Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ पौष २१ मंगलबार ०९:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मिटर नहेरी होटेलमा  बसेर बिजुलीको बिलिङ

Read Time : > 1 मिनेट
२०७७ पौष २१ मंगलबार ०९:०४:००

अनुमानका भरमा तोकिएको रकम तिर्दै सेवाग्राही

धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु आक्कल–झुक्कल आउने मिटररिडरले सलाङघाटको होटेलमा बसेर हचुवामा बिल काट्छन् । 

६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्गको काखैमा रहेको ओर्बाङ गाउँमा बिजुली बत्ती बल्न थालेको धेरै भयो । तर, अहिलेसम्म मिटररिडर गाउँ पुगेका छैनन् । चमेली चेपाङको मात्र होइन, ओर्बाङका सबै उपभोक्ताले बिजुलीको महसुल हचुवाकै भरमा तिर्दै आएका छन् । मिटरै नहेरी होटेलमा बसेर बिलिङ गर्दा त्यसको मार उपभोक्तालाई पर्ने गरेको छ ।

‘महिना–महिनामा घरमा बिल आए पो पैसा तिर्न सजिलो हुन्छ । मिटर राखेदेखि बिल आएको छैन । एकपटक होटेलमा बिल छाडिदिएको रहेछ भनेर छिमेकीले ल्याइदिए,’ चमेलीले नयाँ पत्रिकासँग भनिन्, ‘बत्तीको बिल हेरेपछि छाँगाबाट खसेजस्तै भएँ ।’ मिटररिडरले सेवाग्राहीको मिटरै नहेरी होटेलमा बसेर बिल काट्छन् । तर, सबैको बिलमा १० वा २० युनिट लेखिदिएका छन् ।

बिल र मिटरको अंकमा फरक

बिलमा लेखिएको खपत युनिट र सेवाग्राहीको घरमा राखिएको मिटरमा उठेको युनिट आकाश–पाताल फरक छ । मिटरै नहेरी बिल काट्दा चर्काे विद्युत् महसुल तिर्नुपरेको सुमन चेपाङको अनुभव छ । 

‘बिजुली जोडेदेखि बिल लिएर विद्युत् प्राधिकरणको कर्मचारी एकपटक आएका छैनन्,’ उनले भने, ‘होटेलमा बसेर गाउँले सबैको बिल काट्नेरहेछ । अनि घरमा वास्तविक बिल कसरी आओस् त !’ हचुवाको भरमा विद्युत् महसुल तिर्दा एकै महिनामा तीन हजारभन्दा बढी रकम तिर्नुपरेको सम्झना ताजै छ । त्यसैले कोरोना भाइरसका कारण भएको बन्दाबन्दीपछि गाउँमा प्रायःजसोले पैसा नतिरेको उनले बताए । 

मिटरै नहेरी होटेलमा बसेर अन्दाजका भरमा बिल काट्दा सेवाग्राही मारमा परेका छन् । एकै ठाउँमा बसेर बिल काट्दा साबिक र हालको अंक एउटै, तर खपत युनिट २० सम्म काट्ने गरेका छन् । तर, खपट युनिट भने सबै सेवाग्राहीको १० वा २० युनिट लेखिदिएका छन् । त्यसैले, कतिपय सेवाग्राहीले मिटरमा उठेको धेरै युनिटको पैसा तिर्न बाँकी छ । कतिपय सेवाग्राहीले मिटरमा उठ्दै–नउठेको धेरै युनिटको रकम तिरिसकेका छन् । 

ओर्बाङकै बेलबहादुर मगरको घरमा जोडिएको मिटरमा १५९७ युनिट उठेको छ । तर, १९५३ युनिटको पैसा तिरिसकेको उनले बताए । ‘मिटर हेर्न विद्युत् प्राधिकरणको कर्मचारी आउँदैनन्,’ उनले भने, ‘पैसा बुझाउन जाँदा हामीलाई उल्टै घरको मिटरमा कति उठेको छ । पहिले र अहिलेको युनिट नल्याई पैसा लिन्नौँ भनेर थर्काउँछन् ।’ सलाङघाटका होटेलमा बसेर बिल काट्नेहरू दुई मिनेट हिँडे आफूहरूको घरमै आइपुुग्ने मगरले बताए । गाउँमा बत्ती बलेर झिलिमिली भए पनि प्राधिकरणका कर्मचारीको चरम लापरबाहीले मन उज्यालो हुन नसकेको उनले बताए । 

हाकिम भन्छन्– कर्मचारी नगएको थाहा छैन
सेवाग्राहीले गुनासो गरिरहँदा विद्युत् प्राधिकरण गजुरी शाखाका इन्चार्च मैताङ लिम्बू भने यस विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । उनले भने, ‘यस विषयमा बुझ्नुपर्छ । मलाई सबै कुरा थाहा हुँदैन । गुनासो पनि आइपुगेको छैन ।’ तर, उनले अब पुसदेखि हरेक महिना सेवाग्राहीको घरमै पुगेर मिटर रिडिङ गर्ने व्यवस्था मिलाउने जनाए । 

‘सेवाग्राहीले गुनासो गरे थाहा हुने हो । अहिलेसम्म गुनासो आएको छैन । हामीले कर्मचारी खटाएका छौँ । उनीहरूले कहाँ बसेर बिल काट्छन् भन्नेभन्दा पनि मिटररिडरले ल्याएको डाटाअनुसार सेवाग्राहीले पैसा तिर्नुपर्छ ।’ उनले मिटरमा उठ्दै–नउठेको रकम तिरेको पाइए त्यो पछि तिर्नुपर्ने युनिटमा मिलान गर्न सकिने बताए ।