Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ पौष २३ बिहीबार ०६:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साना पर्यटन व्यवसायीप्रति बैंकहरू अनुदार, धमाधम लिलामीका सूचना

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ पौष २३ बिहीबार ०६:३५:००

कोभिड–१९ को मारमा परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारले नीति तथा कार्यक्रमदेखि मौद्रिक नीतिसम्म विभिन्न सहुलियतको घोषणा गरेको छ । तर, बैंकहरू भने साना पर्यटन व्यवसायीप्रति अनुदार बन्न थालेका छन् ।

ठूला तारे होटेल तथा एयरलाइन्सहरूले सहुलियत कर्जा तथा ऋणको पुनर्तालिकीकरण भइरहेको भए पनि साना होटेल तथा अन्य व्यवसायीहरूलाई भने ऋण नतिरेको भन्दै बैंकहरूले ३५ दिने लिलामीका सूचना जारी गर्न थालेका छन् । लिलामीको सूचना आउन थालेपछि आम्दानी शून्य भएका साना पर्यटन व्यवसायीहरू गुहार माग्न राष्ट्र बैंकदेखि पर्यटन मन्त्रालयसम्म धाए पनि समस्या समाधान नभएको बताएका छन् । 

‘हाम्रा व्यवसायीलाई लिलामी सूचना निकाल्न थालिएको छ, आम्दानी छैन, किस्ता र ब्याज कसरी तिर्नु,’ पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले भने, ‘पर्यटक यातायात सञ्चालन गर्ने एक दर्जन व्यवसायीको गाडी लिलामीको सूचना बैंकहरूले निकालिसकेकाले व्यवसायीहरू समस्यामा परेका हुन् ।’  

पर्यटक यातायातमा मात्रै १४ अर्ब लगानी रहेकोमा बैंकहरूको ८ अर्ब कर्जा रहेको शर्माको भनाइ छ । उनले भने, ‘अहिलेसम्म कुनै पनि व्यवसायीको ऋणको पुनर्तालिकीकरण पनि भएको छैन, सहुलियतको ऋण पनि पाउने प्रक्रियामै जान सकेका छैनन् ।’ काठमाडौं, पोखरा, चितवन र भैरहवामा गरेर २८ सय पर्यटक यातायात सञ्चालनमा छन् ।

अधिकांशमा बैंकको लगानी  छ ।  हजारौँको संख्यामा रहेका साना होटेलहरूलाई पनि बैंकहरूले ताकेता गर्दै लिलामीको सूचना निकाल्न थालेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स एसोसिएसन (नाट्रा) का अध्यक्ष अच्युत गुरागाईंले बताए । 

नेपालमा ३ हजारभन्दा बढी ट्रेकिङ कम्पनी, २ हजारभन्दा बढी ट्राभल्स कम्पनी, ५ सयको हाराहारीमा  र्‍याफ्टिङ कम्पनी तथा ३ हजारभन्दा बढी ननस्टार होटेल र ३ हजारकै संख्यामा रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन् । अधिकांशले बैंकबाट ऋण लिएर लगानी गर्ने गरेका छन् । पर्यटक आगमन शून्य भएसँगै साना पर्यटन व्यवसायी झनै मारमा परेका हुन् । ‘राष्ट्र बैंकमा कुरा गर्दा प्रक्रिया मिलाउनुस् भन्नुहुन्छ, उहाँहरूको प्रक्रिया बैंकहरूले मान्दैनन्,’ अध्यक्ष शर्माले भने । 

कोभिड–१९ का कारण सन् २०२० मा पर्यटक आगमन दरमा ८१ प्रतिशतले गिरावट आएको छ । गत ११ चैतदेखि एयरलाइन्स सेवा ठप्प पारेसँगै पर्यटक आगमनसमेत बन्द भयो । जसका कारण सन् २०२० मा इतिहासकै कम पर्यटक भित्रिए ।

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएकामा सन् २०२० मा घटेर २ लाख ३० हजार ८५ पर्यटक मात्रै नेपाल भित्रिएका छन् । साना होटेलहरूमा आन्तरिक पर्यटकले गर्दा केही सहज हुन सक्ने भए पनि ठूला होटेलहरू तीन वर्ष सहज रूपमा चल्न नसक्ने निष्कर्ष निकालिएको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।