मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २३ बिहीबार ०८:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड–१९ परिक्षण प्रयोगशालाका १० कर्मचारीले पाएनन् पारिश्रमिक 

Read Time : > 1 मिनेट
२०७७ पौष २३ बिहीबार ०८:५०:००

गुल्मीका स्थानीय तहको समन्वयमा कोभिड–१९ परिक्षण प्रयोगशाला तम्घासमा संचालन भएको छ । प्रयोगशाला संचालन भएका तीन महिना भन्दा बढि भयो ।  ०७७ जेठ ३१ गतेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेसन सेन्टर संचालन गर्ने निर्णय गरेका थिए । 

समितिले प्रयोगशाला र आइसोलेनको लागि आवश्यक उपकरण खरिद र जनशक्ति व्यवस्थापनको लागि प्रति नगरपालिका १५ लाख र प्रति गाउँपालिका १० लाख उपलब्ध गराउने निर्णय गर्‍यो । सोहि निर्णय अनुसार प्रयोगशालामा गुल्मी अस्पताल मार्फत १० जना स्वास्थ्यकर्मी र कर्मचारी भर्ना गरिएको छ । तर, आफुले निर्णय गरेको रकम केहि स्थानीय तहले अझै दिएका छैनन् । जसका कारण प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट बञ्चित भएका छन् । 

प्रयोगशालामा कार्यरत टेक्नोलोजिष्ट दुई जना, टेक्निसियन तीन, असिस्टेण्ट दुई, कम्प्युटर अपरेटर एक, हेल्पर एक र एक जना कुकले पारिश्रमिक पाएका छैनन् ।  उनीहरुले ०७७ असोज ८ गतेबाट कोभिड–१९ परिक्षण प्रयोगशाला तम्घासमा काम गर्न थालेका थिए । 

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार गुल्मी दरवार, सत्यवति र चन्द्रकोट गाउँपालिकाले रकम उपलब्ध गराउने विषयमा कुनै चासो दिएका छैनन् । अहिलेसम्म रेसुंगा नगरपालिकासहित इस्मा, मालिका, धुर्कोट, रुरु क्षेत्र र छत्रकोटले गाउँपालिकाले निर्णय अनुसार रकम दिएको रेसुंगा नगरपालिकाका कार्यक्रम अधिकृत बिनोद मरासिनीले जानकारी दिए ।

कालिगण्डकी गाउँपालिकाले पाँच लाख दिएको छ । अझै पाँच लाखको लागि प्रक्रियामा रहेको मरासिनीले बताए । उनका अनुसार मुसिकोट नगरपालिकाले १० लाख र मदाने गाउँपालिकाले १० लाख उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएका छन् । 

रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आफुहरुले सक्ने रकमबाट प्रयोगशाला र आइसोलेसनको व्यवस्थापन गरेपनि रकम दिन बाँकी रहेका स्थानीय तहले नदिएसम्म स्वास्थ्यकर्मीलाई पारिश्रमिक दिने अवस्था नभएको बताए ।

 प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीले नै पारिश्रमिक नपाएपछि जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका मेयर र गुल्मी अस्पताल प्रमुख लगायतलाई ध्यानाकर्षण गराएको मेडिकल ल्याव टेक्नोलोजिष्ट मुना क्षेत्रीले जानकारी दिइन् । 

उनले कोरोना संक्रमणको बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीहरुनै पारिश्रमिक विहिन बन्नु लज्जाको बिषय भएको प्रतिक्रिया दिइन् । 

स्वास्थ्यकर्मीहरुको टोलीले ०७७ पुस ५ गते जिल्ला अस्पताल मार्फत जिल्ला समन्वय, जिल्ला प्रसाासन र नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । त्यसको केहि सुनुवाई नभएपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको ध्यानाकर्षण गराएको ल्याव टेक्निसिय दिपेन्द्र पन्थीले जानकारी दिए ।