मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रुही तिवारी
२०७७ पौष २३ बिहीबार ०८:०२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बंगाल चुनावमा भाजपाको द्विविधा

Read Time : > 2 मिनेट
रुही तिवारी
२०७७ पौष २३ बिहीबार ०८:०२:००

सन् २०१४ को लोकसभा निर्वाचनमा जितेर आएपछि मोदी तुरुपको पत्ता साबित भइरहेका छन् 

पश्चिम बंगालको नजिकिँदै गरेको विधानसभा चुनावमा आफ्ना लागि एक शक्तिशाली अनुहार खोज्ने भाजपाको कोसिस अहिले भारतका पूर्वक्रिकेट कप्तान सौभर गांगुलीको वरिपरि घुमिरहेको छ । तर, सँगै यो प्रश्न पनि उठ्छ कि भाजपाका लागि प्रधानमन्त्री नरेन्द्र मोदी नामको ब्रह्मास्त्र हुँदाहँुदै उसलाई किन अन्य अनुहारको आवश्यकता पर्‍यो ? एउटा डर छ, नरेन्द्र मोदी र ममता बनर्जीबीच ठूलो स्तरको प्रतिस्पर्धा गराउँदा भोलि भाजपा हार्‍यो भने प्रधानमन्त्रीको छविमै असर पर्ने देखिन्छ । 

सन् २०१४ को लोकसभा चुनावमा जित हासिल गरेपछि मोदी भाजपाका स्थापित नेता नभएका राज्यमा पनि तुरुपको पत्ता साबित भइरहेका छन् । सन् २०१५ मा प्रयोगकै रूपमा भाजपाले दिल्ली विधानसभामा एक शक्तिशाली प्रतिद्वन्द्वीविरुद्ध एकजना ‘सेलिब्रिटी’ अनुहार किरण बेदीमाथि दाउ लगाएको थियो । त्यस चुनावमा पार्टीेले सामना गरेको अपमानजनक झट्का उसले सायदै भुलेको होला । अहिले आएर भाजपा पुनः उही द्विविधामा फसेको छ । मुख्यमन्त्रीको पदका एक उमेदवार घोषणा गरेर मोदीको नाममा चुनाव लड्ने कि सीधै मोदी भर्सेस ममता बनर्जीको टक्करको जोखिम उठाउने ? 

बंगाल चुनाव आउन अब केही अवधि बाँकी अवस्थामा भाजपाले अहिलेसम्म आफ्नो रणनीति तय गर्न सकेको छैन । जबकि सन् २०१७ को उत्तर प्रदेश चुनावमा सुरुदेखि नै भाजपाले मोदीलाई प्रमुख अनुहारका रूपमा देखाउने फैसला गरेको थियो । सन् २०१७ को चुनावमा भाजपाले पूरै मोदीको नाममा चुनाव लड्यो । त्यस चुनावमा मैले सो राज्यका केही स्थान घुम्दा कैयौँ स्थानमा मानिसलाई आफ्नो क्षेत्रको भाजपा उमेदवारको नामसम्म पनि थाहा थिएन । र, नोटबन्दीका कारण बनेको प्रतिकूल माहोलका बाबजुद मोदीको नाममा चमत्कारी जनादेश प्राप्त भयो । सोही वर्ष भाजपा चुनावी अभियानमा मोदीलाई केन्द्रमा राखेर त्रिपुरामा वाम–मोर्चा सरकारलाई फाल्न सफल भयो । यसबीच भाजपाले आफ्नो सत्ता रहेका मध्य प्रदेश, राजस्थान, छत्तीसगढ र महाराष्ट्रजस्ता ठूला राज्यहरू गुमाएको भए पनि मोदीको नाममा भाजपाको चुनावी अभियान सफल नै रह्यो । 

पश्चिम बंगालमा भाजपाको भिडन्त त्यस्तो हस्तीसँग हुँदै छ, जसले एकल प्रयासमा नयाँ पार्टी गठन गरेर तीन दशकदेखि सत्तामा रहेको कम्युनिस्ट सरकार अपदस्थ गरेकी थिइन्, भाजपा यी हस्तीसँग भिड्नका लागि नायकको खोजीमा छ 

सन् २०१९ को लोकसभा चुनावको दौरान मेरी सहयोगी मौसमी दास गुप्तले पश्चिम बंगाल घुम्ने क्रममा त्यहाँ पनि मोदी निकै लोकप्रिय रहेको पाएकी थिइन् । त्यसो भए भाजपाले अन्य राज्यमा काम गरेको फर्मुला बंगालमा पनि अपनाउला ? पश्चिम बंगालमा ममता बनर्जीका लागि यसपटकको चुनाव कठिन हुने बताइँदै छ । उनीविरुद्ध एक त एन्टी–इन्कुबेन्सी भावना हुनेछ, त्यसमाथि सरकारमा रहेर उनले त्यति उल्लेखनीय काम गर्न सकेको पनि देखिँदैन । ममताको पार्टीभित्रका कैयौँ नेताले दल छाडिरहेका छन् । 

तर कुनै पनि चुनावी परिणाम सुनिश्चितताका साथ पहिले नै अनुमान गर्न सकिँदैन । भाजपा जति आश्वस्त देखिए पनि ममता सजिलै हार मान्ने पक्षमा छैनन् । मोदी र ममतामा पहिलदेखि नै सौहर्दपूर्ण सम्बन्ध छैन । अघिल्लो लोकसभा चुनावको प्रचारमा दुवै नेताबीच आरोप–प्रत्यारोप देखिएको थियो । हालै मोदीले पश्चिम बंगालकी मुख्यमन्त्रीले राज्यलाई नोक्सानी पुर्‍याइरहेको आरोप लगाए । दुवै पक्ष जुन आक्रामकताका साथ लडिरहेका छन्, त्यसलाई हेर्दा यस्तो लाग्छ कि जो पक्ष हार्नेछ, त्यसका लागि राजनीतिक दंश छिटै शान्त हुनेछैन । यही कारण पनि भाजपा पश्चिम बंगाल चुनावलाई ममता बनर्जी भर्सेस मोदी बनाउन विवश हुन सक्छ । 

उल्लेखनीय पक्ष सन् २०२० को दिल्लीको चुनावमा भाजपाले मुख्यमन्त्री पदका लागि कुनै उमेदवार घोषणा गरेको थिएन । यसपटक पनि ऊ अरबिन्द केजरिवालसँग हारेको थियो । मोदी भर्सेस केजरिवाल युद्धमा मोदी हारे, जबकि सन् २०१५ मा उसको अनुहार किरण बेदी थियो । पश्चिम बंगालका भाजपा नेता आगामी चुनाव परिवर्तनका लागि हुने भएकाले कुनै अनुहार आवश्यक नपर्ने बताइरहेका छन् । 

तर पार्टीको ताजा राजनीतिक रुझान व्यक्तिकेन्द्रित भिडन्ततर्फ नै गइरहेको छ । पश्चिम बंगालमा भाजपाको भिडन्त एकजना त्यस्तो हस्तीसँग हुँदै छ, जसले एकल प्रयासमा नयाँ पार्टी खडा गरेर तीन दशकदेखि सत्तामा रहेको कम्युनिस्ट सरकार अपदस्थ गरेकी थिइन् । भाजपा यो हस्तीसँग भिड्नका लागि आफ्नो हस्तीको खोजमा छ । मुख्य प्रश्न, त्यो हस्ती उसले प्रयोग गरिरहेको तुरुपको पत्ता नरेन्द्र मोदी हुनेछन् या सौरभ गांगुलीजस्ता कुनै नयाँ अनुहार, हालसम्म खोजी जारी नै देखिन्छ । 

(तिवारी द प्रिन्टकी सह–सम्पादक हुन्) 
दि प्रिन्टबाट