मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २३ बिहीबार १९:२६:००
Read Time : > 1 मिनेट
फिचर

लन्डनमा ३० वर्षयता पहिलोपटक जनसंख्यामा गिरावट

Read Time : > 1 मिनेट
२०७७ पौष २३ बिहीबार १९:२६:००

लन्डनमा ३० वर्षपछि पहिलोपटक जनसंख्यामा गिरावट आएको छ । एक अध्ययन रिपोर्टका अनुसार कोरोना महामारीका कारण निम्तिएको आर्थिक अभाव र रोगका कारण जनसंख्या घट्दो क्रममा लागेको हो । 

अध्ययन संस्था एकाउन्टेन्सी फर्म पिडब्ल्युएसीको तथ्यांकअनुसार लन्डनमा यस वर्ष तीन लाख जनसंख्या घटेको हुनुपर्छ । लन्डनको जनसंख्या करिब ९० लाखबाट ८७ लाखमा झरेको रिपोर्टले देखाएको छ । जसलाई सन् १९८८ यताकै सबैभन्दा धेरै जनसंख्या गिरावट मानिएको छ । 

सामान्यतया महामारीका कारण जीवनशैलीमा परिवर्तन आउनु र अन्यन्त्र बसाइँसराइका कारण जनसंख्या घट्ने पूर्वाअनुमान गरिएको थियो । जनसंख्या घट्दै जानुको मुख्य कारण भने महामारीलाई नै ठानिएको छ । महामारीका कारण आर्थिक उपार्जनमा असर परेका कारण जनसंख्या वृद्धिदर रोकिएको हुन सक्ने रिपोर्टको अनुमान छ ।

लन्डनमा जनसंख्या घट्दै जानुको अर्को कारण रोजगारीको अवसर घट्दै जानु पनि हो । सामान्यतया लन्डनमा विद्यार्थीका लागि रोजगारीको अवसर घटेपछि यहाँबाट बाहिरिनेको संख्या बढेकोको हो । योसँगै रोजगारीको अवसर घटेपछि अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा पनि घटबढ हुने अनुमान गरिएको छ ।

सन् २०१६ देखि नै लन्डन युरोपेली युनियनबाट बाहिरिएका कारण जनसंख्या घटिरहेको बताइन्छ । जुन २०२१ मा झन् वृद्धि हुने पूर्वानुमान गरिएको छ । 

एकान्टेन्सी फर्मले सन् २०२१ मा बेबी बस्ट नामक रिपोर्ट पनि सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । यो वर्ष न्यून जन्मदरका कारण पनि जनसंख्यामा गिरावट आएको पाइन्छ । महामारीको समयमा स्वास्थ्य असुरक्षाका कारण जन्मदरमा प्रत्यक्ष प्रभाव परेको छ । यद्यपि, आधिकारिक जनसंख्या गणना भने प्रकाशित भइसकेको छैन । तर, पिडब्ल्युसीले यो वर्षको अगस्टमा गरेको अध्ययनअनुसार कुल संख्याको ४.६ प्रतिशत एक वर्षको अन्तरालमा लन्डनबाट बाहिरिनेछ । अर्थात् चार लाख १६ हजार व्यक्तिले सर्भेको समयमा अबको १२ महिनाभित्रमा लन्डन छोड्ने बताएका थिए । 

बेलायतमा बेरोजगारीको समस्या भने दिनानुदिन बढिरहेको विभिन्न सर्भेले देखाइरहेका छन् । सर्भेका अनुसार, लन्डनमा मात्र नभई बेलायत र युरोपका अन्य मुख्य सहरमा बेरोजगारी मुख्य समस्याको रूपमा देखिन थालेको छ । यो तथ्यांक तीन सय वर्षयताकै धेरै गिरावट भएको अध्ययनले देखाउँछ । अर्थशास्त्रीहरूका अनुसार मुख्य सहरहरूमा मानिसको घनत्वअनुसार रोजगारीको अवसर नहुनु यसको मुख्य कारण हो । सामान्यतया लकडाउनको समयमा पूर्ण रूपमा बन्द रहेका, आर्थिक समस्या र अन्य कारणले गर्दा पुनः सञ्चालनमा आउन नसकेका क्षेत्र जस्तै मनोरञ्जन, रेस्टुरेन्ट, पार्क, पार्टी प्यालेस, पर्यटन आदि व्यवसाय धराशायी हुनुले रोजगारीको अवसर घटेको पाइन्छ । 

संक्रमणबाट बच्नका लागी वर्क फर्म होम अर्थात् घरबाटै काम गर्ने पेसाबाहेकका अन्य व्यवसाय र पेसाकर्मीको रोजगारी गुमेको छ । कोरोना भाइरसको दोस्रो प्रजाति फैलिएपछि लगाएको लकडाउनका कारण आर्थिक उपार्जनमा ठूलो असर पारिरहेको छ । अझै केही परिस्थिति अनुकूल हुन समय लाग्ने हुँदा जनसंख्यामा ठूलो असर देखिने बताइन्छ । जनसंख्या घट्दै जानुलाई कतिपय विज्ञहरूले दोस्रो विश्वयुद्धसँग तुलना गरेरसमेत हेरिरहेका छन् । दोस्रो विश्वयुद्धमा युद्धको प्रभावका कारण बेलायतमा जनसंख्यामा ठूलो गिरावट आएको थियो । 
–एजेन्सीको सहयोगमा