फेसबुक र व्यक्तिगत तथ्यांक संरक्षण

२०७५ माघ २८ सोमबार ०७:२६:०० | काठमाडाैं

हामी जानी–नजानी आफ्ना अनेक व्यक्तिगत गोप्य सूचना खुरुखुरु फेसबुकलाई दिएर जुकरबर्गलाई धनी बनाइरहेका छौँ

संसारलाई जोड्ने उद्देश्यले सन् २००४ मा युवा मार्क जुकरबर्गले सुरु गरेको सामाजिक सञ्जाल फेसबुकमाथि यतिखेर आक्रमण गर्नेमा उनका सुरुवाती दिनका सहलगानीकर्ता, पथप्रदर्शक, फेसबुककै पूर्वकर्मचारी र सिलिकन भ्यालीका अनुभवी पनि लागिपरेका छन् । विशेषगरी सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनाव र सन् २०१८ को अप्रिलमा जुकरबर्गको कमजोरी स्वीकारपछि फेसबुकमाथि आलोचनाको वर्षा भएको हो । 

नारायणप्रसाद घिमिरे

प्रजातन्त्र र प्रविधि : अमेरिकाजस्तो प्रजातान्त्रिक देशमा पनि प्रविधि दुरुपयोग गरी आफ्नो राजनीतिक भविष्य सुनिश्चित गरेको घटनाबाट विकासशील तथा विकसित देशले शिक्षा लिनु र सावधानी अपाउनु जरुरी छ । शक्तिशाली व्यक्तिले कसरी राष्ट्रिय घटनालाई प्रभाव पार्छन् भन्ने पनि यसबाट प्रस्ट हुन्छ । कसरी भयो त फेसबुकको दुरुपयोग ?

अभिव्यक्ति स्वतन्त्रताको उन्नयनमा भूमिका खेल्ने प्रभावकारी चौतारी मानिएको फेसबुकका तथ्यांक यसका प्रयोगकर्तालाई थाहै नदिई जुकरबर्गले बेचिदिए । प्रयोगकर्ताको व्यक्तिगत सूचना अर्थात् उनीहरूले फेसबुकमा राखेका स्टाटस, लाइक, इभेन्ट, ग्रुप आदिबारे सम्पूर्ण सूचना एउटा राजनीतिक विश्लेषण कम्पनी क्याम्ब्रिज एनालाइटिकालाई बेचिदिए ।

यी बेचिएका करोडौँ व्यक्तिगत सूचनामा खेलेर प्रायोजित गलत सूचना जारी गर्ने, विज्ञापन गर्ने र चुनावअघि अमेरिकी मतदातालाई प्रभाव पार्ने काम ट्रम्पका चुनाव प्रचारकले गरे ।

क्याम्ब्रिज एनालाइटिकाका पूर्वकर्मचारीले दिएको जानकारी भन्दै सन् २०१८ मार्च १७ को अनलाइन संस्करणमा न्युयोर्क टाइम्स लेख्छ– अनुमतिविना क्याम्ब्रिज एनालाइटिकाले पाँच करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक लिएको थियो, जो सामाजिक सञ्जालको इतिहासमै सबैभन्दा धेरै तथ्यांक चुहावट हो ।

पछि यो संख्या बढेर आठ करोड पुगेको समाचार आए । यिनै तथ्यांकको प्रयोगबाट अमेरिकी चुनाव प्रचार अभियानमा ट्रम्पलाई समर्थन पुग्ने गरी प्रचार–प्रसार भयो । 

फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग भएको, गोपनीयता भंग गरेको आरोप लाग्दा सुरुमा मौनता साधेका जुकरबर्गले अन्ततः अमेरिकी सिनेटरसमक्ष आफ्नो कमजोरी स्विकारे र सन् २०१८ समस्या समाधानको वर्ष हुने घोषणा पनि गरे । उनले आफ्ना प्रायोगकर्ताका गोपनीयता र डाटा संरक्षणमा के–के प्रयास गरे, त्यो क्रमशः आउने नै छ ।

अमेरिकामा यो रहस्योद्घाटनपछि ब्रेक्जिट निर्णयले आजित भएका एकथरी बेलायतीले पनि जुकरबर्गमाथि निगरानी राखे, उनको चौतारीमाथि अध्ययन अनुसन्धान सुरु गरे । फेसबुकलाई यतिखेर इयू डाटा प्रोटेक्सन ल उल्लंघन गरेको आरोप छ । 

सल्लाहकार नै कटु आलोचक : सन् २००६ मा याहुले फेसबुक किन्ने प्रस्ताव गर्दा रोगर म्याकनेमीले जुकरबर्गलाई फेसबुक नबेच्न, बरु यसलाई अरूभन्दा भिन्न पहिचानको बनाएर राख्न सुझाब दिए । नभन्दै जुकरबर्गले फेसबुक बेचेनन् । तर, बिस्तारै म्याकनेमीले फेसबुक मन पराउन छाडे ।

म्याकनेमीले भर्खरै फेसबुकबारे सनसनीपूर्ण किताब लेखेका छन्– ‘जुक्ड : वेकिङ् अप टु द फेसबुक क्याटास्ट्रोफ’ । यही जनवरी २९ मा वासिंटन पोस्ट अनलाइनमा टोम विसेलले यो किताबबारे विश्लेषणात्मक लेख लेखेका छन् । विसेलले म्याकनेमीको किताब जुक्डलाई ‘फेसबुकविरुद्धको घोषणापत्र’ भनेका छन् ।

आफू पनि व्यवसायी रहेका म्याकनेमी फेसबुकबारे भन्छन्, ‘मैले अहिलेसम्म विशाल कम्पनीमा केन्द्रीकृत निर्णय ढाँचा यही फेसबुकमा मात्रै देखेँ ।’ उनको यो भनाइबाट संकेत मिल्छ, संसारकै चौथो प्रभावशाली कम्पनीका मालिक जुकरबर्ग एकलौटी निर्णय गर्छन्, अरूको कुरा कम सुुन्छन् । 

राज्यभन्दा इन्टरनेट, टेक कम्पनी शक्तिशाली : आजभोलि टेक (प्रविधि) कम्पनी विश्वमा कति शक्तिशाली उद्योगका रूपमा स्थापित हुँदै गएका छन् भन्ने बुझ्न एन्थोनी गार्टन यासको अन्तर्राष्ट्रिय रूपमा चर्चित किताब ‘फ्रि स्पिच : टेन प्रिन्सिपल्स फर अ कनेन्टेड वल्र्ड’ ले पनि सहयोग गर्छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर गार्टनले अभिव्यक्ति स्वतन्त्रताको प्रसंगमा केही संस्था राज्यभन्दा पनि बढी शक्तिशाली भएको बताएका छन् । उनी लेख्छन्, ‘फेसबुक एक्लैले फ्रान्सका तमाम गतिविधिभन्दा बढी प्रभाव जमाउँछ र जर्मनीले गर्ने क्रियाकलापभन्दा गुगल एक्लैका गतिविधि बढी शक्तिशाली छन् । यिनीहरू निजी सुपरपावर हुन् ।’ 

दुई अर्बभन्दा बढी प्रयोगकर्ता भएको प्रविधि कम्पनी फेसबुकका मालिक जुकरबर्ग आफ्नो, परिवार र फेसबुकको गोपनीयतालाई प्राथमिकतामा राख्छन्, तर प्रयोगकर्तालाई भने बढीभन्दा बढी उनीहरूको व्यक्तिगत सूचना खुलासा गर्न, उनको चौतारीमा राख्न हौस्याइरहन्छन् । 

फेसबुकका मालिक जुकरबर्ग आफ्नो, परिवार र फेसबुकको गोपनीयतालाई प्राथमिकतामा राख्छन्, तर प्रयोगकर्तालाई भने बढीभन्दा बढी उनीहरूको व्यक्तिगत सूचना खुलासा गर्न, उनको चौतारीमा राख्न हौस्याइरहन्छन्

हाम्रो सन्दर्भ : हाम्रो जस्तो प्रविधिले भोका मान्छेका लागि फेसबुक सबैथोक नभए पनि थोरैथोक हो । जुकरबर्ग पत्रपत्रिका पढ्दैनन्, उनी आफ्नो उत्पादन फेसबुकसम्बन्धी आएका समचारको शीर्षक एग्रिगेटर मात्र हेर्छन् भने हामीलाई फेसबुकमै मनोरञ्जन छ, समाचार छ, समाचारका स्रोत छन्, विज्ञापनका फेहरिस्त छन्, मित्र मिलन, परिवार नातागोताबीच समाचार आदानप्रदान छ ।

फेसबुकका यी विशेषता चास्नी हुन्, जहाँ हामी नेपाली पनि अरू प्रयोगकर्ताजस्तै झुम्मिरहेका छौँ । यसो गर्दा हाम्रा अनेक व्यक्तिगत गोप्य सूचना–डाटा खुरुखुरु फेसबुकलाई दिएर जुकरबर्गलाई धनी बनाइरहेका छौँ । त्यसको नकारात्मक पाटो के छ ? हामीले कमै सोचेका छौँ । बहस न्यून छ । हाम्रा सूचना–डाटा हाम्रा व्यक्तिगत सम्पत्ति हुन् ।

व्यक्तिगत सम्पत्ति हामी किन यसरी उडाइरहेका छौँ ? फेसबुकका अनेक फाइदाका बादजुद आफ्नो डाटाको सुरक्षाका लागि हामी के गरिरहेका छौँ, के गर्नुपर्छ ? यसतर्फ हामी अनभिज्ञ छौँ । 

सजगता र तयारी : विश्वको कुरा जोड्दा अर्थात् चुनावी प्रचार अभियानमा नेपालमा चुनावको समयमा फेसबुकको दुरुपयोग भयो भएन, भए कसरी भयो भन्ने विषयमा चाहिँ अध्ययन पाइँदैन । प्रायः सम्पूर्ण राजनीतिक दलहरूले आफ्नो पार्टीको प्रचार यो डिजिटल माध्यमबाट मनग्य गरे ।

मतदाताको घरदैलोमा भौतिक रूपमा उपस्थित हुुन नसके पनि फेसबुकमार्फत् उनीहरूमाझ पुगे । अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपयोग गरे । यो राम्रो पक्ष हो, मानव गतिविधिमा प्रविधिले पुर्‍याएको ठूलो योगदान हो । तर, हामीले फेसबुकमा राखेका हाम्रा तथ्यांकको संरक्षण भएको छ कि छैन ?

फेसबुक सार्वजनिक चौतारी भए पनि चौतारीका मालिक एक व्यक्ति हुन् । उनको व्यक्तिगत इच्छामा तपाईं हाम्रा सूचना हाम्रै हानिका लागि प्रयोग हुने सम्भावना रहन्छ कि रहन्न ? यो एक व्यक्ति मात्र होइन, राज्यले पनि सोच्नुपर्ने विषय हो ।

यसका लागि डिजिटल–इन्टरनेट माध्यममा नागरिकका सूचना सुरक्षित राख्न, उनीहरूको गोपनीयताको संरक्षण गर्न कानुनी र पूर्वाधार दुवै हिसाबले नेपालले पनि आफूलाई सक्षम बनाउँदै लैजानु जरुरी छ । सँगै तथ्यांक संरक्षणका नाममा संस्था बलिया तर नागरिक कमजोर भए भने पनि समस्या जटिल हुन्छ । सन्तुलन आवश्यक हुन्छ ।

प्रतिकृया दिनुहोस