मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २२ बुधबार ०८:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उखु किसानको बक्यौता असुलीमा ढिलासुस्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २२ बुधबार ०८:१७:००

२१ दिनभित्र उखु किसानको ६६ करोड रुपैयाँ बक्यौता उठाउने सर्तमा आन्दोलन स्थगित भएको एक साता बित्दा पनि उद्योगीबाट ठूलो रकम असुली हुन सकेको छैन । १३ पुसमा किसानसँग आन्दोलन स्थगित गर्ने सहमति हुनुअघि उद्योगीले ३३ करोड ५० लाख बक्यौता किसानको खातामा हालिदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको थियो ।

त्यतिखेर रौतहटको श्रीराम सुगर मिलले २६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलले २ करोड र अन्नपूर्ण तथा इन्दिरा सुगर मिलले साढे ५ करोड रुपैयाँ किसानहरूलाई भुक्तानी दिएका थिए । त्यसपछि बाँकी रहेको ३२ करोड ५० लाख २१ दिनभित्र दिलाउने सहमति भए पनि किसानको खातामा पैसा नआएको उखु किसान संघ, नवलपरासीका महासचिव गोपाल यादवले बताए ।

उनले भने ‘सहमति भएको एक साता अवधिको पछिल्लो २–३ दिनयता लुम्बिनी चिनी मिलले प्रतिदिन ५० लाख रुपैयाँका दरले भुक्तानी दिइरहेको छ ।’  उखु किसानका संरक्षक राकेश मिश्रका अनुसार सहमती भएको एक साता बित्दा पनि थप रकम निकासा भएको छैन ।

मंगलबारबाट भुक्तानी गर्ने बताएपनि किसानको खातामा पैसा गएको छैन । ‘उद्योगीको खाता रोकेर सरकारले कारबाही अघि बढाएको कुरा आएको छ, तर उद्योग मन्त्रालयसँग बुझ्दा किसानलाई बुझाउनुपर्ने रकम तिर्नका लागि प्रयोग हुने खाता रोक्का भएको छैन भनिएको छ’ मिश्रले भने ‘ उद्योगी र मन्त्रालयको कुरा बाझिदा किसानले बक्यौता रकम पाउन शुरु भएको छैन ।’ कार्यदल गठन गर्ने काम पनि अहिलेसम्म अघि नबढेको उनले बताए । 

लुम्बिनी चिनी मिलका सञ्चालक महेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेपछि प्रतिदिन ५०–६० लाख रुपैयाँका दरले किसानको खातामा पैसा पठाउने सहमति गरी उनी छुटेका थिए । सोही सहमतिअनुसार अहिले किसानलाई दैनिक ५० लाख रुपैयाँका दरले पैसा दिइरहेको यादवले बताए । लुम्बिनी चिनी उद्योगबाट किसानले ८ करोड पाउन बाँकी रहेको सरकारी तथ्यांक छ । अहिलेसम्म उद्योगले मुस्किलले साढे ३ करोड भुक्तानी गरेको किसानहरूले बताएका छन् । 

सबैभन्दा धेरै बक्यौता रहेको सर्लाहीको अन्नपूर्ण सुगर मिल र नवलपरासीको इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालले भुक्तानीमा ढिलाइ गरिरहेका छन् । सरकारले उनलाई पक्राउ पुर्जी जारी गरेपछि साढे ५ करोड दिएका थिए । त्यसपछि राष्ट्र बैंकको निर्देशनमा उनका नाममा रहेका सबै खाता रोक्का भएका थिए ।

‘पक्राउ पुर्जी जारी भएपछि राकेश अग्रवालका खाता रोक्का भएका रहेछन् । त्यसैले भुक्तानी गर्न पाइनँ भन्ने कुरा आएपछि मन्त्रालयसँगको समन्वयमा सोमबार अग्रवालका खाता सुचारु भएको सुनेका छौँ,’ यादवले भने । सरकारी तथ्यांकअनुसार अग्रवालको अन्नपूर्ण सुगर मिलले १७ करोड र इन्दिरा सुगर मिलले ५ करोड रुपैयाँ किसानलाई दिन बाँकी छ ।रौतहटको श्रीराम सुगर मिलले भने करिब २७ करोड भुक्तानी दिएर बन्द गरेको छ । सरकारी तथ्यांकअनुसार सो उद्योगले ३६ करोड भुक्तानी गर्न बाँकी छ ।