मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हे–योङ प्युन
२०७७ पौष २२ बुधबार ०२:१९:००
Read Time : > 4 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२१ प्रिन्ट संस्करण

मेरा बा सियोलको लकडाउनबाट किन भागे ?

Read Time : > 4 मिनेट
हे–योङ प्युन
२०७७ पौष २२ बुधबार ०२:१९:००
(उपन्यासकार प्युनका ‘द ल अफ लाइन्स’, ‘सिटी अफ यास एन्ड रेड’ र ‘द होल’ नामक उपन्यास प्रकाशित छन्)​​​

मेरा बाले कारागारमा फसेको अनुभव गर्न थाल्नुभयो । 

उनले जीवनमा गरेका धेरै काम शारीरिक श्रम गर्नुपर्ने खालेको थियो । ७० वर्षको उमेरमा पनि उनी एक सुरक्षा गार्ड बनेका थिए । काम गर्न नसक्ने गरी बुढो भएपछि उनले नगरद्वारा सञ्चालित वयोवृद्ध केन्द्रमा समय बिताउन थाले । उनी आफ्ना उमेरका बुढाहरूसँग ‘जन्गी’ भन्ने खेल खेल्थे । बाँकी समय सार्वजनिक पुस्तकालयमा पढ्थे र छेउछाउका पार्कमा टहलिन्थे । तर कोभिड– १९ को आगमनले उनले समय बिताउने सबै सेवा एकैपटक बन्द भए । पिताका समाजीकरणका सम्पूर्ण स्थल नै एकाएक हराए । त्यसपछि मेरा बाले जाडो महिना आफ्नो छोराबुहारीको घरमै सीमित हुनुपर्‍यो, जहाँ उनी विगत २० वर्षदेखि बसिरहेका छन् । त्यहाँ उनको दैनिकी केही शब्दको संवाद र केही वर्गफुट क्षेत्र सीमित भयो । 

फेब्रुअरीमा प्रकोपले भयानक मोड लियो र डेगु सहरमा तीव्र रूपमा कस्टरहरू देखिन थाल्यो । स्थिति गम्भीर थियो । संक्रमण नजिकैको अस्पताल वार्ड र नर्सिङहोममा पनि फैलिएपछि मृत्यु हुनेको संख्या ह्वात्तै वृद्धि भयो । कोभिड– १९ ले समाजका सबैभन्दा नाजुक समूहलाई प्रभावित बनाएको स्पष्ट भयो । मेरा पिताले जीवनमा धेरै दुःख देखिसक्नुभएको थियो । जापानी अतिक्रमणका अन्तिम वर्षतिर अर्थात् सन् १९४० मा जन्मनुभएका मेरा पिताले बाल्यकालमा कोरिया युद्ध सामना गर्नुपर्‍यो । सन् १९६० को दशकमा सुरु भएको कठोर औद्योगिक युगमा पिता युवा हुनुहुन्थ्यो । त्यस्तै कोरियाको प्रजातान्त्रीकरण सुरु हुँदा उनी मध्यम उमेरमा पुगेका थिए । 

कोरियाली युद्धको भीषण समयमा पिता १० वर्षको हुँदा, एकजना कम्युनिस्ट कार्यकर्ताले उनको पितालाई मारिदियो । प्रहरीले उल्टो उनका पितालाई कम्युनिस्ट समर्थक ठहर गर्‍यो । उनी हजुरबालाई सम्झँदा सधैँ भन्ने गर्छन्– ‘तिमीहरूको हजुरबा अन्यायपूर्वक मरे ।’ परिवारलाई कम्युनिस्ट पार्टी जोडिएको आरोप लागेपछि मेरा बालाई आफ्नो सपना पछ्याउन कठिन भयो । जीविकोपार्जनका लागि उनी सधैँजसो निर्माणस्थलमा काम गर्थे, तर कहिले पनि बिदा लिँदैनथे । उनले न त रक्सी पिए, न आफूले नगरेको कामको पैसा लिए, न जुवा नै खेले । तर उनका लागि जीवन सुखद रहेन । एकपटक काम गर्ने ठाउँमा उनी झन्डै अग्लो ठाउँबाट लडेका थिए । अर्को समय उनी विदेशमा कागजात नभएको भन्दै फर्काइए । रोगका कारण उनले हाम्री आमा (उनको श्रीमती) पनि चाँडै गुमाए । 

केही वर्षअघि मेरा पिताले बाल्यकालको छिमेकी र त्यसवेलाका प्रहरी अधिकारीको बयानको सहयोगमा आफ्नो पिताको हत्या सम्बन्धमा लामो कानुनी लडाइँ लडे । अन्तिममा हजुरबाको आरोप गलत प्रमाणित भयो र उनी एक देशभक्तमा दरिए । जित सजिलै प्राप्त भएको थिएन, तर उनको पक्षमा फैसला हुँदा उनी निक्कै खुसी भएका थिए । अन्ततः आफूले बाँचेको कठोर जीवनले सार्थकता पाएकोझैँ महसुस गर्दथे । 

कोरोनाको आगमनसँगै जीवन एक्कासि संकुचित भयो (सियोल राष्ट्रिय चिहान क्षेत्र पनि पहुँचबाहिरको स्थल बन्यो, जहाँ मेरो हजुरबालाई भर्खरै स–सम्मानका साथ राखिएको थियो ) । मेरा बाले त्यस्तो एक्लो महसुस पहिले कहिल्यै गरेका थिएनन् । आफ्नो सुनौला वर्ष क्वारेन्टिनमा बिताउन नसकेपछि उनी आफ्नो गृहसहर जाने इच्छा व्यक्त गर्न थाले । सो स्थान देशको दक्षिण–पश्चिममा रहेको ग्वाङ्जुनजिकै रहेको छ । उनी पहिलेदेखि आफ्नो गाउँ फर्कने कुरा गर्थे र अहिले महामारीले उनको इच्छालाई झन् दृढ बनाइदियो । जब एक्लो दिन बिताउनु छ, भने किन प्रिय पहाड तथा खोलाहरूमाझ नबिताउने, उनलाई लागेको होला ?

गाउँ जाने योजनामा हामीले असहमति जनाउँछौँ भनेर होला बाले हामीलाई समेत नबताई सुटुक्क सियोलबाट ग्वाङ्जुको रेल चढेछन् । त्यहाँ पुगेर एक सानो घर भेटेपछि मात्र उनले हामीलाई सूचित गरे । मेरा दाइ–दिदी र म पनि उनको कदममा असन्तुष्ट भयौँ । भाइरसको उच्च जोखिम रहेको एक वृद्ध मान्छे एक्लैले कसरी सामाजिक दूरीको पालना गरेर दिन बिताउन सक्ला भन्ने हाम्रो डर थियो । 

अनलाइनमा रमाउने बानी बसिसकेको र एक बटन दाबेको भरमा सामान मगाउन सक्ने हामीहरूले सायद बाको एक्लोपनको पीडा बुझ्न सकेनौं । हामीलाई अझै पनि वृद्ध हुनुको अनुभव पनि छैन, न त सुरक्षाको नाममा घरभित्रै बेवास्ता र बहिष्कृत हुनुको अनुभव छ ।

खबर पाउनासाथ म र मेरा दिदी–भाइ हतारिएर रेलमार्फत ग्वाङ्जु गयौँ । हाम्रो उद्देश्य बालाई मनाएर सियोल फर्काउने र घरमा सुरक्षित राख्ने थियो । रेल खाली थियो । त्यो दिन (फेब्रुअरी २९) आठ सय १३ मानिसमा संक्रमण देखिएको थियो । जनवरी २० मा पहिलो संक्रमित पहिचान भएपछिकै सबैभन्दा उच्च संक्रमित भेटिएको थियो । अढाई घन्टाको यात्राभर हामीले मास्क लगाइरह्यौँ ।

हामीले बालाई एक भाडाको घरमा भेट्यौँ । उनले हामीसँग फर्किन मानेनन् । घर सानो भएकाले सबैलाई सुत्न पुगेन र राति हामीले वासका लागि सानो होटेल जानुप¥यो । प्रशासनले घरभित्रै बस्न निर्देशन दिएको समयमा हामी होटेलमा सुत्न गएका थियौँ । पूर्णतः खाली रहेको होटेलमा बस्दा अनौठो अनुभव भएको थियो । सुत्ने समयमा म र मेरी दिदीहरूबीच बा सियोल नफर्किने जिद्दीबारे कुरा भयो, हामी सबै चिन्तित थियौँ । 

भोलिपल्ट बिहान हामी बासँग खाना खाने ठाउँको खोजीमा निस्कियौँ । ग्वाङ्जुका सडक सुनसान थिए । हामीहरू धेरै टाढासम्म गयौँ, र पनि कुनै खाने ठाउँ भेटेनौँ । हिँड्दै जाँदा सहरको बाहिरी भेगमा रहेको खुला बजार पुग्यौँ । ‘जब म १५ वर्षको थिएँ, तब म तरबुजा बेच्न यहाँसम्म हिँडेर आउने गर्थेँ,’ बाले सम्झँदै भने । मलाई पनि उनको बाल्यकालबारे थोरै थाहा छ । उनको सबैभन्दा युवा अवस्थाको फोटो उनी २० वर्षको थियो । जुन उनी भर्खर सियोल सरेपछिको थियो । फोटोमा उनको अनुहार कठोर देखिन्छ । जीवनले कतिवटा अनुहार फेर्छ ? अहिलेको उनको चाउरी परेको र उदास अनुहारमा विगतको उनको दैनिक १२ माइलभन्दा बढी हिँड्ने कठोर किशोरको अनुहार जति खोज्दा पनि भेटिँदैन । 

‘ती दिन निक्कै गर्मी हुन्थ्यो र यो पैदल यात्रा निक्कै टाढा लाग्थ्यो ।’ यही भूमिमा बाको आत्मसम्मानको जरा र डाँठ पलाएको थियो । बाकी दिदी यही ठाँउमा आरु खेती गर्दै बसिन् । हामी पनि हुर्कंदा आरु खाने गरेको सम्झना छ । प्रकोपअघि फुपूदिदीको खुट्टामा चोट लागेको थियो र हामी त्यहाँ पुग्दा पनि उनको अस्पतालमा उपचार भइरहेको थियो । कोभिड– १९ का कारण अस्पतालमा कुरुवालाई बस्न दिइँदैन थियो । बाले दिदीको अनुहार फेरि देख्न नपाइने हो कि भनेर चिन्ता गर्न थालेका थिए । दिदीको छोराले उनलाई फोन गरेर भने रे, ‘दिदीले सबैले आफूलाई छाड्दै गएको सोच्न थालेकी छिन् ।’

जब मलाई मेरो फुपूको अहिलेको अवस्था ख्याल भयो, तब एउटा असहज भावनाले छोप्यो । आखिर जीवनले हामी सबैलाई एक दिन बिरामी वृद्ध बनाउँछ । हामीले बजारमा एक रेस्टुरेन्ट खुलेको देख्यौँ । बिहानको खानापछि सब–वे जानुअघि हामी अस्पतालछेउमा अघि बढेका थियौँ । अस्पताल प्रवेश गर्ने ठाउँमा सम्पूर्ण शरीर ढाक्ने गरी पिपिई लगाएका स्वास्थ्यकर्मी कोरोना टेस्ट गरिरहेका थिए । बिहान समाचारमा सो क्षेत्रका एकजना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको बताइएको छ । त्यसैले सो व्यक्तिको सम्पर्कमा आएका सबैको परीक्षण गरिँदै थियो । स्क्रिनिङ सेन्टरमा देखिएको दृश्य र त्यसको नजिक पुग्दा हामीमा एउटा डरको भावना उत्पन्न भएको थियो । पितालाई गुमाउनुपर्ला कि भन्ने डरसमेत उत्पन्न भयो । 

सब–वे प्रवेशस्थलमा बाले स्केलेटरमा टेके । उनले त्यसको छेउको समात्ने भागमा कसेर समाइरहेका थिए । भित्र रेलमा पनि सन्तुलनका लागि उनी एउटा डन्डीमा समाइरहेका थिए । एउटा युवाले नसमाई गर्न सक्ने हरेक कामकुरा वृद्धका लागि त्यति सजिलो हुँदैन । जति होसियार हुने प्रयास गरे पनि उनी धेरै मानिसको सम्पर्कमा आउनेछन् । त्यसैले पनि उनमा संक्रमणको जोखिम बढी छ । कोभिड– १९ ले हाम्रा वृद्ध जनसंख्यालाई सबैभन्दा बढी खतरा पुर्‍याइरहेको छ । तपाईंले उच्च रक्तचाप भएकी आफ्नी आमा गुमाउन सक्नुहुन्छ वा मधुमेहसँग संघर्ष गरिरहेकी हजुरआमा । आफ्ना वयोवृद्ध प्रियजनसँगको हाम्रो सम्पर्ककै कारण तपाईंले आफूलाई भाइरसबाट सुरक्षित गर्नुपर्ने हुन सक्छ । 

रोग नियन्त्रणको हाम्रो जिम्मेवारी अन्य व्यक्तिको भोगाइ कल्पना गर्न सक्ने क्षमतासँग जोडिएको छ । हामीले संक्रमणको स्रोत नभइदिन सचेत हुनुपर्छ । अन्यथा तपाईं–हामीसँग जोडिएका व्यक्तिको जीवन नै जोखिममा पर्न सक्छ । बा हामीसँग फर्कन मान्नुभएन, उहाँ जुलाईसम्म ग्वाङ्जुमा बस्नुभयो । पछि स्वास्थ्य कमजोर भएपछि मात्र सियोलमा हामीकहाँ फर्कनुभयो । त्यसयता उनी खोप विकासका समाचार पछ्याइरहन्छन् । सुरुका समाचारबाट उनी उत्साहित थिए । तर, जब शक्तिशाली राष्ट्रले निर्माण चरणमै रहेका खोप किन्न थाले तब उनमा निराशा छाउन थालेको छ– ‘उनीहरूले खोप बनाए भने पनि हामीजस्ता मानिसले खोप पाऔँला त ?’

गरिबी, विभेद, असफलता र निराशामा जीवनको अधिकांश समय गुजारेका मेरा पिताले आफ्नो अनुभवबाट त्यसो भनेका थिए । उनको जीवनकालमा ‘हामीजस्ता मानिस’ले जति प्रयास गर्दा पनि खासै उपलब्धि हासिल भएन । भर्खरै मैले हेरेको एउटा वृत्तचित्रमा इटालीको लोम्बार्डी क्षेत्रका मानिसले जनस्वास्थ्य प्रणालीको सुधारको माग गर्दै प्रदर्शन आयोजना गरेका थिए । परिवारका सदस्य गुमाएका मानिसहरू ‘स्वास्थ्य हाम्रो अधिकार’ लेखिएको ब्यानर बोकिरहेका थिए । तिनको आक्रोश अनुहारमै झल्किन्थ्यो । स्वास्थ्य व्यक्तिगत जिम्मेवारीभन्दा पनि ठूलो हुन्छ । यो सामाजिक कल्याणको विषय हो र यसलाई बलियो राष्ट्रिय स्वास्थ्य प्रणालीले सुनिश्चित गराउनुपर्छ । र हाम्रो समुदायको स्वास्थ्य त्यहाँको प्रत्येक सदस्यको व्यक्तिगत स्वास्थ्यमा निर्भर हुन्छ । आजकल यस विषयमा मानिससँग तर्क–वितर्क गर्न नपरोस्जस्तो लाग्छ ।