मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ पौष २१ मंगलबार १४:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

 कञ्चनपुर गोली प्रकरण : भारतीय वनरक्षकबाट नेपाली युवकमाथि गोली प्रहार, काठ काट्न गएको प्रहरीको दाबी 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ पौष २१ मंगलबार १४:०२:००

भारतीय वनरक्षकबाट कञ्चनपुरका एक नेपाली नागरिकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ ६ः३० बजेतिर दोधारा–चाँदनी नगरालिका– १ चाँदनीका नरेश सुनारमाथि गोली प्रहार भएको हो ।

घरायसी कामका लागि भारतीय बजारबाट घर फर्किने क्रममा भारतीय वनरक्षकबाट नरेशमाथि गोली प्रहार भएको परिवारले बताए पनि प्रहरीले काठ काट्न गएका वेला भारतीय वनरक्षकबाट गोली प्रहार भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले भारतीय जंगलमा काठ काट्न गएको अवस्थामा भारतीय वनरक्षकबाट गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । नरेशसँगै गएका अर्का स्थानीय बब्लु चन्दसँग सोधपुछ गर्दा आरा लगेर काठ काट्न गएको प्रहरीसमक्ष बयान दिएको प्रवक्ता थापाले बताए । 

उनको दुवै खुट्टामा गोलीकाे छर्रा लागेकाे छ । घाइते सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ । महाकाली अस्पतालले नरेशको अवस्था खतरामुक्त रहेको जनाएको छ । डा. दुर्गेश चौधरीले छर्राबाट घाइतेको दायाँ खुट्टाको नसामा चोट लागेको छ । ‘पछि इन्फेक्सन हुन्छ कि ? भन्ने चिन्ता हो,’ उनले भने, ‘अहिलेका लागि स्वास्थ्य ठिकै छ ।’ शल्यक्रिया गर्दा पनि ५ प्रतिशत मात्रै सफलता हुने उनको बताए ।  

घाइते नरेशले भने आफू घरसायी समान किनेर भारतीय जंगल भएर घर फर्किरहेको अवस्थामा जंगलमा भारतीय बर्दिधारीबाट गोली प्रहार गरिएको दाबी गरेका छन् । 

‘म भारतको गडिगोठबाट दालचामल किनेर साइकलमा घर फर्किँदै थिए,’ उनले भने, ‘भारतीय जंगलमा कसैले रूख काटेको रहेछ, म त्यहाँ पुगे, त्यहाँ केही बर्दिधारी प्रहरीजस्ता मान्छे थिए, यो रूख कसले काटेको हो भनेर मलाई सोधे ।  मैले मलाई थाहा छैन, उनीहरूले एक लाठी हानेपछि म भागे, केही पर पुग्द पटका पट्केजस्तो आवाज आयो, एक छर्रा मेरै छुट्टामा लागेर म त्यही ढले, घरमा फोन गरेर घरबाट काका आएर अस्पताल लगे ।’ 

घाइते नरेशका बाबु चन्नरी सुनारले घरसायी कामकाजका लागि भारतमै जानुपर्ने बाध्यताबाट छोरामाथि भारतीय पक्षले गोली प्रहार गरेको बताए । ‘हामी गरीबका लागि रोजगारी र समान किन्न भारतमै जानुपर्छ,’ उनले भने, ‘देशको अवस्थाले सीमावर्ती गरिबले मर्नुपर्ने बाध्यता छ । भाग्यले छोरो बाँच्यो । घुँडाभन्दा माथि लागेको भए के हुन्थ्यो ?’ 

घटनाको सबै क्षेत्रबाट भर्त्सना गरिएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य डा. दीपक प्रकास भट्टले नेपाली नागरिकमाथि गोली प्रहार घटनाको सत्यतथ्य छानबिन गरेर दोषी भारतीय सुरक्षाकर्मीमाथि कारबाहीको माग राखेका छन् ।  

नेकपा दोधारा–चाँदनी इन्चार्ज भरत भट्टले नेपालीमाथिको भारतीय ज्यादतीको उपज भएको बताउँदै घाइतको उपचार र दोषीउपर कारबाहीको माग अघि सारका छन् । स्थानीयले समेत घटनाको भर्त्सना गरेका छन् । सो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइरहेको छ । घाइतेको अवस्था बुझ्न विभिन्न दलका नेता तथा कार्यकर्ता अस्पताल पुगेका छन् ।