मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २२ बुधबार ०९:२७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पल्सर अवार्ड : गौरिका, मन्देकाजी र सुवास दुई–दुई विधामा मनोनयन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २२ बुधबार ०९:२७:००

१७औँ संस्करणको पल्सर स्पोर्टस् अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक गरी चार विधामा मनोनयनमा परेका खेलाडीको सूची सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सबै विधामा पाँच–पाँचजना मनोनयन भएको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)का सचिव तथा छनोट समितिका संयोजक गोविन्द रेग्मीले जानकारी दिए । मञ्चले १३औँ सागमा नेपाललाई दिएको सफलताका आधारमा खेलाडीदेखि प्रशिक्षकलाई मनोनयन गरेको जनाएको छ । 

पल्सर स्पोर्टस् अवार्डमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ फरक–फरक विधामा मनोनीत भएका छन् । सबै खेलाडी गत वर्ष काठमाडौंमा सम्पन्न सागका स्वर्ण पदक विजेता हुन् । गौरिकाले सर्वाधिक चार स्वर्ण हात पारेकी थिइन् ।

मन्देकाजी र सुवासले समान दुई स्वर्ण जितेका थिए । सुवास वर्षका उत्कृष्ट पुरुष र युवा विधाको मनोनयनमा परेका छन् । उत्कृष्ट महिलाको मनोनयनमा परेकी गौरिकासँगै मन्देकाजी पिपुल्स च्वाइस अवार्डमा पनि मनोनीत भएका छन् । वर्षका उत्कृष्ट पुरुष खेलाडीमा मन्देकाजी, सुवाससँगै एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथू छन् ।

यसैगरी, उत्कृष्ट महिला खेलाडीमा गौरिकासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारी छन् । वर्षका उत्कृष्ट युवा खेलाडीमा सुवासका साथै तेक्वान्दोकी सिना लिम्बू मादेन र भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरी मनोनयन भएका छन् ।

सागमा नेपाललाई उत्कृष्ट नतिजा दिलाउन प्रशिक्षकको महत्वपूर्ण भूमिका निर्वाह गरेका तेक्वान्दोका नवीन श्रेष्ठ, करातेका मदन उप्रेती, उसुका अमरकुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापा मगर वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेको मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशीले जानकारी दिए । गौरिका र मन्देकाजीसँगै पिपुल्स च्वाइस विधामा भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनीत भएका छन् । 

अवार्ड २८ पुसमा ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमिभर्चुअल रूपमा हुनेछ । मञ्चले विभिन्न १० विधामा अवार्ड दिनेछ । पल्सर स्पोर्टस् अवार्डमा पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षकसँगै, पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, एकजना अन्तर्राष्ट्रिय खेल पत्रकारको घोषणा कार्यक्रमकै दिन हुने बताइएको छ ।

छनोट समितिले २०७६ मा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शन तथा हात पारेको नतिजाका आधारमा मनोनयन गरिएको जनाएको छ । यस वर्षदेखि पारा–एथलिट अवार्डलाई ‘पारा–एथलिट सम्मान’को नाम राखिएको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।