सकारात्मकतामा बदल्न सक्षम बनाएको छ ।’

यसैगरी, डा. रावले आफ्नो अनुसन्धानमा रोजगारी गुमाएर पीडित भएका महिलामध्ये धेरैमा दृढसंकल्प र लचिलोपन भेटेकी छन् । ‘यसले महिलालाई कसरी पुनः श्रम बलमा फर्कने भनेर सोचविचार गर्न बाध्य बनाएको छ,’ उनी भन्छिन्, ‘उनीहरू आफ्नै सर्तमा श्रम बजारमा फर्कने सोच्दै छन्, म जे गर्छु अब त्यसमा मेरो अझ बढी नियन्त्रण हुनेछ । हुन सक्छ, म आफ्नो निजी कार्यालय खोलुँला वा परामर्शदाता बनेर आफ्नै काम गरुँला ।’ 

यहाँ म एकदमै सुन्दर चित्र खिच्न चाहन्नँ, सन् २०२० निकै निर्मम रह्यो । केही महिलाका निम्ति उन्नति र रोजगारीका लागि थुप्रै अवसर सिर्जना पनि भए होलान्  । त्यति हुँदाहुँदै पनि जति रोजगारी गुमेका छन्, ती अब कहिल्यै पुनर्बहाल हुन सक्ने छैनन् । बाँकी महिलाले आउँदा दिनमा नयाँ मार्गहरू खोल्नेछन् र त्यो नै उनीहरूका लागि अधिक सन्तोषजनक हुनेछ । त्यो स्वागतयोग्य हुनेछ ।

सन् २०२० को यो संकटबाट हामी सबैले सिक्नुपर्ने एउटा पाठ के हो भने वर्तमान समय महिलाहरूका लागि आफ्नो अपेक्षा पूरा गर्ने र रोजगारदातालाई त्यो अपेक्षाको सम्मान गर्न लगाउने समय हो । यो कुनै बाहिरी आदर्शको कुरा गर्ने समय होइन । हामी सामान्य अवस्थामा तत्कालै फर्कनेछैनौँ । एक अर्थमा यो राम्रो पनि हो ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य