मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १९ आइतबार ०३:००:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रचण्ड–नेपाललाई ओलीको कटाक्ष : उहाँहरूको आन्दोलन सिसीमा औषधि बेच्नेले रत्नपार्कमा मान्छे जम्मा गरेजस्तै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १९ आइतबार ०३:००:००

दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुरु गरेको आन्दोलनप्रति कठोर कटाक्ष गरेका छन् । आफ्नो समूहको नेकपा काठमाडौंले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को नेकपाले सुरु गरेको आन्दोलन पद प्राप्ति र व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित रहेको आरोप लगाए । 

‘पेरिसडाँडाको पत्रकार सम्मेलनबाट यति गते यहाँ जाने, यो भेला गर्ने, सर्वदलीय भेला, बैठक, प्रदेशस्तरीय भेला भनिँदै छ, अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले रत्नपार्कमा पनि जम्मा गर्छ, उहाँहरूको हालत अब त्योभन्दा बढी हुनेवाला छैन,’ पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैगर्दा ओलीले भने, ‘किनभने उहाँहरूसँग देश, जनता, विकास, लोकतन्त्र, संविधानको रक्षाजस्ता कुनै राजनीतिक एजेन्डा छैन ।’ 

ओलीले आफ्नो नेतृत्वको सरकारले दुनियाँ आश्चर्यचकित हुने गरी काम गरेको पनि दाबी गरे । ‘अहिले भारतका मान्छेलाई नेपालको प्रधानमन्त्री को छ भन्दै सोध्यो भने हरेकलाई कण्ठै छ । अन्तर्राष्ट्रिय मञ्चमा हामी सुनिन थालेका छौँ । हाम्रा दृष्टिकोणको सराहना हुन थालेको छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने आफ्नो कदम संवैधानिक रूपमा सही रहेकोतिर होइन, बरु प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै कार्यक्रममा लगातार थुप्रै कटाक्ष गरे । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको धेरै समय प्रचण्ड र नेपालको आलोचनामै खर्चे । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजन भएको छ । प्रचण्ड–नेपाल समूहले ओलीको कदमलाई गैरसंवैधानिक र अलोकतान्त्रिक भन्दै सडक संघर्षसमेत सुरु गरेको छ । 

सुन्तला खानु छ, सल्लाघारी जाने ?

ओलीले प्रचण्ड, नेपाल, झलनाथ खनाललगायत नेतालाई पद र कुर्ची चाहिए पनि बैठकमा नआएर पार्टी विभाजनतिर लागेको भन्दै कटाक्ष गरे । ‘माथिका नेताहरूको ध्यान जम्माजम्मी कुर्ची र पदमा छ, पद चाहएको थियो भने त यता (बालुवाटार बैठकतिर) आउनुपथ्र्यो, तर कार्की बैंक्वेटतिर भेला हुनुभएछ । सुन्तला खानु छ भने त सुन्तलाघारी जानुपर्छ, सल्लाघारीतिर किन जाने ?’ ओलीले भने, ‘अस्ति हाम्रो पार्टी (बैठक)मा उपस्थित नभएर हराएका मान्छेहरूले एउटा सभा गरेछन् । त्यहाँ एकाथरीले एउटा, अर्कोथरीले अर्को नारा लगाए, त्यहीँ ठाकठुक पर्न थाल्यो । दुईवटा दर्सिनढुंगा ठोक्किएजस्तो झलाकझुलक भयो, अहिले नै यस्तो छ उहाँहरूको, भर्खर सुरु हुँदै छ उहाँहरूको हालत, झुलो–चकमक ठोक्किएजस्तो ।’

भेट्नो कुहिएर झरेको दुइटाले सक्कली दाबी गर्ने ?

ओलीले प्रचण्ड–नेपाल समूहलाई भेट्नो कुहिएर झरेको दुईवटा फलसँग तुलना गर्दै मूल धार दाबी गर्नै नमिल्ने तर्क मात्रै गरेनन्, आफ्नो समूहले सक्कली धारका लागि निर्वाचन आयोगमा कुनै आवेदन नै नगर्नेसमेत प्रस्ट्याए ।

‘निर्वाचन आयोगबाट हिजो मैले एउटा पत्र प्राप्त गरेँ । उहाँहरूले असली हामी हौँ भनेर एउटा निवेदन हाल्नुभएको रहेछ । यो बरमझिया बुढाको पेडा पसल हो सक्कली र नक्कली ? असली बुढो मै हुँ । हामी सक्कली हौँ, सूर्य चिह्न हामीलाई दिनुहोला भनेर निवेदन हाल्नुभएको छ । जसको घर हो, ऊ मेरो घर हो भनेर निवेदन हाल्न जान्छ ? जसको जमिन हो, ऊ मेरो जमिन हो भनेर जान्छ ? जसको गाडी हो, यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ ? त्यसकारण हामी निवेदन हाल्न जानुपर्दैन,’ ओलीले भने, ‘संविधानसम्मत ढंगले, विधानसम्मत ढंगले, कानुनअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । अब भेट्नु कुहिएर झरेका दुईवटा फलहरूले रूखै मै हुँ भनेर दाबी गर्ने ? हामीले उहाँहरूलाई बैठकमा निमन्त्रणा गरिरहेका छौँ, अध्यक्ष र वरिष्ठ नेतामा राखिरहेका छौँ, कुनै हतारो गरिरहेका छैनौँ, अझै सम्झाउन खोजिरहेका छौँ ।’

ओलीले प्रचण्ड–नेपालको पत्र देखेर निर्वाचन आयुक्तहरू हाँसेकोसमेत दाबी गरे । ‘कार्की बैंक्वेटमा गएर केपी ओलीलाई निकालेको घोषणा गरेर निर्वाचन आयोगमा पत्र पठाउनुभएछ,’ ओलीले भने, ‘पत्र हेरेपछि आयोगका आयुक्तज्यूहरू कति दिन हाँस्नुभो मलाई थाहा छैन । जसको कटेरो उसको पुच्छर बाहिर भनेजस्तो ।’ 

खिया लागेको नटबोल्ट फुस्किएपछि पार्टी अघि बढ्यो 

उनले पार्टी विभाजनलाई गाडीमा खिया लागेको नटबोल्ट मात्र खुस्किएकाले अब गतिका साथ अघि बढ्ने पनि बताए । ‘तीन वर्षसम्म एकता पूरा हुन दिइएन, एउटा बैठक तीनवटा गुट, दुईवटा गुटको एउटा समीकरण, सधैँको झमेला, पार्टी पार्टी नै रहेन, त्यो स्थितिमा उहाँहरूले पुर्‍याउनुभो । तेज तरार कार्यकर्तालाई अलमलमा राखेर शिथिलतामा पुर्‍याइयो,’ ओलीले भने, ‘अहिले समस्या कहाँनेर रहेछ, जाम कहाँ भएको रहेछ, खिया कहाँ लागेको रहेछ । दुईवटा नटबल्ट फेर्दाखेरि गाडी बढ्यो, खिया लागेको दुईवटा नटबोल्ट के फुक्लिएको थियो पार्टी गतिका साथ अगाडि गयो ।’

अदालत र निर्वाचन आयोगले सक्कली चार्ली च्याप्लिन चिन्छ 

ओलीले चार्ली च्याप्लिनको प्रसंग सुनाउँदै निर्वाचन आयोग र सर्वोच्च अदालतले सक्कली नेकपा पहिचान गर्ने गरी निर्णय दिने दाबी पनि गरे । ‘एकपटक चार्ली च्याप्लिनको क्यारिकेचर गर्ने प्रतिस्पर्धा भएछ । केही प्रतिस्पर्धीमध्ये चारजना फाइनल राउन्डमा गए । तर, भाग लिएको चार्ली च्याप्लिन नै फाइनलमा परेनछ । ऊचाहिँ होइन, अर्कोचाहिँ ठहरियो । हाम्रो अदालत यसैगरी चार्ली च्याप्लिन कुन हो भनेर छुट्याउनै नसक्ने अवस्थामा छैन,’ ओलीले भने, ‘जुँगा हेरेर चिन्छ, जेल लगाएको कपाल, अनुहार हेरेर चिन्छ । कुम हल्लाएकोबाट चिन्छ, अनेक हिसाबले चिन्छ । चार्ली च्याप्लिन चिन्ने कुरामा हाम्रो निर्वाचन आयोग, न्याय निरुपण गर्ने अदालतले गल्ती गर्दैन । इतिहास सबैलाई थाहा छ, सूर्य चिह्न हाम्रो हुन्छ, पार्टी हाम्रो हुन्छ ।’ 

दुई अंकको सिट जितेर देखाउन चुनौती 

ओलीले प्रचण्ड–नेपाल पक्षले एक सय ६५ सिट जित्ने गफ दिँदै हिँडेको भन्दै अबको चुनावमा दुई अंक (दशभन्दा माथि) सिट संख्या जितेर देखाउन चुनौती पनि दिए । ‘उहाँहरू एकदमै ठूला कुरा गरेर हिँडिरहनुभएको छ, प्रत्यक्षमा एक सय ६५ सिट आउँछ । अहिले धेरै नभनुँ, धेरै भन्दा हच्किने, तर्सिने खतरा हुन्छ । थोरै भन्दै छु, कमसेकम दुईवटा अंक भएको सिटसम्म जितेर देखाउनुस् । तर, त्यो स्थितिमा उहाँहरू पुग्नुहुन्न, छनक पाइसक्नुभो, उहाँहरूले,’ ओलीले भने, ‘उहाँहरूलाई ठाउँ राखेको छ, केन्द्रीय कमिटीमा तर फेरि फर्किएर उपद्रो मच्चाउन पाइँदैन, अब फर्किंदा थान्कोमा राखिनेछ । व्यक्ति फर्किए पनि प्रवृत्ति फर्किन दिइनेछैन, गुटबन्दी फर्किन दिनेछैन ।’

गोरु नांगै देख्दा मलाई लाज लाग्दैन 

ओलीले राष्ट्रपतिमाथि गालीगलौज र नारा लगाइएकामा असन्तुष्टि पोखे । ‘यो मान्छेले नेतृत्व गरिरहन पायो भने त देश सर्लक्कै परिवर्तन भएर अरूले त केही कुरै गर्न नपाउने हो कि भन्ने परेर केही मान्छेको मन भतभती पोल्यो । केही मान्छे छटपटिए, छिर्के लगाउन खोजे, लाग्दैन, अल्झाउन खोजे, अल्झिँदैन । रोक्न खोज्दा रोकिँदैन । अनि अस्तव्यस्तता सिर्जना गर्ने, गालमुखाल गरेर मुख छोडेर हिँड्ने,’ ओलीले भने, ‘उनीहरूको जुलुसका नारा सुन्नुभयो होला, कठै ! मैले धेरै वर्षअघि भनेको थिएँ, गोरु नांगै देख्दा मलाई लाज लाग्दैन । उहाँहरूले आफैँले सामाजिक मर्यादा, सामाजिक प्राणी हुनुको नाताले मानवीय सभ्यता र मर्यादामा ख्याल गरे हुन्थ्यो । उहाँहरूका कृत्यहरूले देख्नेहरूलाई धेरै लाज भइसक्यो ।’