मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ पौष १८ शनिबार १६:४२:००
Read Time : > 1 मिनेट
खेलकुद

४१ वर्षीय गेल भन्छन्– खेलमा उमेरको कुनै आधार हुँदैन

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ पौष १८ शनिबार १६:४२:००

४० वर्ष कटेका थोरै खेलाडी मात्र व्यावसायिक खेल जीवनमा सक्रिय छन् । यो सूचीमा वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल पनि पर्छन् । गेल अहिले ४१ वर्षका भए । गेलका समकक्षी सबैजसो क्रिकेटरले सन्न्यास लिइसकेका छन् । तर, गेल भने क्रिजमा सक्रिय नै छन् । उनको ब्याटिङ, बलिङ, फिल्डिङ र फिटनेसमा कुनै कमी आएको छैन । गेल युवा अवस्थाकै जोसमा खेलिरहेका छन् ।

धेरैजसोले नयाँ वर्ष २०२१ को सुरुवातमै गेलले सन्न्यास लिन सक्ने अनुमान लगाएका थिए । तर, गेलले नयाँ वर्षको शुभकामना दिँदै आफू अझै एक वा दुई वर्षसम्म क्रिकेटमै रमाउने इच्छा रहेको बताए । गेलले भारतमा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप तथा अर्को वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा वेस्टइन्डिजको टोलीबाट सहभागिता जनाउने बताएका छन् । 
भारतीय मिडिया एएनआईसँगको कुराकानीमा गेलले भनेका छन्, ‘जिउले साथ दिए म अझै पाँच वर्ष सक्रिय रहनेछु ।’ उनी भन्छन्, ‘सुरुमा दुईवटा विश्वकप खेल्नुछ ।’ पछिल्लो समय गेल अल्टिमेट क्रिकेट च्यालेन्ज (युकेसी) सिरिजको तयारीमा छन् । यस सिरिजमा युवराज सिंह, इयोन मोर्गान, एन्ड्रे रसेल, केभिन पिटरसन तथा रसिद खान पनि सम्मिलित छन् । 
क्रिकेटकै नयाँ फर्म्याटअनुसार खेल हुनेछ । यसलाई वान अन वान फर्म्याट भनिएको छ । जसमा १६ खेल हुनेछन् । प्रत्येक चार इनिङमा १५ बल हुनेछ । जित निकाल्ने टोलीले दुई अंक प्राप्त गर्नेछ । १६ खेलको समाप्तिसम्म सर्वाधिक रन बटुल्ने टोली विजयी हुनेछ । गेलले नयाँ जिम्मेवारीका रूपमा युकेसीमा आबद्ध हुँदा फरक महसुस गरेको बताएका छन् । ‘मेरो विचारमा यो नयाँ फर्म्याट हो, क्रिकेटमा एक किसिमको रोमाञ्चकता यसले ल्याउने विश्वास गरेको छु,’ गेलले भने, ‘सबैले यसलाई उत्सुकतापूर्वक हेर्ने र मन पराउनेछन् ।’ 

इन्डोर क्रिकेटमा पहिलोपटक हुन लागेको युकेसी सिरिज एक किसिमको गुफाभित्रको खेल भएको उनी मान्छन् । भन्छन्, ‘तपाईं युकेसीमा खेलिरहँदा एउटा गुफाभित्र प्रतिस्पर्धा गरिरहेकोजस्तो अनुभव गर्नुहुनेछ, यहाँ ठूला नाम गरेका खेलाडी आउनेछन् ।’

गेलले १३औँ इन्डियन प्रिमियर लिगमा किंग्स ११ पन्जाबबाट आबद्ध रही उत्कृष्ट ब्याटिङ गरेका थिए । पहिलो चरणमा गेलले स्थान नै बनाउन पाएनन् । दोस्रो चरणमा पन्जाबले उनलाई मौका दियो । गेलले प्राप्त गरेको मौकामा सबैलाई मन्त्रमुग्ध बनाउँदै ब्याटिङ गरे । उनले सात इनिङ्समा १३७.१४ को स्ट्राइकमा दुई सय ८८ रन जोडेका थिए । यसक्रममा उनले तीन अर्धशतकीय इनिङ्स खेलेका थिए । जसमा उनी ९९ रनमा आउट भएका थिए । ‘जबसम्म फिट रहन्छु, त्यसवेलासम्म खेल्ने हो, खेलमा उमेरको कुनै आधार हुँदैन ।’ 

गेलले सन् १९९९ मा भारतविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए । यसैगरी, टेस्टमा उनले सन् २०१४ मा बंगलादेशविरुद्ध डेब्यू अवसर पाए । टी–२० खेलमा भने उनले सन् २००६ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए । एकदिवसीयमा २५ शतक तथा ५४ अर्धशतकको सहयोगमा १० हजार चार सय ८० रन बनाएका छन् । 

यसैगरी, टेस्टमा १५ शतक तथा ३७ अर्धशतकको मद्दतमा सात हजार दुई सय १४ रन बटुलेका छन् । वेस्टइन्डिजको टोलीबाट उनले टी–२० खेलमा दुई शतक प्रहार गरी एक हजार ६ सय २७ रन बनाएका छन् ।